Online Bible

- Reklamy -

न्यायकर्ता 9 - नेपाली नयाँ संशोधित संस्करण


अबीमेलेकको शासन र पतन

1 यरूब-बालका छोरा अबीमेलेक शकेममा आफ्‍नी आमाका दाजुभाइहरूकहाँ गए, र आफ्‍नो मावली घरानाका सबैलाई तिनले भने,

2 “कृपा गरी शकेमका सबै नगरवासीहरूका कानमा एउटा कुरा सोध्‍नुहोस्‌: ‘यरूब-बालका सत्तरी छोराहरूले तिनीहरूमाथि शासन गर्नु असल कि एकै जनाले मात्र?’ म तपाईंहरूकै हाड़ र मासु हुँ भन्‍ने कुरो सम्‍झना राख्‍नुहोस्‌।”

3 जब तिनका मामाहरूले तिनको पक्षमा शकेमवासीहरूलाई यी सबै कुरा बताए, तब तिनीहरू अबीमेलेकपट्टि लाग्‍नलाई सुरिए, किनभने “तिनी हाम्रा आफ्‍नै भाइ हुन्‌”? भनी तिनीहरूले भने।

4 तिनीहरूले तिनलाई बाल-बरीतको मन्‍दिरबाट चाँदीका सत्तरी सिक्‍का दिए, र ती लिएर तिनले हुर्दुङ्गे तर साहसी मानिसहरूलाई भाड़ामा लिए, र तिनीहरू तिनको पछि लागे।

5 त्‍यसपछि तिनी आफ्‍नो बुबाको घर ओप्रामा गए, र लुकेर बस्‍ने कान्‍छा छोरा योतामबाहेक यरूब-बालका छोराहरू, तिनका आफ्‍ना सत्तरी जना दाजुभाइहरूलाई एउटै ढुङ्गामाथि काटेर मारे।

6 तब शकेमका सबै नगरवासीहरू र बेथ-मिल्‍लोका सबै जना भेला भएर शकेममा भएको ठूलो रूखका छेउको खम्‍बामा अबीमेलेकलाई राजा बनाए।

7 जब यो कुरो योतामलाई सुनाइयो तब तिनी गएर गीरीज्‍जीम डाँड़ाको टाकुरामा खड़ा भए, र यसो भनेर उच्‍च सोरले कराए, “हे शकेमका नगरवासी हो, मेरो कुरा सुन, कि परमेश्‍वरले तिमीहरूको कुरा सुनून्‌।”

8 एक पल्‍ट रूखहरू आफूमाथि एउटा राजा अभिषेक गर्नलाई भेला भए, र तिनीहरूले भद्राक्षको रूखलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’

9 “तर भद्राक्षको रूखले जवाफ दियो, ‘देवताहरू र मानिसहरूलाई मान दिने आफ्‍नो बहुमूल्‍य तेललाई त्‍यागेर रूखहरूमाथि मैले शासन गर्ने?’

10 “तब रूखहरूले नेभाराको रूखलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’

11 “तर नेभाराको रूखले भन्‍यो, ‘आफ्‍नो असल र मीठो फललाई त्‍यागेर रूखहरूमाथि मैले शासन गर्ने?’

12 “तब रूखहरूले अंगूरको बोटलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’

13 “अंगूरको बोटले जवाफ दियो, ‘देवता र मानिसलाई खुशी तुल्‍याउने मेरो दाखमद्यलाई त्‍यागेर रूखहरूमाथि मैले शासन गर्ने?’

14 “अन्‍त्‍यमा सबै रूखहरूले काँढ़ाको पोथ्रालाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’

15 “काँढ़ाको पोथ्राले रूखहरूलाई भन्‍यो, ‘यदि तिमीहरू साँच्‍ची नै मलाई तिमीहरूका राजा अभिषेक गर्न चाहन्‍छौ भने मेरो छत्रछायामा आओ। होइन भने, काँढ़ाहरूबाट आगो निस्‍केर लेबनानका देवदारुहरूलाई स्‍वाहा पारोस्‌।’

16 त्‍यसपछि योतामले भने, “यसकारण अब हेर, यदि अबीमेलेकलाई राजा तुल्‍याएर तिमीहरूले सत्‍य र ईमानदार काम गरेका छौ भने, र तिमीहरूले यरूब-बाल र तिनका घरानासँग उचित काम गरेका छौ र तिनीप्रति हुनुपर्ने व्‍यवहार गरेका छौ भनेदेखि—

17 मेरा पिताले तिमीहरूको निम्‍ति लड़ाइँ गरे र आफ्‍नो प्राण खतरामा हालेर तिमीहरूलाई मिद्यानीहरूका हातबाट बचाए,

18 तर आज तिमीहरू मेरा पिताका घरानाको विरुद्धमा खड़ा भएका छौ, र तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर मारेका छौ, र तिनकी कमारीको छोरो अबीमेलेकलाई तिमीहरूको आफ्‍नो भाइको नाताले शकेमका नगरवासीहरूको राजा तुल्‍याएका छौ—

19 यदि तिमीहरूले आज यरूब-बाल र तिनका घरानासँग सत्‍य र ईमानदार व्‍यवहार गरेका छौ भने, तिमीहरू अबीमेलेकसँग खुशी होओ र त्‍यो तिमीहरूसँग खुशी होस्‌!

20 यदि होइन भने, अबीमेलेकबाट अग्‍नि निस्‍कोस्‌ र शकेमका नगरवासीहरू र सबै बेथ-मिल्‍लोलाई भस्‍म पारोस्‌। शकेमका नगरवासीहरू र बेथ-मिल्‍लोका सबैबाट पनि अग्‍नि निस्‍केर अबीमेलेकलाई भस्‍म पारोस्‌!”

21 त्‍यसपछि योताम सुटुक्‍क भागे। तिनी बेअर भन्‍ने ठाउँमा पुगे, र त्‍यहीँ नै बसोबास गर्न लागे, किनकि तिनी आफ्‍ना दाजु अबीमेलेकसँग डराउँथे।

22 अबीमेलेक इस्राएलमाथि तीन वर्षसम्‍म शासक भएपछि

23 परमेश्‍वरले अबीमेलेक र शकेमका नगरवासीहरूका बीचमा फाटो पार्नलाई एउटा दुष्‍टात्‍मा पठाउनुभयो, र शकेमका नगरवासीहरूले तिनलाई धोका दिए।

24 यरूब-बालका सत्तरी जना छोराहरूलाई अत्‍याचारसित मारेको अपराधको बदला तिनीहरूको हत्‍या गर्ने आफ्‍ना भाइ अबीमेलेकसित र तिनलाई सुर्‍याउने शकेमका नगरवासीहरूसित लिइओस्‌ भन्‍ने अभिप्रायले यो परमेश्‍वरले गर्नुभएको थियो।

25 तिनको विरुद्धमा शकेमवासीहरूले डाँड़ाका टुप्‍पातिर बाटो हिँड्‌ने प्रत्‍येकलाई ढुक्‍न र डाँका मार्न मानिसहरूलाई राखे, र यो खबर अबीमेलेककहाँ पुर्‍याइयो।

26 अब एबेदका छोरा गाल आफ्‍ना भाइबन्‍धुहरूसँग शकेममा आए, र शकेमका नगरवासीहरूले आफ्‍नो राजभक्ति अब उनीतिर लगाए।

27 तिनीहरू आफ्‍ना दाखबारीहरूमा गए, पाकेका अंगूरहरू टिपे, र कोलमा पेले। त्‍यसपछि तिनीहरू आफ्‍नो देवताको मन्‍दिरमा चाड़ मनाउन गए। त्‍यहाँ तिनीहरूले खानपान गरेर अबीमेलेकलाई सरापे।

28 तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? र शकेम को हो, र हामी त्‍यसको प्रजा हुने? के त्‍यो यरूब-बालको छोरो होइन? र त्‍यसको सहायकचाहिँ जबूल होइन? शकेमका पिता हमोरका मानिसहरूको सेवा हामीले किन गर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने?

29 यदि यी मानिसहरू मेरो अधीनमा मात्र भएका भएता अबीमेलेकलाई मैले पन्‍साउनेथिएँ। म त्‍यसलाई भन्‍नेथिएँ, ‘तेरा सबै सेनालाई बोला, र लड़ाइँ गर्‌’।”

30 जब सहरका राज्‍यपाल जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने तब तिनी साह्रै रिसाए।

31 तिनले गुप्‍तमा अबीमेलेककहाँ यसो भनेर दूतहरू पठाए, “एबेदको छोरो गाल र त्‍यसका भाइबन्‍धुहरू शकेममा आएर सहरका मानिसहरूलाई तपाईंको विरुद्धमा सुर्‍याउँदैछन्‌।

32 यसकारण राती नै उठेर तपाईं र तपाईंसँग भएका मानिसहरू सहरबाहिर ढुकिबस्‍नुहोस्‌।

33 त्‍यसपछि बिहान घाम झुल्‍कने बित्तिकै सहरलाई आक्रमण गर्नुहोस्, र जब त्‍यो र त्‍यसका मानिसहरू बाहिर आउँछन्‌ तब के गर्नुपर्छ सो गर्नुहोस्‌।”

34 यसैले अबीमेलेक र तिनका मानिसहरू राती नै उठे, र चार दल भएर शकेममा आक्रमण गर्नलाई ढुकिबसे।

35 अब एबेदका छोरा गाल बाहिर गएर सहरको मूल ढोकाको पस्‍ने ठाउँमा उभिरहेका थिए, जत्ति खेर अबीमेलेक र तिनका मानिसहरू आफूहरू लुकेको ठाउँबाट बाहिर आए।

36 गालले तिनीहरूलाई देखे, र जबूललाई भने, “मानिसहरू डाँड़ाका टाकुराहरूबाट तल झर्दैछन्‌।” जबूलले जवाफ दिए, “तिमीले देखेका त डाँड़ाहरूका छाया हुन्, जो मानिसहरूजस्‍तै देखिँदैछन्‌।”

37 तर फेरि गालले भने, “डाँड़ाहरूका बीचको जग्‍गाबाट मानिसहरू तल झरिरहेका छन्, र एक दलचाहिँ जोखना हेर्नेको रूखबाट भएर आइरहेको छ।”

38 तब जबूलले उनलाई भने, “अब खोइ तिम्रा साहसी कुराहरू? तिमी भन्‍थ्‍यौ, ‘अबीमेलेक को हो र हामी त्‍यसको प्रजा हुने?’ के यी तिनै मानिसहरू होइनन्, जुनलाई तिमी तुच्‍छ ठान्‍थ्‍यौ? जाऊ, गएर तिनीसँग लड़ाइँ गर।”

39 यसकारण गालले शकेमका नगरवासीहरूलाई लिएर अबीमेलेकमाथि आक्रमण गर्‍यो,

40 तर अबीमेलेकले उनलाई परास्‍त गरे, र उनी भागे। मूल ढोकाको पस्‍ने ठाउँसम्‍मै बाटैभरि लाशहरू छरिएका थिए।

41 अबीमेलेक गएर अरूमाह भन्‍ने ठाउँमा आफैलाई बसाले, र जबूलले गाल र त्‍यसका भाइबन्‍धुहरूलाई शकेमबाट धपाए।

42 भोलिपल्‍ट शकेमका मानिसहरू बाहिर खुला ठाउँमा गए, र यो कुरो अबीमेलेकलाई सुनाइयो।

43 यसैले तिनले चाहिँ आफ्‍ना मानिसहरूलाई ल्‍याएर तिनीहरूका तीन दल बनाए, र सहरबाहिर खुला ठाउँमा ढुकिबसे। जब तिनले मानिसहरूलाई सहरबाट निस्‍कँदैआएका देखे, तब उठेर तिनले तिनीहरूमाथि आक्रमण गरे।

44 अबीमेलेक र तिनीसँग भएको दल चाँड़ो गरी अगाड़ि बढ़े र सहरको मूल ढोकाको पस्‍ने ठाउँमा लड्‌नलाई तयारी भए। तब अरू दुई दलचाहिँ आएर खुला ठाउँमा भएकाहरूमाथि जाइलागे, र तिनीहरूलाई मारे।

45 अबीमेलेकले दिनभरि त्‍यस सहरमाथि आक्रमण गरे, र त्‍यसलाई कब्‍जा गरे। तिनले त्‍यहाँका मानिसहरूलाई मारे, सहर जलाइदिए, र त्‍यस ठाउँमा नून छरिदिए।

46 जब शकेमको किल्‍लामा बस्‍नेहरूले यो कुरा सुने, तब तिनीहरू एलबरीतका मन्‍दिरको तहखानामा गए।

47 तिनीहरू त्‍यहाँ एकसाथ भेला भएका छन्‌ भन्‍ने कुरा अबीमेलेकलाई सुनाइयो।

48 यसैले तिनी र तिनीसित भएका मानिसहरू सल्‍मोन डाँड़ामा उक्‍ले। तिनले बन्‍चरो लिएर हाँगा काटे, र आफ्‍नो काँधमाथि ती हाले। तिनले आफ्‍ना मानिसहरूलाई भने, “म के गरिरहेछु हेर, र चाँड़ो गरेर तिमीहरू पनि त्‍यसै गर।”

49 यसकारण हरेक मानिसले हाँगा काट्यो। तब तिनीहरूले अबीमेलेकलाई पछ्याए, र हाँगाहरू तहखानाको चारैतिर थुपारेर तिनलाई आगो लगाइदिए। अनि शकेमको किल्‍लाका सबै मानिसहरू मरे, जो प्राय: एक हजार पुरुष र स्‍त्रीहरू थिए।

50 त्‍यसपछि अबीमेलेक तेबेसमा गए, र त्‍यसलाई घेरेर कब्‍जा गरे।

51 त्‍यस सहरको बीचमा एउटा बलियो किल्‍ला थियो, र सबै नगरवासीहरू, पुरुष र स्‍त्रीहरू, त्‍यहाँ शरण लिएर बसेका थिए। तिनीहरू किल्‍ला बन्‍द गरेर त्‍यसको छतमा गएका थिए।

52 अबीमेलेक किल्‍लामा गएर त्‍यसलाई आक्रमण गरे। जब त्‍यस किल्‍लामा आगो लगाइदिन भनी त्‍यसको ढोकामा तिनी आइपुगेका थिए,

53 तब एउटी स्‍त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्‍पर फोरिदिई।

54 अबीमेलेकले तुरुन्‍तै आफ्‍नो हतियार बोक्‍ने जवानलाई बोलाएर भने, “झट्टै आफ्‍नो तरवार थुतेर मलाई खतम गर्, नत्रता एउटी स्‍त्रीले तिनलाई मारी भनेर मानिसहरूले भन्‍लान्‌।” यसैले त्‍यस जवानले तरवारले तिनलाई रोपिदियो, र तिनी मरे।

55 जब इस्राएलीहरूले अबीमेलेक मरेका देखे, तब तिनीहरू सबै आ-आफ्‍नो घरमा फर्के।

56 यसरी नै अबीमेलेकले आफ्‍ना सत्तरी जना दाजुभाइहरूलाई मारेर आफ्‍ना पिताको विरुद्धमा गरेको अपराधको बदला परमेश्‍वरले तिनीसँग लिनुभयो,

57 र शकेमका मानिसहरूले गरेका सबै दुष्‍टता तिनीहरूकै शिरमाथि खन्‍याइदिनुभयो। यरूब-बालका छोरा योतामको सराप तिनीहरूमाथि साँच्‍ची नै पर्‍यो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy