Online Bible

- Reklamy -

यशैयाको पुस्तक 59 - नेपाली नयाँ संशोधित संस्करण


पाप, पश्‍चात्ताप र छुटकारा

1 निश्‍चय नै परमप्रभुको हात बचाउन नसक्‍ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्‍न नसक्‍ने गरी बाक्‍लो भएको छ।

2 तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्‍ना परमेश्‍वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्‍नुहुनेछैन।

3 किनकि तिमीहरूका हात रगतले र तिमीहरूका औँला दोषले पोतिएका छन्, र तिमीहरूका ओठले झूटा कुराहरू बोलेका छन्, र तिमीहरूको जिब्रोले दुष्‍ट कुराहरू बक्‍तछ।

4 कसैले न्‍याय माग्‍दैन। कसैले ईमानदारीसाथ वकालत गर्दैन। तिनीहरू खोक्रो तर्कमा भर पर्छन्‌ र झूट बोल्‍छन्‌। तिनीहरू उपद्रव रच्‍दछन्, र अधर्म जन्‍माउँछन्‌।

5 तिनीहरू साँभे सर्पका फुल ओथ्रन्‍छन्, र माकुराको जाल बुन्‍छन्‌। तिनीहरूका फुल खाने जोसुकै पनि मर्नेछ, र त्‍यसलाई फुटायो भने साँपको बच्‍चा निस्‍कन्‍छ।

6 तिनीहरूका जालले वस्‍त्र बनिँदैन, तिनीहरूले बनाएका थोकले तिनीहरू आफैलाई ढाक्‍न सक्‍दैनन्‌। तिनीहरूका काम अधर्मका काम हुन्, र उपद्रवका काम नै तिनीहरूका हातमा हुन्‍छन्‌।

7 तिनीहरूका खुट्टा पापको कामतिर दौड़न्‍छन्, र तिनीहरू निर्दोषको रगत बगाउन हतार गर्छन्‌। तिनीहरूका विचार अधर्मका विचार हुन्‌। उजाड़ र नाशले तिनीहरूको बाटो चिनाउँछन्‌।

8 तिनीहरू शान्‍तिको बाटो चिन्‍दैनन्, र तिनीहरूका मार्गमा न्‍याय छैन। तिनीहरूले आफ्‍ना मार्गहरू बाङ्गा-टेढ़ा बनाएका छन्‌। त्‍यसबाट हिँड्‌ने कसैले शान्‍तिलाई जान्‍नेछैन।

9 यसैले न्‍याय हामीहरूदेखि टाढ़ा भएको छ। धार्मिकताले हामीलाई भेट्टाउन सक्‍दैन। हामीहरू उज्‍यालोको बाटो हेर्छौं, तर सबै अन्‍धकार छ। प्रकाशको बाटो हेर्छौं, तर घोर अँध्‍यारोमा हिँड्‌दछौं!

10 अन्‍धा मानिसझैँ हामी भित्ता छाम्‍दछौं, आँखा नभएकाहरूले झैँ हामी आफ्‍नो बाटो छाम्‍दछौं। हामी मध्‍यदिनमा पनि साँझमा झैँ ठेस खान्‍छौं। बलियाहरूका बीचमा हामी मरेका झैँ छौं।

11 हामी सबै भालूझैँ कराउँछौं, र ढुकुरझैँ साह्रै विलाप गर्दछौं। हामी न्‍याय माग्‍छौं, तर कतै पाउँदैनौं, मुक्तिको बाटो खोज्‍छौं, तर त्‍यो हामीबाट टाढ़ा छ।

12 किनकि हाम्रा अपराध तपाईंको दृष्‍टिमा अनेक छन्, र हाम्रा पापले हाम्रै विरुद्धमा गवाही दिन्‍छन्‌। हाम्रा अपराध हामीसितै छन्, र हाम्रा अधर्महरू हामी स्‍वीकार गर्दछौं।

13 परमप्रभुको विरुद्धमा बागीपन र विश्‍वासघात, हाम्रा परमेश्‍वरलाई पिठिउँ देखाई अत्‍याचार र विद्रोह रचेका छौं, र हाम्रा हृदयले उत्‍पन्‍न गरेका झूटा कुराहरू हामीले बोलेका छौं।

14 यसैले न्‍याय पछिल्‍तिर हटाइएको छ, र धार्मिकता टाढ़ा भएको छ, सत्‍यले चाहिँ सड़कहरूमा ठेस खाएको छ, र ईमानदारीले प्रवेश गर्न सक्‍दैन।

15 सत्‍यता कहीँ पनि पाइँदैन, र दुष्‍टदेखि अलग बस्‍ने जोसुकै पनि शिकार बन्‍छ। परमप्रभुले हेर्नुभयो, र न्‍याय रहेन भनेर उहाँ रिसाउनुभयो।

16 कोही रहेनछ भनी उहाँले देख्‍नुभयो, र कोही मध्‍यस्‍थ पनि नभएकोले अचम्‍म मान्‍नुभयो। यसर्थ उहाँकै आफ्‍नै बाहुलीले त्‍यसको निम्‍ति उद्धार ल्‍याउनुभयो, र उहाँकै धार्मिकताले त्‍यसलाई थाम्‍नुभयो।

17 उहाँले धार्मिकताको छाती-पाता र शिरमा मुक्तिको टोप पहिरिनुभयो। उहाँले साटो लिने वस्‍त्र लाउनुभयो र जोशलाई पोशाकजस्‍तै पहिरिनुभयो।

18 तिनीहरूले गरेअनुसार उहाँले तिनीहरूलाई साटो लिनुहुनेछ, उहाँका विरोधीहरूमाथि क्रोध, र उहाँका वैरीहरूमाथि बदला! टापूका देशहरूलाई तिनीहरूले गरेजस्‍तै उहाँले बदला दिनुहुनेछ।

19 पश्‍चिमका देशहरूदेखि मानिसहरूले परमप्रभुका नाउँको भय मान्‍नेछन्, र सूर्योदयदेखि तिनीहरूले उहाँका महिमाको सम्‍मान गर्नेछन्‌। किनकि उहाँ उर्लंदो बाढ़जस्‍तै आउनुहुन्‍छ, जसलाई परमप्रभुको सासले हाँकेर ल्‍याउँछ।

20 “आफ्‍ना पापको पश्‍चात्ताप गर्ने याकूबका सन्‍तानहरूका निम्‍ति मुक्तिदाता सियोनमा आउनुहुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।

21 परमप्रभु भन्‍नुहुन्‍छ, “मेरो करार तिनीहरूसित चाहिँ यही हुनेछ। मेरो आत्‍मा जो तँमाथि छ, र मेरो वचन जो मैले तेरो मुखमा हालिदिएको छु, त्‍यो तेरो मुखबाट, तेरो छोराछोरीका मुखबाट, र तिनीहरूका सन्‍तानका मुखबाट अबदेखि उसो सधैँभरिका निम्‍ति हट्‌नेछैन,” परमप्रभु भन्‍नुहुन्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy