Online Bible

- Reklamy -

यशैयाको पुस्तक 53 - नेपाली नयाँ संशोधित संस्करण

1 हाम्रो समाचार कसले विश्‍वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?

2 ऊ उहाँको सामु कलिलो बोटजस्‍तो र सुक्‍खा जमिनबाट निस्‍केको जरोजस्‍तो बढ़्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्‍दरता न त महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन।

3 ऊ मानिसहरूबाट घृणित थियो र इन्‍कार गरियो, अफसोसमा परेको मानिस र कष्‍टसित परिचित। ऊ त्‍योजस्‍तो थियो, जसलाई देखेर मानिसहरू आफ्‍ना मुख फर्काउँछन्‌। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।

4 निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं।

5 तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं।

6 हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्‍नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।

7 ऊ थिचोमिचोमा पर्‍यो, र उसलाई कष्‍ट पर्‍यो, तापनि उसले आफ्‍नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्‍तै ऊ डोर्‍याएर लगियो। आफ्‍नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्‍नो मुख खोलेन।

8 अत्‍याचार र इन्‍साफद्वारा ऊ लगियो। उसका सन्‍तानका बारेमा कसले विचार गर्न सक्‍छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो, र मेरो प्रजाका अपराधको निम्‍ति उसमाथि कुटाइ पर्‍यो।

9 उसको चिहान दुष्‍टहरूसित बनाइयो, र मृत्‍युमा धनीहरू उसको साथमा थिए, यद्यपि उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो।

10 तापनि उसलाई चकनाचूर र कष्‍टमा पार्न परमप्रभुको इच्‍छा थियो, र परमप्रभुले उसको प्राणलाई दोषबलिझैँ बनाउनुभए तापनि, उसले आफ्‍ना छोराछोरीलाई देख्‍नेछ र आफ्‍नो दिन बढ़ाउनेछ र परमप्रभुको इच्‍छा उसकै हातमा उन्‍नत हुनेछ।

11 उसका प्राणको वेदनापछि उसले जीवनको ज्‍योति देख्‍नेछ र सन्‍तुष्‍ट हुनेछ। आफ्‍नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ, र उसले तिनीहरूका अधर्म बोक्‍नेछ।

12 यसैकारण महान्‌हरूसँगै उसलाई पनि म एक भाग दिनेछु, र उसले लूटको माल सामर्थीहरूसित बाँड्‌नेछ। किनभने उसले आफ्‍नो जीवन मृत्‍युमा खन्‍यायो, र ऊ अपराधीहरूको गन्‍तीमा गनियो। किनकि उसले धेरैको पाप बोक्‍यो र उसले अपराधीहरूका निम्‍ति मध्‍यस्‍थता गर्‍यो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy