Online Bible

- Reklamy -

यशैयाको पुस्तक 45 - नेपाली नयाँ संशोधित संस्करण

1 “परमप्रभुले आफ्‍नो अभिषिक्त कोरेसलाई यही भन्‍नुहुन्‍छ, जाति-जातिहरूलाई पराजित गर्न, राजाहरूलाई हातहतियाररहित तुल्‍याउन, त्‍यसको सामुन्‍ने ढोकाहरू खोल्‍न, र मूल ढोकाहरू बन्‍द हुन नदिन म त्‍यसको दाहिने हात समात्‍छु:

2 म तेरो अगिअगि जानेछु, र पर्वतहरूलाई समतल पार्नेछु। काँसाका ढोकाहरू म टुक्रा-टुक्रा पार्नेछु, र फलामका बारहरू काट्‌नेछु।

3 म परमप्रभु हुँ, म नै इस्राएलका परमेश्‍वर हुँ, मैले नै तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु भनेर तैंले थाहा पाउनलाई म तँलाई अँध्‍यारो ठाउँमा भएको भण्‍डार र गुप्‍त स्‍थानमा जम्‍मा गरेको धन दिनेछु।

4 मेरो दास याकूब, मेरो चुनिएको इस्राएलको खातिर मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको हुँ। तैंले मलाई स्‍वीकार नगरेको भए तापनि मैले तँलाई सम्‍मानको पद दिएको छु।

5 म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन। मबाहेक अरू कोही परमेश्‍वर छैन। तैंले मलाई स्‍वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु,

6 ताकि सूर्योदयदेखि लिएर सूर्यास्‍तसम्‍म मानिसहरूले जानून्‌ कि मबाहेक अरू कोही छैन। म परमप्रभु हुँ, र मबाहेक अरू कोही छैन।

7 मैले उज्‍यालो बनाएँ, र अँध्‍यारोलाई सृष्‍टि गरें। म उन्‍नति ल्‍याउँछु, र संहार सृष्‍टि गर्छु। म, परमप्रभुले नै यी सारा काम गर्छु।

8 “हे माथिको आकाश, धार्मिकताको वृष्‍टि खन्‍या। बादलले त्‍यो बर्साओस्‌। पृथ्‍वी विस्‍तृत रूपमा खोलिओस्, मुक्ति उत्‍पन्‍न होस्, धार्मिकता साथसाथै बढ्‌न पाओस्‌। म, परमप्रभुले नै यो सृष्‍टि गरेको हुँ।

9 “धिक्‍कार त्‍यसलाई, जसले आफ्‍ना सृष्‍टिकर्तासित झगड़ा गर्छ, त्‍यो जो जमिनमा भएका खपटाहरूमध्‍ये एउटा खपटो मात्र हो। के माटोले कुमालेलाई ‘तैंले के बनाइरहेछस्‌?’ भनी सोध्‍छ? के तेरो कामले ‘उसको हातै छैन’ भनी भन्‍छ?

10 धिक्‍कार त्‍यसलाई, जसले बुबालाई भन्‍छ, ‘तपाईंले केलाई जन्‍माउनुभयो? अथवा आमालाई भन्‍छ, ‘तपाईंले के जन्‍माउनुभयो?”

11 “इस्राएलका परमपवित्र र यसका सृष्‍टिकर्ता परमप्रभु भन्‍नुहुन्‍छ: आउने कुराहरूका विषयमा, के तिमीहरू मेरा छोराछोरीहरूका बारेमा प्रश्‍न सोध्‍छौ, अथवा मेरा हातका कामका बारेमा तिमीहरू मलाई हुकुम दिन्‍छौ?

12 पृथ्‍वी मैले नै बनाएको हुँ, र त्‍यसमा मानिसहरूलाई मैले सृष्‍टि गरेको हुँ। मेरै हातले आकाशलाई फिँजाएको हो, र त्‍यसका सारा तारामण्‍डललाई मैले नै ठीक गरी मिलाएको छु।

13 कोरेसलाई मेरो धार्मिकतामा खड़ा गर्नेछु। म त्‍यसका सबै बाटो सीधा पार्नेछु। त्‍यसले मेरो सहर पुनर्निर्माण गर्नेछ, र बन्‍धनमा परेका मेरा सबैलाई मुक्त गर्नेछ, तर दाम लिएर होइन, न त इनाम लिएर, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।”

14 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “मिश्रदेशको उब्‍जनी र कूश देशको व्‍यापार र ती ठूला कदका शेबाका मानिस जातिहरू तँकहाँ आउनेछन्, र ती तेरा हुनेछन्‌। तिनीहरू तेरो पछिपछि आउनेछन्‌। साङ्‌लाले बाँधिएका भएर तिनीहरू तँपट्टि आउनेछन्‌। तिनीहरू तेरो सामुन्‍ने झुक्‍नेछन्, र यसो भनेर तिनीहरूले तँलाई बिन्‍ती गर्नेछन्, ‘निश्‍चय नै परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ। अरू कोही छैन, उहाँबाहेक अरू कोही ईश्‍वर छैन’।”

15 साँच्‍चै तपाईं परमेश्‍वर हुनुहुन्‍छ, जसले आफूलाई लुकाउनुहुन्‍छ, हे परमेश्‍वर, इस्राएलका उद्धारक।

16 मूर्ति बनाउनेहरू सबै शर्ममा पर्नेछन्‌ र तिनीहरूको बेइज्‍जत हुनेछ। तिनीहरू सबैको एकसाथ बेइज्‍जत हुनेछ।

17 तर इस्राएलचाहिँ परमप्रभुद्वारा उहाँको सदासर्वदाको उद्धारद्वारा नै बचाइनेछ। अनन्‍त कालसम्‍म तिमीहरू कहिल्‍यै लज्‍जित हुनेछैनौ, अथवा तिमीहरूको बेइज्‍जत हुनेछैन।

18 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ— उहाँ, जसले आकाश सृष्‍टि गर्नुभयो, उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ, जसले पृथ्‍वीको रूप रच्‍नुभयो र बनाउनुभयो, र त्‍यो बसाल्‍नुभयो, उहाँले त्‍यो खाली हुनलाई सृष्‍टि गर्नुभएन तर उहाँले त्‍यो आबाद गर्नलाई बनाउनुभयो— उहाँ भन्‍नुहुन्‍छ: “म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन।

19 अन्‍धकारको देशमा कहीँबाट मैले गुप्‍तमा बोलेको छैनँ, ‘तिमीहरू मलाई व्‍यर्थमा खोज’ भनी मैले याकूबका सन्‍तानलाई भनिनँ। म, परमप्रभु सत्‍य बोल्‍दछु, म ठीक-ठीक कुरा घोषणा गर्दछु।

20 “तिमीहरू जम्‍मा भएर आओ, एकसाथ नजिक आओ, तिमीहरू जाति-जातिका शरणार्थी हो! काठका मूर्तिहरू बोकिहिँड्‌नेहरू, र बचाउन नसक्‍ने देवताहरूलाई प्रार्थना गर्नेहरू अबोध छन्‌।

21 हुन लागेका कुरा बताओ, त्‍यसलाई प्रस्‍तुत गर। तिनीहरूले आपसमा सल्‍लाह गरून्‌। यो कुरा कसले धेरै वर्षअघि बतायो? उहिलेदेखि यो कसले बतायो? के म, परमप्रभुले होइन र? मबाहेक अरू कोही परमेश्‍वर छैन। धर्मी परमेश्‍वर र उद्धारक, मबाहेक अरू कोही छैन।

22 “मतिर फर्क, र उद्धार पाओ, हे पृथ्‍वीका सबै पल्‍लो छेउका हो, किनकि म परमेश्‍वर हुँ र अरू कोही छैन।

23 मैले आफ्‍नो जीवनको शपथ खाएको छु, सारा ईमानदारीमा मेरो मुखबाट एउटा वचन उच्‍चारण गरिएको छ, जो फेरि फिर्ता लिइनेछैन। हरेक घुँड़ा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ।

24 मेरो विषयमा तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभुमा मात्र धार्मिकता र शक्ति छ’।” उहाँको विरुद्धमा रीस गर्नेहरू सबै उहाँकहाँ नै आउनेछन्, र लज्‍जित हुनेछन्‌।

25 तर परमप्रभुमा नै इस्राएलका सबै वंश धर्मी पाइनेछन्, र तिनीहरू आनन्‍दले मग्‍न हुनेछन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy