Online Bible

- Reklamy -

यशैयाको पुस्तक 55 - नेपाली नयाँ संशोधित संस्करण


तिर्खाएकाहरूलाई निमन्त्रणा

1 “हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।

2 जे रोटी नै होइन, त्‍यसको निम्‍ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्‍तोष नै दिँदैन, त्‍यसको निम्‍ति किन परिश्रम गर्छौ? ध्‍यान देओ, ध्‍यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्‍यही खाओ, र स्‍वादिष्‍ट थोकहरू खाएर तिमीहरूको प्राण सन्‍तुष्‍ट हुनेछ।

3 कान थाप, र मकहाँ आओ। सुन, ताकि तिमीहरूको प्राण जिओस्‌। म तिमीहरूसित अनन्‍त करार बाँध्‍नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासको प्रेम।

4 हेर, मैले त्‍यसलाई जाति-जातिहरूका बीचमा साक्षी, र जाति-जातिहरूमा एक नेता र सेनापति तुल्‍याएको छु।

5 परमप्रभु, तिमीहरूका परमेश्‍वर, इस्राएलका परमपवित्रको कारण, तिमीहरूले नचिनेका जातिहरूलाई तिमीहरूले बोलाउनेछौ, र तिमीहरूलाई नचिन्‍ने जातिहरू तिमीहरूकहाँ हतार-हतार गरी आउनेछन्‌। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।”

6 जबसम्‍म परमप्रभुलाई पाउन सक्‍छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट।

7 दुष्‍टले आफ्‍नो बाटो र अधर्मीले आफ्‍नो विचार त्‍यागोस्, र परमप्रभुतिर फर्कोस्, र उहाँले त्‍यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्‍वरतर्फ त्‍यो फर्कोस्, र उहाँले त्‍यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ।

8 “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

9 जसरी आकाश पृथ्‍वीभन्‍दा अल्‍गो छ, त्‍यसरी नै मेरा चाल तिमीहरूका चालभन्‍दा र मेरा विचार तिमीहरूका विचारभन्‍दा अल्‍गा छन्‌।

10 जसरी वृष्‍टि र हिउँ आकाशबाट झर्छ र त्‍यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्‍छ,

11 त्‍यसरी नै मेरो मुखबाट निस्‍कने मेरो वचन पनि हुनेछ। त्‍यो मकहाँ व्‍यर्थै फर्कनेछैन, तर मैले इच्‍छा गरेको काम त्‍यसले पूरा गर्नेछ, र जुन कामको निम्‍ति म त्‍यसलाई पठाउँछु, त्‍यसमा त्‍यो सफल हुनेछ।

12 तिमीहरू आनन्‍दसाथ जानेछौ, र शान्‍तिमा डोर्‍याइनेछौ। पर्वतहरू र डाँड़ाहरू तिमीहरूका सामुन्‍ने गीत गाउनेछन्, र मैदानका सारा रूखहरूले ताली बजाउनेछन्‌।

13 तब काँढ़ाको सट्टा सल्‍लो, सिउँड़ीको सट्टा असारे-फूलको रूख उम्रनेछ। त्‍यो परमप्रभुका ख्‍यातिको निम्‍ति हुनेछ। त्‍यो कहिल्‍यै नष्‍ट नहुने सदासर्वदाको चिन्‍हको निम्‍ति हुनेछ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy