Online Bible

- Reklamy -

याकूबको पत्र 4 - नेपाली नयाँ संशोधित संस्करण


परमेश्‍वरमा समर्पण

1 तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्‍याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन्‌ र?

2 तिमीहरू इच्‍छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्‍या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्‍दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्‍वरसँग माग्‍दैनौ।

3 तिमीहरू माग्‍छौ तर पाउँदैनौ, किनकि आफ्‍ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्‍छौ।

4 व्‍यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्‍वरसँगको शत्रुता हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्‍छ त्‍यसले आफैलाई परमेश्‍वरको शत्रु बनाउँछ।

5 के तिमीहरू यो सम्‍झन्‍छौ, कि पवित्र-धर्मशास्‍त्रले व्‍यर्थमा यसो भन्‍दछ, हामीमा परमेश्‍वरले राख्‍नुभएका आत्‍माको निम्‍ति उहाँ तीव्र डाह राख्‍नुहुन्‍छ,

6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”

7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।

8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।

9 दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्‍द खिन्‍नतामा परिणत होस्‌।

10 प्रभुको सामने आफूलाई विनम्र तुल्‍याओ, र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।

11 भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्‍नो भाइको विरुद्धमा खराब बोल्‍छ, अथवा आफ्‍नो भाइलाई दोष लाउँछ, त्‍यो व्‍यवस्‍थाको विरुद्धमा बोल्‍छ, र त्‍यसले व्‍यवस्‍थाको दोष देखाउँछ। तर यदि तिमीले व्‍यवस्‍थाको दोष देखाउँछौ भने त तिमी व्‍यवस्‍थाबमोजिम चल्‍ने भएनौ, तर व्‍यवस्‍थाको न्‍यायकर्ता पो भयौ।

12 व्‍यवस्‍था दिने र न्‍यायकर्ता त एउटै हुनुहुन्‍छ, जसले बचाउन र नाश गर्न पनि सक्‍नुहुन्‍छ। तर आफ्‍नो छिमेकीलाई दोष लाउने तिमीहरू को हौ?

13 “आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्‍यहाँ एक वर्ष बिताऔंला र व्‍यापार गरेर नाफा गरौंला”

14 भन्‍नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्‍दैनौ। तिम्रो जिन्‍दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्‍ति देखा पर्छ, अनि हराइहाल्‍छ।

15 यसको सट्टामा त तिमीहरूले यसो भन्‍नुपर्ने, “यदि परमेश्‍वरको इच्‍छा भयो भने हामी बाँचौंला र यस्‍तो-उस्‍तो गरौंला।”

16 तर अहिले तिमीहरू आ-आफ्‍ना शेखीमा धाक लाउँछौ। यस्‍तो सबै शेखी खराब हो।

17 यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्‍यसले पाप गर्छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy