यशैयाको पुस्तक 49 - नेपाली नयाँ संशोधित संस्करणपरमप्रभुको दास 1 हे टापूहरू हो, मेरो कुरा सुन। हे टाढ़ाका जातिहरू हो, यो कुरा सुन। जन्मनुभन्दा अघि परमप्रभुले मलाई बोलाउनुभयो। मेरो जन्मदेखि नै उहाँले मेरो नाउँको चर्चा गर्नुभएको छ। 2 उहाँले मेरो मुख लाग्ने तरवारजस्तै बनाउनुभयो। उहाँले मलाई आफ्नो हातको छहारीमुनि लुकाउनुभयो। उहाँले मलाई चिल्लो र टल्कने काँड़ बनाउनुभयो, र मलाई आफ्नो ठोक्रोमा लुकाइराख्नुभयो। 3 उहाँले मलाई भन्नुभयो, “तँ मेरो दास इस्राएल होस्। तँमा नै मेरो ऐश्वर्य म प्रकट गर्नेछु।” 4 तर मैले भनें, “मैले केही अभिप्राय नराखी परिश्रम गरें। मैले व्यर्थमा र शून्यताको लागि मेरो बल खर्च गरें। तापनि जे मैले पाउनुपर्छ, त्यो परमेश्वरको हातमा छ, र मेरो प्रतिफल मेरा परमेश्वरसित छ।” 5 अब परमप्रभु भन्नुहुन्छ— जसले मलाई उहाँको दास हुन, याकूबलाई फेरि उहाँकहाँ ल्याउन, र इस्राएललाई उहाँकहाँ जम्मा गर्न गर्भदेखि नै रच्नुभयो, किनकि परमप्रभुको दृष्टिमा म मानको गनिएको छु, र मेरा परमेश्वर मेरो बल हुनुभएको छ— 6 उहाँ भन्नुहुन्छ: “याकूबका कुलहरूलाई फेरि पुनर्स्थापन गर्न र इस्राएलको बाँकी भागलाई फेरि फर्काई ल्याउन तँ मेरो दास हुने कुरो तेरो लागि अति सानो कुरो छ। पृथ्वीको पल्लो छेउसम्म तैंले मेरो उद्धार पुर्याओस् भनी अन्यजातिहरूकहाँ एउटा ज्योति पनि म तँलाई बनाउनेछु।” 7 शासकहरूका दास, जसलाई जाति-जातिहरूले तुच्छ ठाने र घृणा गरे, त्यसलाई परमप्रभु, उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ: “राजाहरूले तँलाई देख्नेछन् र खड़ा हुनेछन्। राजकुमारहरूले देख्नेछन् र तेरो अघि घोप्टो पर्नेछन्। किनभने विश्वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्नुभएको छ।” इस्राएलको पुनर्स्थापना 8 परमप्रभु यसो भन्नुहुन्छ: “निगाहको समयमा म तँलाई जवाफ दिनेछु, र उद्धारको दिनमा तँलाई म सहायता दिनेछु। देश पुनर्स्थापित गर्न र त्यसको नष्ट भएका जायजातहरू फेरि अधिकारको निम्ति दिन म तँलाई जोगाइराख्छु र मानिसहरूका निम्ति तँलाई करार बनाउँछु, 9 कैदीहरूलाई ‘निस्केर आओ,’ र अन्धकारमा हुनेहरूलाई ‘मुक्त होओ’ भन्न। तिनीहरूले बाटोको छेउमा खानेछन्, र सबै रूखा डाँड़ाहरूमा तिनीहरूले खर्क पाउनेछन्। 10 तिनीहरू न त भोकाउनेछन् न तिर्खाउनेछन्, न मरुभूमि वा सूर्यको रापले तिनीहरूलाई पोल्नेछ, किनकि तिनीहरूमाथि कृपा गर्नेले तिनीहरूलाई डोर्याउनुहुनेछ र पानीको धारानेर तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ। 11 म मेरा सबै पर्वतहरू बाटो बनाइदिनेछु, र मेरा मूलबाटाहरू उच्च पारिनेछन्। 12 हेर, तिनीहरू टाढ़ादेखि आउनेछन्— कोही उत्तरदेखि, कोही पश्चिमदेखि र कोही आश्वानको देशदेखि आउनेछन्।” 13 हे आकाश, आनन्दले चिच्च्याएर गा। हे पृथ्वी, आनन्दित हो। हे पर्वतहरू हो, गला खोलेर गाओ! किनकि परमप्रभुले आफ्नो प्रजालाई सान्त्वना दिनुभएको छ, र कष्ट पाएको उहाँको प्रजामाथि उहाँले टिठ्याउनुहुनेछ। 14 तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्याग्नुभएको छ। मेरा परमप्रभुले मलाई बिर्सनुभएको छ।” 15 “के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र? आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउँदिनँ र? त्यसले बिर्सन पनि सक्छे, तर म त तँलाई बिर्सन सक्दिनँ। 16 हेर्, मैले तँलाई मेरो हत्केलामा खोपेको छु। तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्। 17 तेरा छोराहरू हतार-हतार गरी फर्किआउँछन्, र तँलाई उजाड़ पार्नेहरू तेरो सामुन्नेबाट निस्केर जान्छन्। 18 तेरा आँखा उचालेर चारैतिर हेर्। तेरा छोराहरू सबै जम्मा भएर तँकहाँ आउँछन्। परमप्रभु घोषणा गर्नुहुन्छ, “जस्तो म जीवित छु, तँ गहनाले सिँगारिएझैँ यी सबले सिँगारिनेछस्, र दुलहीले झैँ तैंले यी सबै लगाउनेछस्। 19 “यद्यपि तँ पतित र नष्ट भइस् र तेरो देश रूखो पारियो, तापनि अब तेरा मानिसहरूका लागि तँ साह्रै सानो हुनेछस्, र तँलाई निल्नेहरूचाहिँ धेरै टाढ़ा हुनेछन्। 20 बिछोड़को समयमा जन्मेका तेरा छोराछोरीहरूले तैंले सुन्ने गरी यसो भन्नेछन्, ‘यो जग्गा हाम्रा निम्ति साह्रै सानो भयो। हामीलाई बस्न अझै अरू ठाउँ दिनुहोस्।’ 21 तब तैंले तेरो मनमा भन्नेछस्, ‘यिनीहरूलाई मेरो लागि कसले जन्माए? म बिछोड़मा परेकी, बाँझी, निर्वासित भएकी र त्यागिएकी थिएँ। यिनीहरूलाई मेरो निम्ति कसले पालनपोषण गर्यो? म त एकलै छोड़िएकी थिएँ। तर यिनीहरूचाहिँ कताबाट आए’?” 22 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “हेर, म अन्यजातिहरूलाई हातको इशाराले बोलाउनेछु र मेरो झन्डा जाति-जातिहरूका सामुन्ने खड़ा गर्नेछु। तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा बोकेर ल्याइदिनेछन्, र तेरा छोरीहरूचाहिँ तिनीहरूका काँधमा बोकेर ल्याउनेछन्। 23 राजाहरू तेरा धर्म-बुबा र तिनीहरूका रानीहरू तेरा स्याहार गर्ने आमा हुनेछन्। तिनीहरूले भूइँमा घोप्टो परेर तँलाई दण्डवत् गर्नेछन्, र तेरा खुट्टाको सामुको धूलो चाट्नेछन्। तब तैंले जान्नेछस् कि म परमप्रभु हुँ, मेरो आशा गर्नेहरू निराश हुनेछैनन्।” 24 के योद्धाहरूबाट लूटको माल खोस्न सकिन्छ? अथवा निष्ठुरहरूका हातबाट कैदीहरूलाई छुटाउन सकिन्छ? 25 तर परमप्रभु यो भन्नुहुन्छ: “हो, योद्धाहरूबाट कैदीहरू र निष्ठुरहरूबाट लूटको माल खोस्न सकिन्छ। तँसित झगड़ा गर्नेसँग म झगड़ा गर्नेछु, र तेरा छोराछोरीहरूलाई म बचाउनेछु। 26 तँलाई अत्याचार गर्नेहरूलाई म तिनीहरूको आफ्नै मासु खान लगाउनेछु। दाखमद्यले मातेझैँ तिनीहरू आफ्नै रगतले मात्नेछन्। तब सारा मानिस-जातिले यो कुरा थाहा पाउनेछन्, कि म, परमप्रभु तेरा उद्धारक, मोल तिरेर तँलाई छुटाउने याकूबको शक्तिशाली जन हुँ।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society