Online Bible

- Reklamy -

न्यायकर्ता 2 - नेपाली नयाँ संशोधित संस्करण


बोकीममा परमप्रभुका दूत

1 परमप्रभुका दूत गिलगालबाट बोकीममा उक्‍लेर गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट लिएर आएँ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनी शपथ खाएको यस देशमा ल्‍याइपुर्‍याएँ। मैले भनें, ‘जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्‍यो कहिल्‍यै भङ्ग गर्नेछैनँ।

2 तिमीहरूले पनि यस देशका बासिन्‍दाहरूसँग करार नबाँध्‍नू। तिमीहरूले उनीहरूका वेदीहरू भत्‍काइदिनू’। तर तिमीहरूले मेरो आज्ञापालन गरेनौ। हेर, तिमीहरूले के गर्‍यौ?

3 यसैले म भन्‍दछु, ‘म उनीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनेछैनँ। उनीहरू तिमीहरूका लागि काँढ़ा र उनीहरूका देवताहरू तिमीहरूका निम्‍ति पासो बन्‍नेछन्‌’।”

4 जब परमप्रभुका दूतले यी कुरा इस्राएलीहरूलाई भने, तब तिनीहरू सबै रोए र विलाप गरे।

5 यसैले त्‍यस ठाउँको नाउँ बोकीम राखियो। त्‍यहाँ तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान चढ़ाए।


यहोशूको मृत्‍यु

6 यहोशूले इस्राएलीहरूलाई बिदा गरेपछि तिनीहरू हरेक त्‍यस देशमा आ-आफ्‍नो भागमा परेको जग्‍गा ओगट्‌नलाई गए।

7 यहोशू जीवित रहुञ्‍जेल र तिनका पछिका धर्म-गुरुहरू बाँचुञ्‍जेल, जसले परमप्रभुले इस्राएलको निम्‍ति गर्नुभएका जम्‍मै ठूला-ठूला कामहरू देखेका थिए, इस्राएली जातिले परमप्रभुको सेवा गर्दैरहे।

8 नूनका छोरा यहोशू, परमप्रभुका दास, एक सय दश वर्षको उमेरमा मरे,

9 र तिनीहरूले तिनलाई गाश डाँड़ाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशमा भएको तिम्‍नथ-हेरेसमा तिनकै निज अधिकारका भागको सिमानाभित्रै गाड़े।

10 त्‍यस जम्‍मै पुस्‍ताका सबै जना आफ्‍ना पिता-पुर्खाहरूसँग मिले। पछि एउटा अर्को पुस्‍ता आयो जसले परमप्रभुलाई चिन्‍दैनथ्‍यो न त उहाँले इस्राएलको निम्‍ति गर्नुभएको कामलाई पनि जान्‍दथ्‍यो।


इस्राएलीहरूको स्‍वधर्म-त्‍याग र न्‍यायकर्ताहरूको सेवा

11 जे परमप्रभुको दृष्‍टिमा खराब थियो, इस्राएलीहरूले त्‍यही गर्न लागे, र बाल देवतालाई पूजा गर्न लागे।

12 तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने आफ्‍ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई त्‍यागेर तिनीहरू अरू देवताहरूका पछि लागे— अर्थात्, आफ्‍ना वरिपरि बस्‍ने जातिहरूका देवताहरूलाई पछ्याए। तिनीहरू ती देवताहरूका सामुन्‍ने निहुरे, र परमप्रभुलाई क्रोधित तुल्‍याए।

13 तिनीहरूले परमप्रभुलाई त्‍यागेर बाल र अश्‍तोरेत देवताहरूलाई पुजे।

14 परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई डाँकूहरू र लुट्‌नेहरूका शिकार तुल्‍याउनुभयो। उहाँले तिनीहरूलाई तिनीहरूका वरिपरिका शत्रुहरूका हातमा बेचिदिनुभयो, र तिनीहरू आफ्‍ना शत्रुहरूका सामुन्‍ने टिक्‍न सकेनन्‌।

15 हरेक पल्‍ट तिनीहरू लड़ाइँ गर्न निस्‍कँदा परमप्रभुले आफ्‍नो गम्‍भीर चेताउनी दिनुभएअनुसार तिनीहरूमाथि विपत्ति ल्‍याउनुभयो, र तिनीहरू साह्रै सङ्कष्‍टमा परे।

16 त्‍यसपछि परमप्रभुले तिनीहरूमाथि न्‍यायकर्ताहरू खड़ा गर्नुभयो, जसले तिनीहरूलाई यी डाँकाहरूका हातबाट बचाए।

17 तर तिनीहरूले यी न्‍यायकर्ताहरूका कुरा पनि सुनेनन्‌। तिनीहरू व्‍यभिचारीसरह अरू देवताहरूको पूजा गर्न र उनीहरूका सामु निहुरन लागे। तिनीहरूले आफ्‍ना पिता-पुर्खाहरू हिँडेका परमेश्‍वरका आज्ञापालनको बाटो चाँड़ै नै छोड़िदिए।

18 जहिले पनि परमप्रभुले तिनीहरूमाथि न्‍यायकर्ता खड़ा गर्नुभयो, परमप्रभु त्‍यो न्‍यायकर्तासँग हुनुहुन्‍थ्‍यो, र तिनी बाँचुञ्‍जेल उहाँले तिनीहरूलाई शत्रुहरूका हातदेखि बचाइराख्‍नुहुन्‍थ्‍यो। किनकि दुर्व्‍यवहार र अत्‍याचारमा पर्दा जहिले पनि तिनीहरूले सुस्‍केरा मार्दथे परमप्रभुले तिनीहरूमाथि दया गर्नुहुन्‍थ्‍यो।

19 तर ती न्‍यायकर्ता मर्ने बित्तिकै तिनीहरू आफ्‍ना पुर्खाहरूभन्‍दा पनि अझ बढ्‌ता भ्रष्‍टाचारमा पर्दथे, र अरू देवताहरूलाई पुज्‍दै र उनीहरूका सामु निहुरिँदै आफ्‍नो भक्ति प्रकट गर्दथे। तिनीहरूले आफ्‍ना दुष्‍ट व्‍यवहार र हठी चाललाई छोड्‌न अस्‍वीकार गरे।

20 यसकारण परमप्रभु इस्राएलसित क्रोधित हुनुभयो र भन्‍नुभयो, “मैले यिनीहरूका पिता-पुर्खाहरूलाई दिएको करार यस जातिले भङ्ग गरेको र मेरो आज्ञापालन नगरेको कारणले,

21 अब यहोशूले आफ्‍नो मृत्‍युको समयमा छोड़ेका यी सबै जातिहरूमध्‍येको एउटै जातिलाई पनि इस्राएलीहरूका लागि जग्‍गा बनाउनलाई म धपाउनेछैनँ।

22 तिनीहरूका पिता-पुर्खाहरूले गरेझैँ तिनीहरू परमप्रभुको मार्गमा ठीकसित हिँड्‌छन्‌ कि भनेर हेर्नलाई यी जातिहरूद्वारा नै म इस्राएललाई जाँच्‍नेछु।”

23 परमप्रभुले ती जातिहरूलाई त्‍यसै छोड़िदिनुभएको थियो, र यहोशूको हातमा दिनलाई हतार नगरेर उहाँले उनीहरूलाई धपाउनुभएको थिएन।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy