यशैयाको पुस्तक 6 - नेपाली नयाँ संशोधित संस्करणयशैयालाई परमप्रभुको काममा बोलावट 1 उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखें। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो। 2 उहाँको मास्तिर सराफहरू खड़ा थिए— प्रत्येकका छ-छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, दुई वटाले आफ्ना खुट्टा ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दैथिए। 3 अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दैथिए: “सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।” 4 तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए, र मन्दिर धूवाँले भरियो। 5 मैले भनें, “धिक्कार! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।” 6 तब चिम्टाले वेदीबाट आगोको भुङ्ग्रो हातमा लिएर सराफहरूमध्ये एक जना मकहाँ उड़ेर आए। 7 तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित भयो।” 8 तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने?” अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्!” 9 उहाँले मलाई भन्नुभयो, “जाऊ गएर यी मानिसहरूलाई भन, “‘तिमीहरू सुन्न त सुन्छौ, तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ, तर थाहा पाउँदैनौ’। 10 यी मानिसहरूका हृदय कठोर, र तिनीहरूका कान नसुन्ने पार, र तिनीहरूका आँखा बन्द गरिदेऊ, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्लान्, र आफ्ना कानले सुन्लान्, र तिनीहरूका हृदयले बुझ्लान्, र फेरि फर्केर तिनीहरू निको होलान्।” 11 तब मैले भनें “हे परमप्रभु कहिलेसम्म?” र उहाँले भन्नुभयो, “जबसम्म सहरहरू विनाश भएर बासिन्दाविनाका हुँदैनन्, र घरहरू निर्जन हुँदैनन्, र खेतहरूचाहिँ ध्वंस र नष्ट हुँदैनन्, 12 जबसम्म परमप्रभुले हरेक मानिसलाई टाढ़ा पठाउनुहुन्न, र पूर्ण रूपमा देश परित्याग गरिँदैन। 13 अनि यदि त्यस देशमा दशौँ भाग रह्यो भने त्यो फेरि पनि उजाड़ पारिनेछ। तर जसरी तारपीन र फलाँटका रूखहरू काटेर ढाले तापनि ठुटोचाहिँ रहिरहन्छन्, त्यसरी नै त्यस देशमा पवित्र बीउचाहिँ ठुटो हुनेछ।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society