Online Bible

- Reklamy -

यशैयाको पुस्तक 57 - नेपाली नयाँ संशोधित संस्करण

1 धर्मी मानिसहरू नष्‍ट हुन्‍छन्, र त्‍यस कुराको कसैले आफ्‍नो मनमा वास्‍ता गर्दैन। भक्त मानिसहरू उठाइलगिन्‍छन्, तर कसैले बुझ्‍दैन कि दुष्‍टदेखि जोगाइनलाई धर्मी मानिस उठाइलगिन्‍छन्‌।

2 धर्मको बाटोमा हिँड्‌नेहरू शान्‍तिमा प्रवेश गर्छन्‌। तिनीहरू मृत्‍युमा सुतिरहँदा विश्राम पाउँछन्‌।

3 “तर हे झँक्रेनीका छोराहरू, र व्‍यभिचारी र वेश्‍याका सन्‍तान हो, यहाँ आओ!

4 तिमीहरू कसलाई ठट्टा गर्दैछौ? तिमीहरू कसका विरुद्धमा मुख बाउँदै जिब्रो निकाल्‍दैछौ? के तिमीहरू बागीहरूका सन्‍तान होइनौ र, झूटाका छोराछोरीहरू?

5 तिमीहरू फलाँटका रूखहरूका बीचमा र हरेक झ्‍याम्‍म परेका रूखमुनि कामवासनाले उत्तेजित हुन्‍छौ। तिमीहरू आफ्‍ना छोराछोरीहरूलाई खोल्‍सा र चट्टानका धाँदाहरूमा बलि गर्छौ।

6 खोल्‍साका चिल्‍ला ढुङ्गामध्‍येका मूर्तिहरू तिमीहरूका भाग हुन्‌। तिनीहरू नै तिमीहरूका भाग भए। हो, तिनीहरूकै निम्‍ति तिमीहरूले अर्घ-बलि र अन्‍नबलि चढ़ाएका छौ। यस्‍ता कुराहरू जान्‍दाजान्‍दै पनि के मैले आफ्‍नो मन नरम गर्ने?

7 अल्‍गो र उच्‍च डाँड़ामा तिमीहरूले आफ्‍नो ओछ्यान बनाएका छौ। त्‍यहाँ तिमीहरू आफ्‍ना बलिदान चढ़ाउन गयौ।

8 तिमीहरूका ढोका र चौकोसको पछाड़ि तिमीहरूले अन्‍यजातिहरूका चिन्‍हहरू राख्‍यौ। मलाई त्‍यागेर तिमीहरूले आफ्‍नो ओछ्यान उघार्‍यौ! तिमीहरू त्‍यसमा चढ़्यौ र उदाङ्गै पार्‍यौ। तिमीहरूले तिनीहरूसित बाचा बाँध्‍यौ, जसको ओछ्यान तिमीहरू मन पराउँछौ, र तिमीहरूले तिनीहरूको नग्‍नता हेर्‍यौ।

9 तिमीहरू मोलोखकहाँ भद्राक्षको तेल लिई खूब सुगन्‍धित तेल लगाएर गयौ। तिमीहरूले आफ्‍ना राजदूतहरूलाई टाढ़ाटाढ़ा पठायौ, र आफूलाई चिहानसम्‍मै पुर्‍यायौ।

10 तिमीहरूका सबै चालको कारण तिमीहरू थाक्‍यौ, तापनि तिमीहरूले यसो भनेनौ, ‘आशा छैन’। तिमीहरूले नयाँ बल पायौ, यसैले तिमीहरूले मूर्च्‍छा खाएनौ।

11 “तिमीहरूले कसको डर र भय मानेकाले मप्रति झूटा भयौ र न त मेरो सम्‍झना गर्‍यौ, न तिमीहरूको मनमा मेरो विचार गर्‍यौ? के धेरै समयसम्‍म म मौन बसेकोले तिमीहरू मेरो डर मान्‍दैनौ?

12 तिमीहरूको धार्मिकता र तिमीहरूका काम म खुलस्‍त गर्नेछु, र तीबाट तिमीहरूलाई केही लाभ हुनेछैन।

13 तिमीहरूले सहायताको निम्‍ति पुकारा गर्दा तिमीहरूले बटुलेका मूर्तिहरूले तिमीहरूलाई बचाऊन्‌! बतासले तिनीहरूलाई उड़ाएर लैजानेछ। एकै सासले तिनीहरू जम्‍मैलाई उड़ाएर लैजानेछ। तर जुन मानिसले मलाई आफ्‍नो शरणस्‍थान बनाउँछ, त्‍योचाहिँ देशको हकवाला हुनेछ र मेरो पवित्र पर्वतको अधिकारी हुनेछ।”


पश्‍चात्तापीलाई सान्‍त्‍वना

14 अनि यसो भनिनेछ: बनाओ, बनाओ, मूलबाटो तयार गर! मेरो प्रजाको बाटोदेखि बाधा हटाओ।

15 किनकि सदासर्वदा जीवित हुनुहुने, उच्‍च र श्रेष्‍ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्‍नुहुन्‍छ, “म उच्‍च र पवित्र ठाउँमा बस्‍दछु, विनम्रको आत्‍मा जागृत गराउन र पश्‍चात्तापीको हृदय जागृत गराउन, त्‍यससँग पनि बस्‍दछु जो आत्‍मामा पश्‍चात्तापी र विनम्र छ।”

16 म सधैँ दोषी ठहराउनेछैनँ, र म सधैँ क्रोधित हुनेछैनँ, नत्रता मेरो सामुन्‍ने मानिसको आत्‍मा शिथिल हुनेथियो— मैले सृष्‍टि गरेको मानिसको सास।

17 त्‍यसको पापले भरिएको लोभको कारण म रिसाएको थिएँ। मैले त्‍यसलाई दण्‍ड दिएँ, र मेरो मुख लुकाएँ। तर पनि त्‍यो आफ्‍नै चालमा अटेरी गरेर चल्‍दैरह्यो।

18 मैले त्‍यसका चालहरू देखें, तर त्‍यसलाई म निको पार्नेछु। म त्‍यसलाई डोर्‍याउनेछु, र फेरि सान्‍त्‍वना दिनेछु,

19 इस्राएलमा विलाप गर्नेहरूका मुखमा प्रशंसा उत्‍पन्‍न गराउनलाई। टाढ़ा र नजिक बस्‍ने दुवैलाई शान्‍ति होस्, शान्‍ति,” परमप्रभु भन्‍नुहुन्‍छ। “म तिनीहरूलाई निको पार्नेछु।”

20 तर दुष्‍टहरूचाहिँ छाल उठेको समुद्रझैँ हुन्, जो शान्‍त हुन सक्‍दैन, जसको पानीले मैला र हिलो बाहिर फ्‍याँक्‍छ।

21 “दुष्‍टलाई शान्‍ति हुँदैन” भनी मेरा परमेश्‍वर भन्‍नुहुन्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy