Online Bible

- Reklamy -

याकूबको पत्र 3 - नेपाली नयाँ संशोधित संस्करण


जिब्रोलाई वशमा पार्नु

1 भाइ हो, तिमीहरूमध्‍ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्‍दछौ, हामी शिक्षा दिनेहरूको न्‍याय अझ कठोर रूपले हुनेछ।

2 किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्‍ने कुरामा भूल गर्दैन, त्‍यसले आफ्‍ना सारा शरीरमा पनि लगाम लगाउन सक्‍छ, र त्‍यो सिद्ध मानिस हुन्‍छ।

3 यदि घोडाहरूलाई वशमा राख्‍नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्‍यो त्‍यतै लान सक्‍छौं।

4 हेर त, जहाजहरू जो तेज हावाले चल्‍दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्‍नो इच्‍छाअनुसार जता मन पर्‍यो त्‍यतै लान्‍छ।

5 त्‍यस्‍तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्‍काले ठूलो वन पनि स्‍वाहा पार्दछ।

6 जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्‍ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्‍काइदिन्‍छ र नरकको आगोमा त्‍यो जल्‍छ!

7 हरेक किसिमका पशुपक्षी, घस्रने जन्‍तु र समुद्रका जीवजन्‍तुलाई तह लगाउन सकिन्‍छ, र मानिस जातिबाट नै तह लगाइएको छ।

8 तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्‍दैन। घातक विषले भरिएको यो चञ्‍चल दुष्‍ट हो।

9 यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्‍वरको स्‍वरूपमा बनेका मानिसहरूलाई हामी सराप्‍तछौं।

10 एउटै मुखबाट आशीर्वाद र सराप निस्‍कन्‍छन्‌। मेरा भाइ हो, यसो नहुनुपर्ने हो।

11 के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्‍कन्‍छ र?

12 मेरा भाइ हो, के अञ्‍जीरको बोटमा जैतून अथवा दाखको बोटमा अञ्‍जीर फल्‍न सक्‍छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्‍कन सक्‍दैन।


दुई किसिमका बुद्धि

13 तिमीहरूमध्‍ये बुद्धिमान्‌ र ज्ञानी को छ? आफ्‍नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्‍यसले आफ्‍ना कामहरू देखाओस्‌।

14 तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्‍या र स्‍वार्थी अभिलाषा छन्‌ भने यी कुरामा अभिमान नगर, र सत्‍यतालाई झूटा नबनाओ।

15 यो बुद्धि स्‍वर्गबाट आउने बुद्धि होइन। तर यो त सांसारिक, अनात्‍मिक र शैतानिक हो।

16 किनकि जहाँ डाह र स्‍वार्थपूर्ण अभिलाषा हुन्‍छ, त्‍यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्‍ट काम हुन्‍छ।

17 तर जुन बुद्धि स्‍वर्गबाट आउँछ त्‍यो पहिले शुद्ध हुन्‍छ, तब त्‍यो शान्‍तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्‍छ।

18 शान्‍ति कायम राख्‍नेहरूले शान्‍तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्‍छन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy