यशैयाको पुस्तक 62 - नेपाली नयाँ संशोधित संस्करणसियोनको नयाँ नाउँ 1 सियोनको खातिर म चूप लाग्नेछैनँ। यरूशलेमको खातिर म चूपचाप बस्नेछैनँ, जबसम्म त्यसको धार्मिकता उषाको उज्यालोजस्तै र त्यसको मुक्ति राँकोझैँ चहकिलो बलिरहेको देखिँदैन। 2 जाति-जातिहरूले तेरो धार्मिकता र सबै राजाहरूले तेरो गौरव देख्नेछन्, र तँचाहिँ परमप्रभु आफैले राख्नुभएको नयाँ नाउँद्वारा कहलाइनेछस्। 3 तँ परमप्रभुको हातमा गौरवमय मुकुट र तेरा परमेश्वरका हातमा एउटा राजकीय शिरपेच हुनेछस्। 4 तँ फेरि कहिल्यै ‘त्यागिएकी’ भनिनेछैनस्। तेरो देश फेरि कहिल्यै ‘उजाड़िएको’ भनिनेछैन। तर तँ ‘हेप्सीबा’ भनिनेछस्, र तेरो देश ‘ब्युलाह’ भनिनेछ। किनकि तँसित परमप्रभु खुशी हुनुहुनेछ, र तेरो देशले विवाह गरेको हुनेछ। 5 जसरी एक जना जवान केटाले कन्ये-केटीलाई विवाह गर्छ, त्यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्। जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्छ, त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ। 6 मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन्। हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ, 7 र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ। 8 परमप्रभुले आफ्नो दाहिने हात र आफ्नो शक्तिशाली बाहुबलको शपथ खानुभएको छ, “म फेरि कहिल्यै तेरो अन्न तेरा शत्रुहरूलाई खान दिनेछैनँ, र जुन नयाँ दाखमद्यको निम्ति तैंले परिश्रम गरेको थिइस्, त्यो विदेशीले कहिल्यै खान पाउनेछैनन्। 9 तर जसले अन्न कटनी गर्छन्, तिनीहरूले त्यो खानेछन्, र परमप्रभुको प्रशंसा गर्नेछन्। र जसले दाख जम्मा गर्छन्, तिनीहरूले मेरो पवित्रस्थानको चोकमा त्यो पिउनेछन्।” 10 जाओ, मूल ढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्ति बाटो तयार गर। बनाओ, राजपथ बनाओ। त्यहाँबाट ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्ति झन्डा खड़ा गर। 11 परमप्रभुले पृथ्वीको पल्लो छेउसम्म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउँदैहुनुहुन्छ! हेर्, उहाँको प्रतिफल उहाँसितै छ, र उहाँको इनाम उहाँकै साथ हुनेछ’।” 12 तिनीहरू पवित्र जाति कहलाइनेछन्— परमप्रभुद्वारा छुटकारा पाएकाहरू। तँचाहिँ “खोजेर भेट्टाइएको” र “नत्यागिएको सहर” कहलाइनेछस्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society