Online Bible

- Reklamy -

यशैयाको पुस्तक 48 - नेपाली नयाँ संशोधित संस्करण


हठी इस्राएल

1 “हे याकूबका घराना हो, तिमीहरू, जो इस्राएल नाउँले बोलाइएका छौ, र यहूदाको वंशबाट आएका हौ, यी कुरा सुन। तिमीहरू, जसले परमप्रभुको नाउँमा शपथ खान्‍छौ र इस्राएलका परमेश्‍वरको नाउँमा पुकारा गर्छौ, तर सत्‍यता र धार्मिकतामा होइन—

2 तिमीहरू, जसले पवित्र सहरका नागरिक हौं भनी भन्‍छौ र इस्राएलका परमेश्‍वरमा भर पर्छौ— सर्वशक्तिमान्‌ परमप्रभु नै उहाँको नाउँ हो:

3 मैले पहिलेका कुराहरू धेरै अघि नै बताइदिएँ। ती मेरा मुखबाट निस्‍के, र मैले ती देखाइदिएँ। मैले झट्टै ती गरें, र ती हुन आए।

4 किनभने म जान्‍दथें, कि तिमीहरू कस्‍ता अटेरी थियौ, र तिमीहरूका गर्दनका नसाहरूचाहिँ फलामका जस्‍तै थिए, तिमीहरूको निधार काँसाको जस्‍तो थियो।

5 यसैकारण मैले यी कुरा तँलाई उहिले नै बताइदिएँ। यी हुन आउन अघि नै मैले यी तँलाई भनिदिएँ, ताकि तैंले यसो भन्‍न नपाओस्, ‘मेरा मूर्तिहरूले यी गरेका हुन्, मेरो काठको प्रतिमा र धातुको देवताले यी निर्दिष्‍ट गरेका हुन्‌।’

6 तैंले यी कुरा सुनेका छस्, यी कुरा सबैलाई हेर्‌। के तँ यी स्‍वीकार गर्दैनस्‌? “अब उसो म तँलाई नयाँ कुराहरू बताउनेछु, तैंले नजानेका गुप्‍त कुराहरू।

7 ती अहिले सृष्‍टि गरिएका हुन्, आजभन्‍दा अघि तैंले तिनका विषयमा सुनेको थिइनस्‌। यसैले तैंले भन्‍न सक्दैनस्, ‘हो, मैले ती जानेको थिएँ’।

8 तैंले न त सुनेको थिइस्, न जानेको थिइस्‌। प्राचीन समयदेखि तेरो कान खुलेको थिएन। म जान्‍दछु, कि तँ कस्‍तो धोकेबाज छस्‌। जन्‍मिएको दिनदेखि नै तँ बागी भनिएको थिइस्‌।

9 मेरो आफ्‍नै नाउँको खातिर मैले मेरो क्रोधलाई पोखाउन ढिलो गरें, र मेरो महिमाको खातिर तँलाई बहिष्‍कार नगर्न मैले नै त्‍यो रोकिराखें।

10 हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्‍तो त होइन। मैले तँलाई कष्‍टको भट्टीमा जाँचेको छु।

11 मेरो आफ्‍नै खातिर, मेरो आफ्‍नै खातिर म त्‍यो गर्दछु। म कसरी आफै बदनाम हुन दिन सक्‍छु? मेरो महिमा म अरू कसैलाई दिनेछैनँ।


इस्राएलको छुटकारा

12 “हे याकूब, हे मैले बोलाएको इस्राएल, मेरो कुरा सुन्‌: म त्‍यही हुँ। म आदि हुँ, र म अन्‍त हुँ।

13 मेरो आफ्‍नै हातले पृथ्‍वीका जगहरू बसालेको हो, र मेरो दाहिने हातले आकाश फिँजाएको हो। जब म तिनीहरूलाई बोलाउँछु, ती एकसाथ खड़ा हुन्‍छन्‌।

14 “तिमीहरू सबै जम्‍मा भएर सुन। देवताहरूमध्‍ये कसले यी कुरा अघिबाटै बतायो? परमप्रभुको चुनेको मित्रले बेबिलोनको विरुद्धमा उहाँको अभिप्राय पूरा गर्नेछ, र उहाँको बाहुबल बेबिलोनीहरूका विरुद्धमा हुनेछ।

15 मैले, मैले नै यो भनेको छु। हो, मैले त्‍यसलाई बोलाएको छु। म त्‍यसलाई ल्‍याउनेछु, र त्‍यो आफ्‍नो लक्षित कार्यमा सफल हुनेछ।

16 “मेरो नजिक आओ, र तिमीहरू यो सुन: पहिलो घोषणा गरेदेखि नै मैले गुप्‍तमा भनेको छैनँ। त्‍यो घट्‌ने समयमा म त्‍यहाँ छु।” अनि अब परमप्रभु परमेश्‍वरले मलाई उहाँका आत्‍मासित पठाउनुभएको छ।

17 परमप्रभु, तेरा उद्धारक र इस्राएलका परमपवित्र भन्‍नुहुन्‍छ: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो भलाइको निम्‍ति तँलाई सिकाउँछ, जसले तँ जानुपर्ने बाटोमा तँलाई डोर्‍याउँछ।

18 यदि तैंले मेरा आज्ञाहरू ध्‍यानसित पालन गरेको भए तेरो शान्‍ति नदीझैँ र तेरो धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो।

19 तेरो वंश बालुवासरह हुनेथियो, र तेरा छोराछोरीहरू त्‍यसका कणसरह हुनेथिए। तिनीहरूका नाउँ मबाट कहिल्‍यै काटिनेथिएनन्, र ती मेरो सामुन्‍ने नाश हुनेथिएनन्‌।”

20 बेबिलोनबाट निस्‍केर जाओ। बेबिलोनीहरूबाट भाग। आनन्‍दको सोरले कराउँदै यस कुराको घोषणा गर। पृथ्‍वीको पल्‍लो छेउसम्‍म यो कुरा सुनाओ। तिमीहरू भन, “परमप्रभुले आफ्‍नो दास याकूबलाई मोल तिरेर छुटकारा गर्नुभएको छ!”

21 उहाँले तिनीहरूलाई मरुभूमिबाट भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्‌। उहाँले तिनीहरूका निम्‍ति चट्टानबाट पानी निकालिदिनुभयो। उहाँले चट्टानलाई दुई भाग पार्नुभयो, र पानी बगेर निस्‍क्‍यो।

22 “दुष्‍टहरूलाई शान्‍ति हुँदैन,” परमप्रभु भन्‍नुहुन्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy