न्यायकर्ता 3 - नेपाली नयाँ संशोधित संस्करणइस्राएललाई जाँच्नलाई छोडिएका जातिहरू 1 यी तिनै जातिहरू हुन् जसलाई परमेश्वरले ती इस्राएलीहरूलाई जाँच्नलाई छोड्नुभएको थियो, जसले कनानका लड़ाइँहरूको अनुभव पाएका थिएनन्। 2 इस्राएलका आउने पुस्ताहरूलाई, अर्थात् जस-जसले पहिले युद्ध गर्न जानेका थिएनन्, तिनीहरूलाई कसरी लड़ाइँ गर्नुपर्ने सो सिकाउने उहाँको अभिप्राय थियो। 3 ती जातिहरू यी नै हुन्: पलिश्तीहरूका पाँच शासकहरू, सबै कनानीहरू, सीदोनीहरू र लेबनानका पहाड़हरूमा बाल-हेर्मोन डाँड़ादेखि लेबो-हमातसम्म बस्ने हिव्वीहरू। 4 उहाँको अभिप्रायचाहिँ मोशाद्वारा तिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिनुभएका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर जाँच्नलाई थियो। 5 यसरी इस्राएलीहरू कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूसँग रहन लागे। 6 तिनीहरूले उनीहरूका छोरीहरू विवाह गरे, र आफ्नै छोरीहरू पनि उनीहरूका छोराहरूलाई विवाहमा दिए। र तिनीहरूले उनीहरूका देवताहरूलाई पनि पूजा गर्न लागे। ओत्निएलले इस्राएललाई कूशन-रिशातैमको हातबाट छुटाएका 7 जुन कुरा परमप्रभुको दृष्टिमा खराब थियो इस्राएलीहरूले त्यही गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से र बाल देवताहरू र अशेरा देवीहरूलाई पुज्न लागे। 8 इस्राएलसँग परमप्रभु क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई अरामनाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसले तिनीहरूलाई आठ वर्षसम्म आफ्नो अधीनमा राखे। 9 तर जब इस्राएलीहरूले सहायताको निम्ति परमेश्वरलाई पुकारे, तब उहाँले तिनीहरूलाई छुटाउनलाई कालेबका भाइ कनजका छोरा ओत्निएललाई खड़ा गर्नुभयो, र तिनले तिनीहरूलाई मुक्त गरे। 10 परमप्रभुका आत्मा तिनीमाथि आउनुभयो, र तिनी इस्राएलमाथि न्यायकर्ता भए। तिनी युद्ध गर्नलाई निस्के, र परमप्रभुले अरामका राजा कूशन-रिशातैमलाई तिनको हातमा सुम्पिदिनुभयो। ओत्निएल उनीमाथि विजयी भए। 11 यसरी कनजका छोरा ओत्निएलको मृत्यु नहोउञ्जेल देशमा चालीस वर्षसम्म शान्ति भयो। एहूदले इस्राएललाई मोआबीहरूका हातबाट छुटाएका 12 फेरि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। यसैकारण परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलमाथि अधिकार दिनुभयो। 13 एग्लोनले अम्मोनीहरू र अमालेकीहरूलाई युद्धको निम्ति भेला गरे, र इस्राएलीहरूलाई आक्रमण गर्नलाई अगि बढ़े, र खजूरका रूखहरूको सहरमाथि अधिकार गरे। 14 इस्राएलीहरू अठार वर्षसम्म मोआबका राजा एग्लोनको अधीनमा रहे। 15 फेरि तिनीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे, र उहाँले एक जना मानिस, अर्थात् बेन्यामीनी गेराका छोरा, देब्रे हात चल्ने एहूदलाई तिनीहरूलाई छुटाउनलाई खड़ा गर्नुभयो। इस्राएलीहरूले तिनलाई मोआबका राजा एग्लोनकहाँ तिनीहरूको कर तिर्नलाई पठाए। 16 एहूदले आफ्नो निम्ति एक हात लामो एउटा चुपी बनाएर लुगाभित्र दाहिने जाँघमा बाँधिराखे। 17 त्यसपछि तिनी मोआबका राजा एग्लोनकहाँ कर लिएर गए। एग्लोन साह्रै मोटा मानिस थिए। 18 एहूदले कर टक्र्याइसकेपछि तिनले करको सौगात बोकेर ल्याउने मानिसहरूलाई पठाइदिए। 19 तिनी आफूचाहिँ गिलगालमा भएको, मूर्तिहरूको ठाउँदेखि फर्केर आए, र तिनले राजालाई भने, “हे महाराज, मैले हजूरलाई गुप्तिमा केही भन्नु छ।” तब एग्लोनले चूप लाग्ने आदेश दिएर आफ्ना सबै सेवकहरूलाई बाहिर पठाए। 20 जब उनी आफ्नो महलको कौसीको शीतल कोठामा बसिरहेका थिए तब उनका नजिक आएर एहूदले भने, “परमेश्वरबाट हजूरलाई मैले एउटा कुरो भन्नु छ।” 21 तब एग्लोन आफ्नो आसनबाट उठे, र एहूदले आफ्नो देब्रे हातले दाहिनेतिर भएको चुपी निकालेर, उनको भुँड़ीमा रोपिदिए। 22 चुपी बीँड़समेत पस्यो, र उनको ढाड़बाट निस्कियो। बोसोले चुपीलाई छोप्यो। तिनले चुपी निकालेनन्, तर त्यत्तिकै अवस्थामा छोड़िराखे। 23 तब एहूद दलानमा निस्के र एग्लोनलाई भित्रै छोड़ेर ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए। 24 जब तिनी निस्किसकेका थिए तब एग्लोनका सेवकहरू भित्र आए, र ढोकाहरूमा ताल्चा लगाइएको देखेर तिनीहरूले भने, “राजा आफ्नो महलको शीतल कोठामा दिसा बसिरहनुभएको होला।” 25 धेरै बेरसम्म पर्खंदा-पर्खंदा तिनीहरूलाई लाज पनि लाग्यो, तापनि एग्लोनले कौसीको कोठाका ढोकाहरू खोलेनन्। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले, र आफ्ना मालिकलाई भूइँमा मरेर लड़िरहेका भेट्टाए। 26 तिनीहरू पर्खिरहँदा एहूद उम्केर भागे। तिनी मूर्तिहरूको ठाउँदेखि छिरिगएर सीरा भन्ने ठाउँमा पुगे। 27 अनि एफ्राइमको पहाड़ी देशमा पुगेपछि त्यहाँ तिनले तुरही फुके, र इस्राएलीहरू पहाड़बाट आएर तिनले तिनीहरूलाई अगि लाए। 28 एहूदले तिनीहरूलाई भने, “मेरो पछि आओ, किनभने परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ।” यसकारण तिनीहरू तिनका पछिपछि ओर्लेर आए र तिनीहरूले मोआबको सामुको यर्दनका जँघारहरू लिए, र कसैलाई पनि त्यहाँबाट पारि जान दिएनन्। 29 तिनीहरूले त्यस दिन दश हजार मोआबीहरूलाई मारे। ती सबै बलिया-बलिया र शूरवीर पुरुषहरू थिए। एक जना पनि उम्कन पाएन। 30 यसरी त्यस दिन मोआब इस्राएलको अधीनमा भए, र देशमा असी वर्षसम्म शान्ति भइरह्यो। 31 एहूदपछि अनातका छोरा शमगर खड़ा भए। तिनले छ सय पलिश्तीहरूलाई गोरु धपाउने लहुरोले मारे। तिनले पनि इस्राएलको उद्धार गरे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society