Online Bible

- Reklamy -

यशैयाको पुस्तक 7 - नेपाली नयाँ संशोधित संस्करण


इम्मानुएलको चिन्ह

1 जब उज्‍जियाहका नाति, योतामका छोरा आहाज यहूदाका राजा थिए, तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्‍याहका छोरा पेकह यरूशलेमको विरुद्धमा लड़ाइँ गर्न आए, तर उनीहरू विजयी हुन सकेनन्‌।

2 अनि “एफ्राइमले अरामसित सन्‍धि गर्‍यो” भन्‍ने समाचार दाऊदको घरानाकहाँ पुग्‍यो। वनका रूखहरू बतासले हल्‍लाएझैँ गरी आहाज र तिनका प्रजाका मन कामे।

3 तब परमप्रभुले यशैयालाई भन्‍नुभयो, “अब तँ आफ्‍नो छोरो शार्यासूबलाई लिएर धोबीको खेतको बाटोमा गएर माथिल्‍लो पोखरीको नहरको आखिरी भागमा आहाजसित भेट गर्,

4 र त्‍यसलाई भन्, ‘होशियार होऊ, शान्‍त बस र तिमी नडराऊ। यी दुई धूवाँ उठ्‌ने अगुल्‍टा, रसीन र अरामको भयङ्कर रीस, र रमल्‍याहको छोराको कारण तिम्रो मन पनि कातर नहोस्‌।

5 अराम, एफ्राइम र रमल्‍याहको छोराले मिलेर यसो भन्‍दै तिम्रो सर्वनाश गर्न षड्‌यन्‍त्र रचेका छन्,

6 “हामीहरू यहूदामाथि आक्रमण गरौं। त्‍यसलाई टुक्रा-टुक्रा पारेर बाँड़ौं, र ताबेलका छोरालाई त्‍यसका राजा बनाऔं।”

7 तापनि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “‘यो हुन नै सक्‍दैन, यो हुँदैन नै।

8 किनकि अरामको शिर दमस्‍कस हो, र दमस्‍कसको शिर रसीन मात्रै हो। पैँसट्ठी वर्षभित्रैमा आफ्‍नो नाउँनिशानै मेटिने गरी एफ्राइम टुक्रा-टुक्रा पारिनेछ।

9 एफ्राइमको शिर त सामरिया हो, र सामरियाको शिरचाहिँ रमल्‍याहको छोरो मात्र नै हो। यदि तिमीहरू आफ्‍नो विश्‍वासमा स्‍थिर भएनौ भने तिमीहरू खड़ा रहनै सक्‍नेछैनौ’।”

10 फेरि परमप्रभुले आहाजलाई भन्‍नुभयो,

11 “तल गहिरोभन्‍दा गहिरोबाट होस्‌ वा माथिभन्‍दा माथिबाट होस्, परमप्रभु आफ्‍ना परमेश्‍वरसित कुनै एउटा चिन्‍ह माग्‌।”

12 तर आहाजले भने, “म माग्‍नेछैनँ। म परमप्रभुको परीक्षा गर्नेछैनँ।”

13 तब यशैयाले भने, “हे दाऊदका घराना, अब सुन! के मानिसहरूको धैर्यलाई जाँच्‍न यथेष्‍ट भएन? के तिमीहरू मेरा परमेश्‍वरको धैर्यलाई जाँच्‍छौ?

14 यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ। हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ।

15 खराबलाई इन्‍कार गर्न र असललाई छान्‍न जानेपछि उहाँले दही र मह खानुहुनेछ।

16 तर बालकले खराबलाई इन्‍कार गर्न र असललाई छान्‍न अघि त्‍यो देश उजाड़ पारिनेछ, जसका दुई राजाहरूदेखि तिमीहरू डराएका छौ।

17 परमप्रभुले तिमीमाथि, तिम्रा प्रजामाथि र तिम्रा पिताका परिवारमाथि यस्‍तो दिन ल्‍याउनुहुनेछ कि एफ्राइम यहूदादेखि छुट्टिएपछि यसो कहिल्‍यै आइलागेको थिएन, अर्थात्‌ उहाँले अश्‍शूरका राजालाई यस देशमा ल्‍याउनुहुनेछ।”

18 त्‍यो दिन परमप्रभुले मिश्रदेशका टाढ़ाका खोलाहरूबाट झीँगाहरू र अश्‍शूर देशका मौरीहरूलाई सुसेलीले बोलाउनुहुनेछ।

19 तिनीहरू आएर जम्‍मै साँघुरा भीरहरू, चट्टानका धाँदाहरू, सबै काँढ़ाघारी र सबै पानीको भ्‍वाङ्ग हुँदो बस्‍नेछन्‌।

20 त्‍यो दिन परमप्रभुले यूफ्रेटिस नदी पारिबाट लिएको छुरा, अर्थात्‌ अश्‍शूरका राजाद्वारा तिनीहरूका शिर र खुट्टाका रौँ खौरिदिनुहुनेछ, र दाह्री पनि खौरिदिनुहुनेछ।

21 त्‍यो दिन एउटा मानिसले एउटा कोरली र दुई वटा बाख्रा पाल्‍नेछ,

22 अनि तिनीहरूले दिएको प्रशस्‍त दूधको कारण खानलाई दही पनि हुनेछ। देशमा छोड़िएका सबैले दही र मह खानेछन्‌।

23 त्‍यो दिन हजार शेकेल चाँदी दाम पर्ने हजार दाखका बोटहरू भएको बारीमा सिउँड़ी र काँढ़ा मात्र हुनेछन्‌।

24 सिउँड़ी र काँढ़ा भएकोले गर्दा त्‍यहाँ मानिसहरू काँड़-धनु लिएर जानेछन्‌।

25 कोदालोले खन्‍ने सबै डाँड़ाहरूमा चाहिँ सिउँड़ी र काँढ़ाको डरले तिमीहरू त्‍यहाँ फेरि जानेछैनौ, तर ती ठाउँहरू गाई-गोरु चर्ने ठाउँ र भेड़ाहरू कुदिहिँड्‌ने ठाउँ हुनेछन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy