यर्मिया 1 - नेपाली नयाँ संशोधित संस्करण1 बेन्यामीनको इलाकाको अनातोतमा बस्ने पूजाहारीहरूमध्ये एक जना, हिल्कियाहका छोरा यर्मियाका वचन यी हुन्। 2 यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो, 3 अनि परमप्रभुको वचन यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालभरि र यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको एघारौँ वर्षको पाँचौँ महिनासम्म, यरूशलेमका मानिसहरू कैदमा नलगुञ्जेलसम्मै आइरह्यो। यर्मियाको बोलावट 4 परमप्रभुको यो वचन मकहाँ आयो, 5 “मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।” 6 मैले भनें, “हे परमप्रभु परमेश्वर, म त बोल्नै जान्दिनँ, म त बालकै छु।” 7 तर परमप्रभुले मलाई भन्नुभयो, “‘म त बालकै छु,’ भनी नभन्। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्नैपर्छ। 8 तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्नुहुन्छ। 9 तब आफ्नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु। 10 हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न म आज तँलाई जाति-जातिहरू र राज्य-राज्यहरूमाथि नियुक्त गर्दछु।” 11 परमप्रभुको यो वचन मकहाँ आयो: “यर्मिया, तँ के देख्छस्?” मैले भनें, “म हाड़े-बदामका रूखको एउटा हाँगा देख्दैछु।” 12 तब परमप्रभुले मलाई भन्नुभयो, “तैंले ठीकै देखिस्, किनकि मेरो वचन पूरा भएको होस् भनेर म नियालेर हेरिरहेको छु।” 13 परमप्रभुको यो वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?” मैले भनें, “एउटा उम्लँदैगरेको भाँड़ो उत्तर दिशाबाट घोप्टिरहेको म देख्दैछु।” 14 तब परमप्रभुले मलाई भन्नुभयो, “उत्तरदेखि नै यस देशका सबै मानिसहरूमाथि सर्वनाश खन्याइनेछ। 15 म उत्तरका राज्यहरूका सबै मानिसहरूलाई बोलाउनै लागेको छु,” परमप्रभु भन्नुहुन्छ। “उनीहरूका राजाहरू आएर हरेकले आ-आफ्नो सिंहासन यरूशलेमका मूल ढोकाहरूको पस्ने ठाउँमा स्थापना गर्नेछ। उनीहरू त्यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरहरूका विरुद्धमा आउनेछन्। 16 मलाई त्यागेर तिनीहरूले गरेका सबै दुष्टताको कारणले गर्दा तिनीहरूका विरुद्धमा म मेरो न्यायको फैसला सुनाउनेछु। तिनीहरूले पराई देवताहरूका निम्ति धूप बाले, र आफ्नै हातले बनाएका कुराहरूलाई दण्डवत् गरे। 17 “तँचाहिँ तयार हो! उठ्, र जे-जे कुराको म तँलाई आज्ञा दिन्छु ती तिनीहरूलाई भन्। तिनीहरूदेखि तँ नडरा, नत्रता म तँलाई नै तिनीहरूका सामुन्ने भयभीत पार्नेछु। 18 आज यो सारा देश, यहूदाका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र देशका मानिसहरूका विरुद्धमा उभिनलाई मैले तँलाई एक किल्ला भएको सहर, फलामको खामो र काँसाको पर्खाल बनाएको छु। 19 तिनीहरूले तेरो विरुद्ध युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्नुहुन्छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society