Online Bible

- Reklamy -

यशैयाको पुस्तक 58 - नेपाली नयाँ संशोधित संस्करण


साँचो उपवास

1 “चर्को गरी करा, नथाम्‌। तुरहीको आवाज जस्‍तै उच्‍च सोरले करा। मेरो प्रजालाई तिनीहरूको बागीपन र याकूबको घरानालाई तिनीहरूका पाप जनाइदे।

2 किनकि तिनीहरूले मलाई दिनहुँ खोज्‍छन्‌। जे ठीक छ त्‍यही गर्ने र आफ्‍ना परमेश्‍वरको आज्ञा भङ्ग नगर्ने तर मेरो मार्ग जान्‍न इच्‍छा गर्ने जातिजस्‍तै तिनीहरू देखिन्‍छन्‌। तिनीहरू मसँग उचित निर्णयहरू माग्‍छन्, र परमेश्‍वर तिनीहरूका नजिकै आऊन्‌ भनी उत्‍सुक भएका देखिन्‍छन्‌।

3 तिनीहरू भन्‍छन्, ‘हामीहरू उपवास बस्‍यौं, र किन तपाईं देख्‍नुहुन्‍न? हामीहरू विनम्र भयौं, र किन तपाईं ध्‍यान दिनुहुन्‍न?’ “तापनि तिमीहरूका उपवासको दिनमा तिमीहरू आफ्‍नै इच्‍छा पूरा गर्दछौ, र तिमीहरूका कामदारहरू सबैलाई तिमीहरू शोषण गर्दछौ।

4 तिमीहरूका उपवासको दिन लड़ाइँ र झगड़ामा अन्‍त्‍य हुन्‍छ र एउटाले अर्कालाई दुष्‍ट मुक्‍काले हिर्काउँछौ। तिमीहरू आजको जस्‍तो उपवास बसेर तिमीहरूको सोर स्‍वर्गमा सुनिने आशा गर्न सक्‍दैनौ।

5 के मैले चुनेको उपवास यस्‍तै हो? मानिसले आफैलाई एक दिन मात्र विनम्र राख्‍ने? के निगालोझैँ आफ्‍नो शिर झुकाउने र भाङ्‌ग्रा र खरानी ओछ्याउने दिन मात्र यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्‍ति ग्रहणयोग्‍यको दिन भन्‍छौ?

6 “अन्‍यायको बन्‍धन फुकाल्‍न, जुवाको डोरी फुकाल्‍न, र अत्‍याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र?

7 आफ्‍नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्‍नो जात-भाइहरूबाट नलुक्‍नु, होइन र?

8 तब तिमीहरूको ज्‍योति बिहानझैँ फुटेर निस्‍कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्‍तिरको रक्षक हुनेछ।

9 तब तिमीहरूले पुकारा गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ। तिमीहरूले सहायताको निम्‍ति बिन्‍ती गर्नेछौ, र उहाँले भन्‍नुहुनेछ, ‘म यहीँ छु’। “यदि तिमीहरूले आफ्‍ना बीचबाट अत्‍याचारको जुवा फालिदियौ, अरूलाई औँला ठाड़ो गर्न र ईर्ष्‍यापूर्ण कुरा बोल्‍न त्‍याग्‍यौ,

10 अनि सम्‍पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्‍ति दियौ, र अत्‍याचारमा परेकाहरूको आवश्‍यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्‍योति अँध्‍यारोमा चम्‍कनेछ र तिमीहरूको रात मध्‍यदिनजस्‍तै हुनेछ।

11 परमप्रभुले तिमीहरूलाई निरन्‍तर डोर्‍याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्‍तुष्‍ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्‍त पानीले भिजाएको बगैँचाझैँ र नसुक्‍ने पानीको मूलझैँ हुनेछौ।

12 तिमीहरूका मानिसहरूले पुराना भग्‍नावशेष फेरि बनाउनेछन्‌। धेरै पुराना जगहरू तिनीहरूले उठाउनेछन्‌। तिमीहरू ‘भत्‍केका पर्खालहरू निर्माण गर्ने’ र ‘बस्‍ने घरहरूका निम्‍ति बाटो फेरि नयाँ बनाउनेहरू’ भनिनेछौ।

13 “तिमीहरूले मेरो शबाथ-दिन तोडेनौ र मेरो पवित्र दिनमा आफूखुशी गरेनौ भने, र परमप्रभुको शबाथलाई आदरणीय ठान्‍यौ, र आफ्‍नो इच्‍छाअनुसार नगरी यस दिनलाई मान्‍यता दियौ र यसमा आफ्‍नो खुशी नगरी व्‍यर्थका कुरा गरेनौ भने,

14 तिमीहरू परमप्रभुमा रमाहट पाउनेछौ, र म तिमीहरूलाई देशका उच्‍च स्‍थानहरूमा सवार गर्ने तुल्‍याउनेछु र म तिमीहरूलाई तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट भोज खुवाउने तुल्‍याउनेछु।” परमप्रभुको मुखैले यसो भन्‍नुभएको छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy