Online Bible

- Reklamy -

यशैयाको पुस्तक 51 - नेपाली नयाँ संशोधित संस्करण


सियोनको निम्ति अनन्तको उद्धार

1 “हे धार्मिकताको पछि लाग्‍ने र परमप्रभुलाई खोज्‍ने हो, मेरो कुरा सुन। जुन चट्टानबाट तिमीहरू कुँदियौ, र जुन खानीबाट तिमीहरू निकालियौ, त्‍यसलाई हेर।

2 तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्‍माउने सारालाई हेर। मैले बोलाउँदा अब्राहाम एक मात्र थियो, र मैले त्‍यसलाई आशिष्‌ दिएँ र त्‍यसलाई धेरै बनाएँ।

3 परमप्रभुले निश्‍चय नै सियोनलाई सान्‍त्‍वना दिनुहुनेछ, र उहाँले त्‍यसका सब भग्‍नावशेषहरूलाई दयाको दृष्‍टिले हेर्नुहुनेछ। अनि त्‍यसको मरुभूमिलाई अदनझैँ, र त्‍यसको रूखो जमिनलाई परमप्रभुको बगैँचाझैँ बनाउनुहुनेछ। हर्ष र आनन्‍द, धन्‍यवाद र गीतको सोर त्‍यसमा पाइनेछ।

4 “हे मेरो प्रजा हो, मेरो कुरा सुन। हे मेरो जाति हो, मेरो कुरामा कान थाप। मबाट व्‍यवस्‍था निस्‍कनेछ, र मेरो न्‍याय जाति-जातिहरूका निम्‍ति ज्‍योति हुनेछ।

5 मेरो धार्मिकता चाँड़ै नजिक आउँछ, मेरो उद्धार बाटैमा आउँदैछ, र मेरो बाहुबलले जातिहरूकहाँ न्‍याय ल्‍याउनेछु। टापूहरूले मलाई हेर्नेछन्, र मेरो बाहुबलमा तिनीहरूले आशा राख्‍नेछन्‌।

6 तिमीहरू आफ्‍ना आँखा माथि आकाशतिर उठाओ, र तल पृथ्‍वीलाई हेर। आकाश धूवाँझैँ लोप हुनेछ, र पृथ्‍वी लुगाझैँ झुत्रो हुनेछ, र त्‍यसमा बस्‍नेहरू झीँगाजस्‍तै मर्नेछन्‌। तर मेरो उद्धार सदासर्वदै रहनेछ, र मेरो धार्मिकता कहिल्‍यै खतम हुनेछैन।

7 “जे असल छ त्‍यो जान्‍नेहरू, र तिमीहरू जसको हृदयमा मेरो व्‍यवस्‍था छ, मेरो कुरा सुन। मानिसहरूको निन्‍दादेखि नडराओ, न त तिनीहरूको गिल्‍लादेखि भयभीत होओ।

8 किनकि लुगा खाएझैँ कीराले तिनीहरूलाई खानेछन्‌। ऊन खाएझैँ कीराले तिनीहरूलाई खानेछन्‌। तर मेरो धार्मिकता सदाको निम्‍ति रहनेछ, मेरो उद्धार पुस्‍तादेखि पुस्‍तासम्‍मै।”

9 जाग्, जाग्‌! हे परमप्रभुको बाहु, शक्ति धारण गर्, र प्राचीनकालमा झैँ, उहिलेका पुस्‍ताहरूको समयमा झैँ जाग्‌। के तपाईं त्‍यही हुनुहुन्‍न, जसले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो, र त्‍यस अजिङ्गरलाई वारपार छेड्‌नुभयो?

10 के तपाईं त्‍यही हुनुहुन्‍न, जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो, र आफूले उद्धार गर्नुभएकाहरू पार गर्नका निम्‍ति समुद्रको गहिराइमा बाटो बनाइदिनुभयो?

11 परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्केर आउनेछन्‌। तिनीहरू सियोनमा गीत गाउँदै पस्‍नेछन्, र तिनीहरूका शिरको मुकुट सदासर्वदाको आनन्‍द हुनेछ। तिनीहरूले आनन्‍द र हर्ष प्राप्‍त गर्नेछन्‌। अनि शोक र सुस्‍केरा दूर हुनेछ।

12 “तिमीहरूलाई सान्‍त्‍वना दिने म नै हुँ। मरणशील मानिसदेखि, घाँसजस्‍तै ओइलाउने मानिसका सन्‍तानदेखि डराउने तँ को होस्‌?

13 आकाशलाई फैलाउनुहुने र पृथ्‍वीको जग बसाल्‍नुहुने आफ्‍ना सृष्‍टिकर्तालाई भुलेर अत्‍याचारीका क्रोधको कारण, जसले तँलाई नाश गर्न खोज्‍छ, तँ किन दिनदिनै त्रासमा जीवन बिताउँछस्‌?

14 झुकेर लत्रक्‍क परेका कैदीहरू चाँड़ै मुक्त हुनेछन्‌। तिनीहरू झ्‍यालखानको खोरभित्र मर्नेछैनन्, न त तिनीहरूलाई खानेकुराको कमी हुनेछ।

15 किनकि म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले समुद्रलाई घोल्‍छ, र छालहरू गर्जन्‍छन्‌। उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो।

16 मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु र मेरो हातको छायाले तँलाई ढाकेको छु— मैले आकाशलाई त्‍यसको ठाउँमा राखेको छु, र पृथ्‍वीको जग बसालेको छु, र सियोनलाई ‘तँ मेरो प्रजा होस्‌’ भनेको छु।”


परमप्रभुको क्रोधको कचौरा

17 ए यरूशलेम, तँ जसले परमप्रभुको हातबाट उहाँको क्रोधको कचौरा पिएको छस्, र धरमराइदिने कचौराबाट पिएर त्‍यो रित्त्याएको छस्, तँ जाग्, तँ जाग्‌।

18 त्‍यसले जन्‍माएका सबै छोराहरूमध्‍ये त्‍यसलाई डोर्‍याउने कोही पनि थिएन। त्‍यसले हुर्काएका छोराहरूमध्‍ये त्‍यसलाई हातमा समातेर लैजाने कोही थिएन।

19 यी दुई विपत्ति तँमाथि आइलागेका छन्‌— तँलाई कसले सान्‍त्‍वना दिन सक्‍छ? उजाड़ र नाश, अनिकाल र तरवार— कसले तँलाई सान्‍त्‍वना दिन सक्‍छ?

20 तेरा छोराहरूले त मूर्च्‍छा खाएका छन्‌। जालमा परेको चित्तलझैँ तिनीहरू सड़कका कुइन्‍याटोमा पड़िरहेका छन्‌। तिनीहरू परमप्रभुको क्रोध र तेरा परमेश्‍वरको हप्‍काइले पूरा भरिएका छन्‌।

21 यसैकारण यो कुरा सुन्, तँ दु:खित र मात्तिएकी, तर दाखमद्यले त होइन।

22 तेरा परमप्रभु, तेरा परमेश्‍वर, जसले आफ्‍ना प्रजालाई रक्षा गर्नुहुन्‍छ, उहाँ यो भन्‍नुहुन्‍छ: “हेर्, मैले तेरो हातबाट त्‍यो धरमराइदिने कचौरा लिएको छु, त्‍यो मेरो क्रोधको कचौरा! तैंले त्‍यो फेरि कहिल्‍यै पिउनेछैनस्‌।

23 म त्‍यो तँलाई सताउनेहरूका हातमा दिनेछु, जसले तँलाई भने, ‘घोप्‍टो पर्, र हामी तँमाथि टेकेर हिँड़ौं’। अनि तैंले चाहिँ आफ्‍नो पीठ भूइँ र हिँड्‌ने सड़कजस्‍तै तुल्‍याइदिइस्‌।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy