Online Bible

- Reklamy -

न्यायकर्ता 11 - नेपाली नयाँ संशोधित संस्करण


यिप्‍ताले इस्राएलीहरूलाई अम्मोनीहरूबाट छुटाएका

1 गिलादी यिप्‍ता एक वीर योद्धा थिए। तिनी एक वेश्‍यातर्फका गिलादका छोरा थियो।

2 तर गिलादकी पत्‍नीले पनि तिनका धेरै छोराहरू जन्‍माइन्‌। अनि जब तिनीहरू ठूला भए तब तिनीहरूले यिप्‍तालाई धपाए। तिनीहरूले तिनलाई भने, “हाम्रा पिताको घरमा तेरो केही हक छैन। तँ त अर्की स्‍त्रीको छोरो होस्‌।”

3 यसैले आफ्‍ना दाजुभाइहरूदेखि बच्‍नलाई यिप्‍ता भागेर तोब देशमा बस्‍न लागे, र केही साहसी मानिसहरू तिनका चारैतिर भेला भए, र उनीहरू तिनका पछि लागे।

4 केही समयपछि अम्‍मोनीहरूले इस्राएलसित लड़ाइँ गरे।

5 जब लड़ाइँ सुरु भयो तब गिलादका बुढा-पाकाहरू तोब देशबाट यिप्‍तालाई ल्‍याउन गए।

6 तिनीहरूले तिनलाई भने, “आएर हाम्रा सेनापति हुनुहोस्, र हामी अम्‍मोनीहरूसित लड़ाइँ गर्न सक्‍नेछौं।”

7 तर यिप्‍ताले गिलादका बुढा-पाकाहरूलाई भने, “तिरस्‍कार गरेर तिमीहरूले मलाई मेरा पिताको घरबाट धपायौ। दु:ख पाउँदा अब किन तिमीहरू मकहाँ आउँछौ?”

8 तिनीहरूले जवाफ दिए, “तथापि अब हामी तपाईंतिर लागेका छौं। हामीहरूसित आएर अम्‍मोनीहरूसँग लड़ाइँ गर्नुहोस्, र तपाईं गिलादका सारा बासिन्‍दाहरूका शासक हुनुहुनेछ।”

9 यिप्‍ताले तिनीहरूलाई भने, “यदि तिमीहरूले मलाई अम्‍मोनीहरूसित लड़ाइँ गर्न फकाएर लग्‍यौ र यदि परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुभयो भने, के साँच्‍चै म तिमीहरूका शासक हुनेछु?”

10 गिलादका बुढा-पाकाहरूले फेरि यिप्‍तालाई भने, “परमप्रभु हामीहरूका बीचमा साक्षी हुनुहुन्‍छ। उहाँको शपथ खाएर भन्‍दछौं कि हामी तपाईंले भन्‍नुभएझैँ गर्नेछौं।”

11 तब यिप्‍ता गिलादका बुढा-पाकाहरूका साथमा गए, र मानिसहरूले तिनलाई आफ्‍ना शासक र सेनापति तुल्‍याए। र मिस्‍पामा परमप्रभुको उपस्‍थितिमा यिप्‍ताले आफ्‍ना सबै कुरा दोहोर्‍याए।

12 यिप्‍ताले अम्‍मोनका राजाकहाँ उनको तिनीहरूसित के झगड़ा थियो र उनले तिनीहरूको देशलाई आक्रमण गरे भनी सोध्‍नलाई दूतहरू पठाए।

13 अम्‍मोनी राजाले यिप्‍ताका मानिसहरूलाई यो जवाफ दिए, “जब इस्राएलीहरू मिश्रदेशबाट उक्‍लेर आए, तब तिनीहरूले अर्नोनदेखि यब्‍बोक र यर्दन नदीसम्‍मका हाम्रो देश लिए। यो देश शान्‍तिसित हामीलाई फर्काइदेऊ।”

14 यिप्‍ताले अम्‍मोनका राजाकहाँ दोस्रो पल्‍ट यसो भनेर दूतहरू पठाए:

15 “यिप्‍ता यसो भन्‍नुहुन्‍छ: इस्राएलले न त मोआबीहरूको देश न अम्‍मोनीहरूको देश लिए।

16 तर जब इस्राएलीहरू मिश्रदेशबाट उक्‍लेर आए, तब तिनीहरू उजाड़-स्‍थानबाट भएर लाल समुद्रमा गए र कादेशमा पुगे।

17 तब तिनीहरूले उनको देशबाट छिरेर जानलाई अनुमति माग्‍न भनी एदोमका राजाकहाँ दूतहरू पठाए, तर एदोमका राजाले सुन्‍दैसुनेनन्‌। तिनीहरूले मोआबका राजाकहाँ पनि पठाए, तर उनी पनि राजी भएनन्‌। यसैले इस्राएल कादेशमा नै रहे।

18 “त्‍यसपछि तिनीहरू एदोम र मोआबको फेरा मारेर उजाड़-स्‍थानबाट भई मोआबका पूर्वपट्टि लागे। तिनीहरूले अर्नोनको पारिपट्टि छाउनी हाले, तर तिनीहरू मोआबीहरूको देशभित्र त पसेनन्, किनभने अर्नोनचाहिँ मोआबको सिमाना थियो।

19 “त्‍यसपछि इस्राएलले उनको देशबाट छिरेर आफ्‍नो ठाउँमा जान पाऔं भनी हेश्‍बोनमा शासन गर्ने, एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए।

20 तर सीहोनले इस्राएललाई उनको देशबाट जानलाई विश्‍वास गरेनन्‌। उनले आफ्‍ना सबै मानिसहरूलाई भेला गरे, र यहसामा छाउनी हालेर इस्राएलसँग लड़ाइँ गरे।

21 “तब परमप्रभु इस्राएलका परमेश्‍वरले सीहोन र उनका सबै मानिसहरूलाई इस्राएलको हातमा सुम्‍पिदिनुभयो, र तिनीहरूले उनीहरूलाई जितेर त्‍यस प्रान्‍तमा भएका एमोरीहरूका जम्‍मै इलाका अधिकार गरे।

22 तिनीहरूले अर्नोनदेखि यब्‍बोकसम्‍म र उजाड़-स्‍थानदेखि यर्दन नदीसम्‍मै एमोरीहरूका सबै इलाकाहरू लिए।

23 “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजा इस्राएलका भलाइको निम्‍ति एमोरीहरूलाई धपाउनुभयो। अब यो फिर्ता लिन तिम्रो के अधिकार छ?

24 तिमीहरूको देवता कमोशले तिमीहरूलाई जे दिन्‍छ त्‍यही लिन्‍छौ, होइन? त्‍यसरी नै परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई जे दिनुहुन्‍छ त्‍यही लिन्‍छौं।

25 अब के तिमी मोआबका राजा सिप्‍पोरका छोरा बालाकभन्‍दा असल छौ र? के उसले कहिले इस्राएलसित झगड़ा गरेर आक्रमण गर्‍यो र?

26 तीन सय वर्षसम्‍म इस्राएलीहरू हेश्‍बोन, अरोएर, र तिनका चारैतिरका बस्‍तीहरूमा, र अर्नोनका किनारका सबै सहरहरूमा बसे। त्‍यस बेला तिमीहरूले तिनीहरूलाई किन फिर्ता लिएनौ?

27 हामीहरूले तिमीहरूलाई केही खराबी गरेका छैनौं, तर तिमीले हामीलाई आक्रमण गरेर खराबी गरिरहेका छौ। परमप्रभु, जो न्‍यायकर्ता हुनुहुन्‍छ, उहाँले नै इस्राएलीहरू र अम्‍मोनीहरूका बीचमा आजको दिन न्‍याय गरून्‌।”

28 तर यिप्‍ताले पठाएको समाचारलाई अम्‍मोनीहरूका राजाले केही वास्‍ता गरेनन्‌।


यिप्‍ताको भाकल

29 तब परमप्रभुका आत्‍मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्‍शेबाट भई गिलादको मिस्‍पाबाट छिरेर अम्‍मोनीहरूका विरुद्ध अगि बढ़े।

30 यिप्‍ताले परमप्रभुलाई यो भाकल गरेर भने, “यदि तपाईंले अम्‍मोनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुभयो भने,

31 जब म अम्‍मोनीहरूबाट कुशलसित फर्कुंला तब मलाई भेट्‌नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ। म त्‍यसलाई होमबलि गरी चढ़ाउनेछु।”

32 तब यिप्‍ता अम्‍मोनीहरूलाई आक्रमण गर्नलाई पारि तरेर गए, र परमप्रभुले उनीहरूलाई तिनको हातमा सुम्‍पिदिनुभयो।

33 तिनले अरोएरदेखि मिन्‍नीत र हाबिल-करमीमसम्‍म बीस सहरहरू ध्‍वस्‍त पारे। यसरी इस्राएलले अम्‍मोनलाई आफ्‍नो अधीनमा पारे।

34 जब यिप्‍ता मिस्‍पामा आफ्‍नो घरमा फर्के, तब तिनलाई बाहिर भेट गर्न खैँजड़ी बजाउँदै र नाच्‍दै तिनकी छोरी आइन्‌। यिनी तिनकी एउटै छोरी थिइन्, तिनको अरू कोही छोराछोरी थिएनन्‌।

35 जब तिनले यिनलाई देखे तब तिनले आफ्‍नो लुगा च्‍यातेर भने, “हाय मेरी छोरी, तिमीले मेरो मनै भाँचिदिएकी छौ, तिमीले कस्‍तो कष्‍ट ममाथि ल्‍याएकी छौ। मैले परमप्रभुसित एउटा भाकल गरेको छु, र म त्‍यो टार्न सक्‍दिनँ।”

36 यिनले जवाफ दिइन्, “बुबा, तपाईंले परमप्रभुमा गम्‍भीर भाकल गर्नुभएको छ। तपाईंले त्‍यहीअनुसार मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्‍मोनीहरूसँग बदला लिनुभएको छ।

37 तर बुबा, ममाथि एउटा कृपा गर्नुहोस्‌— दुई महिनासम्‍म मलाई छोड़िदिनुहोस्, र म आफ्‍ना सहेलीहरूसित यी डाँड़ाहरूमा घुमफिर गर्न पाऊँ, र म आफ्‍नो कुमारी अवस्‍थाको मृत्‍युमाथि शोक गर्न सकूँ।”

38 तिनले भने, “जाऊ।” र तिनले यिनलाई दुई महिनाको निम्‍ति बिदा गरे। तिनी आफ्‍ना सहेलीहरूसित गइन्, र डाँड़ाहरूमा आफ्‍नो कुमारीत्‍वको निम्‍ति रोइन्‌।

39 दुई महिनाको अन्‍तमा तिनी आफ्‍ना पिताकहाँ फर्केर आइन्, र यिप्‍ताले आफूले गरेको भाकल पूरा गरे। तिनी कुमारी थिइन्‌।

40 यसैबाट इस्राएलका छोरीहरू प्रत्‍येक वर्ष चार दिनसम्‍म गिलादी यिप्‍ताकी छोरीको स्‍मृतिमा बाहिर जाने एउटा परम्‍परा भयो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy