Online Bible

- Reklamy -

यशैयाको पुस्तक 61 - नेपाली नयाँ संशोधित संस्करण


परमप्रभुका निगाहको वर्ष

1 परमप्रभु परमेश्‍वरका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्‍न, कैदमा परेकाहरूलाई स्‍वतन्‍त्रता दिन र बन्‍धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ।

2 परमप्रभुको प्रसन्‍नताको वर्ष, र हाम्रा परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्‍त्‍वना दिन,

3 र सियोनमा विलाप गर्नेहरूलाई— खरानीको सट्टा सुन्‍दरताको मुकुट, र शोकको सट्टा आनन्‍दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन। उहाँका गौरवको प्रदर्शन होस्‌ भनेर परमप्रभुले नै रोप्‍नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन्‌।

4 तिनीहरूले पुराना भग्‍नावशेष पुनर्निर्माण गर्नेछन्‌। नष्‍ट भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्, र पुस्‍तौँदेखि भग्‍नावशेष भएर रहेका सहरहरूलाई तिनीहरूले फेरि नयाँ बनाउनेछन्‌।

5 परदेशीहरूले तेरा भेड़ाबाख्राहरूलाई चराउनेछन्, र विदेशीहरूले तेरा जमिन र दाखबारीमा काम गर्नेछन्‌।

6 अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्‍पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।

7 तिनीहरूका शर्मको सट्टा मेरा प्रजाले दोबर पाउनेछन्, र अनादरको सट्टा तिनीहरू आफ्‍ना उत्तराधिकारमा रमाउनेछन्‌। यसैकारण तिनीहरू आफ्‍नै देशका दोबर भागका हकदार हुनेछन्, र अनन्‍तको आनन्‍द तिनीहरूका निम्‍ति हुनेछ।

8 “किनभने म, परमप्रभुचाहिँ, न्‍यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्‍छ। म आफ्‍नो विश्‍वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्‍नेछु।

9 तिनीहरूका सन्‍तान जाति-जातिहरूका बीचमा र तिनीहरूका बालबच्‍चाहरू मानिसहरूका बीचमा चिनिनेछन्‌। तिनीहरूलाई देख्‍ने सबैले ‘ती परमप्रभुबाट आशिष्‌ पाएका सन्‍तान हुन्‌’ भनी स्‍वीकार गर्नेछन्‌।”

10 म परमप्रभुमा साह्रै आनन्‍दित हुन्‍छु। मेरो प्राणले मेरा परमेश्‍वरमा आनन्‍द मनाउँनेछ। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको छ— जसरी दुलहाले आफ्‍नो शिर पूजाहारीले सिँगारेझैँ सिँगार्छन्, र दुलहीले आफैलाई रत्‍नहरूले आभूषित गर्छिन्‌।

11 किनकि जसरी भूमिले आफ्‍नो बिरुवा उमार्छ, र जसरी बगैँचाले बीउहरू उमार्छ, त्‍यसरी नै परमप्रभु परमेश्‍वरले धार्मिकता र प्रशंसा सारा जातिहरूका सामुन्‍ने उत्‍पत्ति गर्नुहुनेछ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy