Online Bible

- Reklamy -

यशैयाको पुस्तक 47 - नेपाली नयाँ संशोधित संस्करण


बेबिलोनको पतन

1 “हे बेबिलोनकी कन्‍ये-छोरी, तल जा, धूलोमा बस्‌। हे बेबिलोनीहरूकी छोरी, सिंहासनविनै भूइँमा बस्‌। अब उप्रान्‍त तँ कोमल र सुकुमारी भनिनेछैनस्‌।

2 जाँतो लिएर पीठो पिँध्‌। घुम्‍टो हटा, फरिया माथि सार्, नाङ्गो जाँघ देखाएर नदी तर्‌।

3 तेरो नग्‍नता उघारिनेछ। तेरो शर्म प्रकट हुनेछ। म बदला लिनेछु, म कसैलाई छोड्‌नेछैनँ।”

4 हाम्रा उद्धारक सर्वशक्तिमान्‌ परमप्रभु उहाँको नाउँ हो। उहाँ इस्राएलका परमपवित्र हुनुहुन्‍छ।

5 “हे बेबिलोनीहरूकी छोरी, तँ चूप लागेर बस्, अँध्‍यारोमा जा, अब उप्रान्‍त तँ राज्‍य-राज्‍यकी रानी भनिनेछैनस्‌।

6 म मेरो प्रजादेखि रिसाएको थिएँ र मैले मेरो निज भागलाई अपवित्र गरें। मैले तिनीहरूलाई तेरो हातमा दिएँ, तर तैंले तिनीहरूलाई दया देखाइनस्‌। बुढापाकाहरूलाई पनि तैंले आफ्‍नो साह्रै गह्रौँ जुवा बोकाइस्‌।

7 तैंले भनिस्, ‘म सदासर्वदाको निम्‍ति अनन्‍तकी रानी भइरहनेछु!’ तर तैंले यी कुरा विचार गरिनस्, अथवा पछि के हुन्‍छ, त्‍यसको आखिरी नतीजा सम्‍झिनस्‌।

8 “यसकारण ‘हे विलासी, आफ्‍नो सुरक्षामा वेपरवाहसित बस्‍ने, हृदयमा ‘म नै हुँ र मबाहेक अरू कोही छैन, म कहिल्‍यै विधवा हुनेछैनँ, अथवा छोराछोरीहरूको वियोग जान्‍नेछैनँ’ भन्‍ने अब यो कुरा ध्‍यानसित सुन्‌।

9 ‘यी दुई कुरा तँमाथि एकै क्षणमा एकै दिनमा आइपर्नेछन्‌: छोराछोरीहरूका वियोग र विधवापना। तेरो ज्‍यादै टुनामुना र तेरो शक्तिशाली तन्‍त्रमन्‍त्र भए तापनि ती पूर्ण रूपमा तँमाथि आउनेछन्‌।

10 तैंले आफ्‍नो खराबीमाथि भरोसा राखेकी छस्, र ‘कसैले मलाई देख्‍दैन’ भनेकी छस्‌। तेरो ज्ञान र तेरो बुद्धिले तँलाई भ्रममा पारेको छ, जब तैंले आफ्‍नो मनमा भन्‍छेस्, ‘म नै हुँ, मबाहेक अरू कोही छैन’।

11 विपत्ति तँमाथि आइपर्नेछ, त्‍यो तैंले कुन जादूले हटाउने। हानि-नोक्‍सानी तँमाथि आइलाग्‍नेछ, जसलाई तैंले मोल तिरे तापनि टार्न सक्‍दिँनस्‌। तैंले पहिलेबाट थाहा नपाएको सर्वनाश अचानक तँमाथि आइपर्नेछ।

12 “यसर्थ अब तैंले आफ्‍नो बालककालदेखि नै परिश्रमसाथ गरिल्‍याएको तेरो मन्‍त्रतन्‍त्र र थुप्रै टुनामुनामा लागिबस्‌। शायद तँ सफल हुनेछेस्, सायद तैंले डर उत्‍पन्‍न गर्नेछस्‌।

13 तैंले पाएका सबै सल्‍लाहबाट तँ थकित भएकी छस्‌! ज्‍योतिषीहरू, ग्रह हेरेर महिना-महिनामा भविष्‍य बताउनेहरू आऊन्, र तँमाथि आइपर्ने कुराहरूबाट तँलाई बचाऊन्‌।

14 निश्‍चय नै तिनीहरू ठुटाजस्‍तै छन्‌। आगोले तिनीहरूलाई जलाउनेछ। आगोका ज्‍वालाको शक्तिबाट तिनीहरू आफैलाई बचाउन सक्‍दैनन्‌। यहाँ कसैलाई आगो ताप्‍ने भुङ्‌ग्रो हुँदैन, न यहाँ बसेर ताप्‍नलाई आगो हुनेछ।

15 तिनीहरूले तेरो निम्‍ति त्‍यति मात्र गर्न सक्‍नेछन्‌— यी जोसँग तैंले परिश्रम गरेकी थिइस्, र बालककालदेखि व्‍यापार गर्दैआएकी थिइस्‌। तिनीहरू हरेक आफ्‍नै भूलतिर लाग्‍छन्‌। तँलाई कसैले बचाउन सक्‍दैन।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy