Online Bible

- Reklamy -

यर्मिया 12 - नेपाली नयाँ संशोधित संस्करण


यर्मियाको उजूर

1 हे परमप्रभु, तपाईं सधैँ धर्मी हुनुहुन्‍छ, जब म तपाईंको अगि मुद्दा पेश गर्छु। तापनि तपाईंका न्‍यायको विषयमा म तपाईंसित कुरा गर्न चाहन्‍छु। दुष्‍टहरूको चाल किन सफल हुन्‍छ? अविश्‍वासीहरू किन आरामसित बस्‍छन्‌?

2 तपाईंले तिनीहरूलाई रोप्‍नुभएको छ, र तिनीहरूले जरा हालेका छन्‌। तिनीहरू बढ्‌छन्, र फल फलाउँछन्‌। तिनीहरूका मुखमा तपाईंको नाउँ त छ, तर तिनीहरूका हृदयबाट चाहिँ तपाईं टाढ़ा हुनुहुन्‍छ।

3 तापनि हे परमप्रभु, तपाईं मलाई जान्‍नुहुन्‍छ, तपाईं मलाई देख्‍नुहुन्‍छ, र तपाईंसम्‍बन्‍धी मेरा विचारहरूलाई जाँच्‍नुहुन्‍छ। मार्नलाई लैजाने भेड़ाहरूलाई झैँ तिनीहरूलाई तान्‍दै लानुहोस्, र मारिने दिनको लागि ती अलग राख्‍नुहोस्‌!

4 देशमा कहिलेसम्‍म खड़ेरी परिरहने? र मैदानका घाँस कहिलेसम्‍म ओइलाइरहने? त्‍यहाँ बस्‍नेहरू दुष्‍ट भएका हुनाले, त्‍यहाँका पशुपक्षीहरू सबै नष्‍ट भएका छन्‌। त्‍यसबाहेक “हामीमाथि के हुँदैछ उहाँले देख्‍नुहुन्‍न” भनी मानिसहरू भनिरहेछन्‌।


परमेश्‍वरको जवाफ

5 “यदि तँ मानिसहरूसित दगुरिस्‌ र तिनीहरूले तँलाई थकाए भने, घोड़ाहरूसित तँ कसरी दगुर्न सक्‍छस्‌ र? यदि सुरक्षित स्‍थानमा नै तँ लोटिस्‌ भने, यर्दननेरका झाड़ीहरूमा तँ के गर्छस्‌?

6 तेरा दाजुभाइहरू, तेरा आफ्‍नै परिवारले नै तँसित विश्‍वासघात गरेका छन्‌। तिनीहरू तेरो विरुद्धमा जोडसित कराउँदैआएका छन्‌। तिनीहरूले तँसित मीठा कुरा गरे तापनि तैंले तिनीहरूमाथि भरोसा नगर्‌।

7 “म मेरो घर छोड़िदिनेछु, मेरो उत्तराधिकार म फ्‍याँकिदिनेछु। मैले मन पराएकालाई म त्‍यसका शत्रुहरूका हातमा दिनेछु।

8 मेरो उत्तराधिकार मेरो लेखि वनको सिंहजस्‍तै भएको छ। त्‍यो मतिरै फर्केर गर्जन्‍छ। यसैकारण म त्‍यसलाई घृणा गर्दछु।

9 के मेरो उत्तराधिकार मेरो निम्‍ति एउटा छिरबिरे शिकारी पक्षी जस्‍तै भएको छैन, जसलाई अरू शिकारी पक्षीहरूले घेरेर आक्रमण गरून्‌? जा, गएर सबै वन-पशुहरूलाई जम्‍मा गर्‌। त्‍यसलाई खान तिनीहरूलाई ले।

10 धेरै गोठालाहरूले मेरो दाखबारीलाई नष्‍ट पार्नेछन्‌। तिनीहरूले मेरो बारीलाई कुल्‍चीमिल्‍ची गर्नेछन्‌। तिनीहरूले मेरो सुन्‍दर बारीलाई उजाड़-भूमिझैँ उजाड़ बनाइदिनेछन्‌।

11 त्‍यो उजाड़ तुल्‍याइनेछ, मेरो सामुन्‍ने सुक्‍खा र निर्जन पारिनेछ। सारा देश उजाड़ पारिनेछ, किनकि कसैले त्‍यसको वास्‍ता गर्दैन।

12 मरुभूमिका सबै रूखा डाँड़ाहरूमा नाश गर्नेहरूको धुइरो लाग्‍नेछ, किनकि परमप्रभुको तरवारले देशको एक छेउदेखि अर्को छेउसम्‍म नाश गर्नेछ। कोही पनि सुरक्षित रहनेछैन।

13 तिनीहरूले गहूँ छर्नेछन्, तर काँढ़ा पो कटनी गर्नेछन्‌। तिनीहरूले कष्‍ट गरेर काम गर्नेछन्, तर केही लाभ हुनेछैन। यसैले आफ्‍ना कटनीको लाज तिमीहरू सह, कारण परमप्रभुको भयानक रीस तिमीहरूमाथि परेको छ।”

14 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “मेरा सबै दुष्‍ट छिमेकीहरू, जसले मैले मेरा प्रजा इस्राएललाई दिएको पैतृक-सम्‍पत्ति जफत गरेका छन्, ‘म उनीहरूलाई उनीहरूका देशहरूबाट उखेल्‍नेछु, र यहूदाको घरानालाई उनीहरूका बीचबाट उखेल्‍नेछु।

15 तर उनीहरूलाई उखेलेपछि म फेरि उनीहरूलाई टिठ्याउनेछु, र उनीहरू हरेकलाई आ-आफ्‍नै पैतृकसम्‍पत्ति र आ-आफ्‍नै देशमा फेरि ल्‍याउनेछु।

16 अनि उनीहरूले पहिले मेरो प्रजालाई बाल देवताको नाउँमा शपथ हाल्‍न सिकाएझैँ, यदि उनीहरूले ‘जीवित परमप्रभुको नाउँमा’ भन्‍दै मेरो नाउँमा शपथ खाएर मेरो प्रजाको चाल राम्ररी सिके भने, उनीहरू मेरा प्रजाको बीचमा स्‍थापित हुनेछन्‌।

17 तर यदि कुनै पनि जातिले सुनेन भनेता म त्‍यसलाई बिलकुलै उखेलेर नाश गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy