न्यायकर्ता 7 - नेपाली नयाँ संशोधित संस्करणगिदोनका मानिसहरूले मिद्यानीहरूलाई जितेका 1 यरूब-बाल, जो गिदोन हुन्, र तिनीसँग भएका सबै मानिसहरू बिहान सबेरै उठे, र हरोदको मूलमा छाउनी हाले। मिद्यानीहरूले चाहिँ मोरेका डाँड़ाको उत्तरपट्टिको बेँसीमा छाउनी हाले। 2 परमप्रभुले गिदोनलाई भन्नुभयो, “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्ड गर्नेछन्, र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्। 3 अब सबै मानिसहरूले सुन्ने गरी एउटा उर्दी घोषणा गर्, कि यहाँ कोही डरले काँप्नेहरू छन् भने ती गिलाद डाँड़ादेखि नै तुरुन्तै आफ्ना घरमा गइहालून्। यसरी बाईस हजार जना फर्किगए, र दश हजार बाँकी रहे। 4 तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “अझै पनि मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा, र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु। जब म भन्छु, ‘यो मानिसचाहिँ तँसँग जानेछ,’ तब त्यो जानेछ। र यदि म ‘यो मानिस तँसँग जानेछैन’ भनी भन्नेछु तब त्यो जानेछैन।” 5 यसैले गिदोनले मानिसहरूलाई तल खोलामा ल्याए, र परमप्रभुले तिनलाई भन्नुभयो, “हरेक मानिस जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख्, र अर्कोतिर चाहिँ जसले घुँड़ा टेकेर पानी पिउँछ तिनीहरूलाई राख्।” 6 पानी चाटेर पिउनेको संख्या तीन सय भयो, र बाँकीले आफ्नो हात मुखमा लगी घुँड़ा टेकेर पानी पिए। 7 परमप्रभुले गिदोनलाई भन्नुभयो, “यी तीन सय जना जसले चाटेर पानी पिए यिनैद्वारा म तिमीहरूलाई बचाउनेछु, र मिद्यानीहरूलाई तेरो हातमा सुम्पिदिनेछु। बाँकी सबै आ-आफ्नो ठाउँमा जाऊन्।” 8 यसकारण गिदोनले यी बाँकी सबै इस्राएलीहरूलाई आ-आफ्नो पालमा पठाइदिए, र ती तीन सय जनालाई राखे। अनि तिनीहरूले अरू मानिसहरूसित भएका रसदपानी र तुरहीहरू लिए। मिद्यानीहरूको छाउनी तिनको तलतिर बेँसीमा थियो। 9 त्यस रात परमप्रभुले तिनलाई भन्नुभयो, “झट्टै तल गएर छाउनीमा आक्रमण गर्, किनभने मैले त्यो तेरो हातमा सुम्पिदिएको छु। 10 यदि त्यसो गर्न तँलाई डर लाग्छ भने पहिले तेरो नोकर पूराहसँग तल छाउनीमा जा, 11 र तिनीहरू के भनिरहेका छन् सुन्। त्यही कुरा सुनेपछि छाउनीमा आक्रमण गर्न तँ प्रोत्साहित हुनेछस्।” यसकारण तिनी र तिनको नोकर पूराह छाउनीको त्यस भागमा गए जहाँ लड़ाइँ गर्ने मानिसहरू बसेका थिए। 12 अब मिद्यानी, अमालेकी र पूर्वका अरू सबै जातिहरू सलहजस्तै बाक्लै बेँसीमा बसेका थिए। ऊँटहरूको त गन्ती नै थिएन। तिनीहरू संख्यामा समुद्रका बालुवाका कणसरह थिए। 13 जब गिदोन नजिक आए, एक जना मानिसले आफ्नो साथीलाई सपना सुनाइरहेको थियो। त्यसले भन्यो, “मैले सपनामा जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्दै-गुड्दै आएको देखें। त्यो रोटी पालमा आएर त्यसमा यति जोडसित बजारियो कि त्यसले पाललाई पल्टाइदियो र पाल ढल्यो।” 14 त्यसको साथीले जवाफ दियो, “साँच्ची नै यो त इस्राएली योआशको छोरा गिदोनको तरवार नै हो। परमेश्वरले मिद्यान र समस्त सेनालाई तिनको हातमा सुम्पिदिनुभएको छ।” 15 जब गिदोनले सपनाको कथा र त्यसको अर्थ सुने, तब तिनले परमेश्वरलाई साष्टाङ्ग दण्डवत् गरे। त्यसपछि तिनी इस्राएलको छाउनीमा फर्किआएर भने, “उठ, परमप्रभुले मिद्यानीहरूको छाउनीलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ।” 16 तिनले ती तीन सय जना मानिसहरूलाई तीन दलमा विभक्त गरे, र हरेक मानिसलाई एउटा तुरही, र भित्र राँको भएको एउटा रित्तो गाग्रो दिए। 17 तब तिनले तिनीहरूलाई भने, “मलाई हेर, मेरो पछि लाग। जब म छाउनीको छेउमा पुग्छु, तब म जसो गर्छु तिमीहरू पनि त्यसै गर। 18 जब म र मेरा मानिसहरूले आफ्ना तुरही फुक्छौं, तब तिमीहरूले पनि छाउनीका चारैतिर तिमीहरूका तुरही फुक, र कराएर भन, ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति’!” 19 गिदोन र तिनीसँग भएका एक सय मानिसहरू राती दश बजे छाउनीको छेउमा पुगे। पहरा-चौकीको पालो भर्खर फेरेको थियो। तिनीहरूले आफ्ना तुरही फुके र आफ्ना हातमा भएका गाग्रा फुटाए। 20 ती तीनै दल सबैले आ-आफ्नो तुरही फुके र गाग्रो फुटाए। देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” 21 हरेक मानिस आफू बसेको ठाउँमा नै छाउनीको चारैतिर उभिरहे, र सबै मिद्यानीहरू चिच्च्याउँदै भागे। 22 ती तीन सय जनाले आ-आफ्नो तुरही फुक्दा, परमप्रभुले छाउनीभरि हरेकलाई एक-अर्काको विरुद्धमा उठाउनुभयो। तब मिद्यानी सेना सरेराको बेथ-शित्तामा, तब्बातका छेउको हाबिलमहोलाको सिमानासम्म भागे। 23 नप्ताली, आशेर र सबै मनश्शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई खेदे। 24 गिदोनले एफ्राइमका सबै पहाड़ी देशभरि यो समाचार लिएर मानिसहरूलाई पठाए, “तल झरेर मिद्यानीहरूलाई नाश गर, र बेथ-बरासम्म यर्दन नदीका घाटहरू तिनीहरूका अगाड़ि कब्जा गर।” यसैले सबै एफ्राइमहरू बोलाइए, र बेथ-बरासम्म यर्दन नदीका घाटहरू तिनीहरूले लिए। 25 तिनीहरूले दुई मिद्यानी शासक, ओरेब र जएबलाई पक्रे। ओरेबलाई तिनीहरूले ओरेबको चट्टानमा, र जएबलाई चाहिँ जएबको दाखको कोलमा मारे, र मिद्यानीहरूलाई खेदेको खेदेकै गरे। पछि तिनीहरूले ओरेब र जएबका टाउकाहरू यर्दन वारि गिदोनकहाँ ल्याए। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society