Online Bible

- Reklamy -

यशैयाको पुस्तक 3 - नेपाली नयाँ संशोधित संस्करण


यरूशलेम र यहूदामाथि इन्साफ

1 अब हेर, प्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले यरूशलेम र यहूदाबाट आपूर्ति र समर्थन, भोजन र पानीका सबै आपूर्ति,

2 वीर र योद्धा, न्‍यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र धर्म-गुरु,

3 पचासका कप्‍तान र उच्‍च मानिस, सल्‍लाहकार, निपुण कारीगर र चलाख जादूगरलाई लैजानै लाग्‍नुभएको छ।

4 तिनीहरूमाथि ठिटाहरूलाई म शासक तुल्‍याइदिनेछु, र ससाना बालकहरूले तिनीहरूमाथि शासन गर्नेछन्‌।

5 एउटा मानिसले अर्कालाई दमन गर्नेछ। एउटा मानिस अर्को मानिसको विरुद्ध, छिमेकी छिमेकीको विरुद्ध, बुढापाकाको विरुद्ध ठिटा र आदरणीयको विरुद्धमा तुच्‍छ उठ्‌नेछ।

6 भाइहरूमध्‍येका एउटालाई आफ्‍नै मानिसले आफ्‍नै बुबाकै घरमा पक्रेर भन्‍नेछ, “तिम्रो त पोशाक छ, तिमी हाम्रा नेता होऊ, र यो अवशेषका थुप्रोको जिम्‍मा तिमीले लेऊ!”

7 तर त्‍यस दिन त्‍यसले चर्को सोरमा भन्‍नेछ, “भत्‍केकोलाई बनाउने मेरो त उपाय नै छैन। मेरो घरमा भोजन र लुगाफाटा नै छैन। मलाई मानिसहरूका नेता नबनाऊ।”

8 यरूशलेम धरमरिँदैछ, यहूदाको पतन हुँदैछ, तिनीहरूका वचन र काम परमप्रभुको विरुद्धमा छन्, उहाँको महिमापूर्ण उपस्‍थितिलाई तिनीहरू खुल्‍लमखुल्‍ला विरोध गर्छन्‌।

9 तिनीहरूका अनुहारले नै तिनीहरूका विरुद्धमा गवाही दिन्‍छन्‌। सदोमझैँ तिनीहरू आफ्‍नो पापको प्रदर्शन गर्दछन्‌। तिनीहरू यसलाई लुकाउँदैनन्‌। तिनीहरूलाई धिक्‍कार! तिनीहरूले आफैमाथि सर्वनाश ल्‍याएका छन्‌।

10 धर्मी मानिसहरूलाई भन, कि तिनीहरूलाई असलै हुनेछ, किनकि तिनीहरूले आफ्‍नो सुकर्मको फल भोग्‍नेछन्‌।

11 दुष्‍ट मानिसहरूलाई धिक्‍कार! तिनीहरूमाथि सर्वनाश परेको छ, किनकि तिनीहरूका हातले गरेको कामको प्रतिफल तिनीहरूले पाउनेछन्‌।

12 मेरो प्रजालाई युवाहरूले अत्‍याचार गर्दछन्, र स्‍त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्‌। हे मेरा प्रजा, तिमीहरूलाई डोर्‍याउनेहरूले तिमीहरूलाई बरालेर लगेका छन्, र तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्‌।

13 परमप्रभु न्‍यायालयमा आफ्‍नो स्‍थान लिनुहुन्‍छ, आफ्‍नो प्रजाको इन्‍साफ गर्नलाई उहाँ उठ्‌नुहुन्‍छ।

14 आफ्‍ना प्रजाका धर्म-गुरुहरू र शासकहरूका विरुद्धमा परमप्रभुले न्‍याय गर्नुहुन्‍छ। “मेरो दाखबारी नष्‍ट पार्ने तिमीहरू नै हौ। गरीबहरूलाई लुटेका माल तिमीहरूकै घरमा छन्‌।

15 तिमीहरूले मेरा प्रजालाई दबाएको र गरीबहरूका अनुहारलाई पिँधेको मतलब के हो?” प्रभु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।


यरूशलेममा विलासी स्‍त्रीहरूको दुर्दशा

16 परमप्रभु भन्‍नुहुन्‍छ, “सियोनका स्‍त्रीहरू अहङ्कारी छन्, र मुण्‍टो ठाड़ो गर्दै, चञ्‍चले आँखा गर्दै, कल्‍ली पहिरी छमछम गर्दै ससाना कदम चालेर हिँड्‌छन्‌।

17 यसकारण परमप्रभुले सियोनका स्‍त्रीहरूका टाउकोमा घावै-घाउ भरिदिनुहुन्‍छ। परमप्रभुले तालु खुइले बनाइदिनुहुन्‍छ।”

18 त्‍यस दिन परमप्रभुले तिनीहरूका सिङ्गारका गहनाहरू, अर्थात्‌ चुरा र शिरबन्‍दी, चन्‍द्रहार,

19 कुण्‍डल, बाला, झुम्‍का,

20 मुकुट-घुम्‍टा, कल्‍ली, पटुका, अत्तरदानी र जन्‍तर,

21 छाप-औँठी र नत्‍थ,

22 सुन्‍दर पोशाक, अलखा, कोट र थैली,

23 हाते-ऐना र मसिनो मलमल, मुकुट र दोसल्‍लाहरू हटाउनुहुनेछ।

24 सुगन्‍धित मसलाको सट्टामा सड़ेको दुर्गन्‍ध हुनेछ, र पटुकाको सट्टामा डोरी, राम्ररी बाटेको कपालको सट्टामा मुडुली हुनेछ, सुन्‍दर वस्‍त्रको सट्टामा भाङ्‌ग्राको लुगा र सुन्‍दरताको सट्टामा डामै-डाम हुनेछ।

25 तेरा मानिसहरू तरवारले मारिनेछन्, तेरा वीरहरू लड़ाइँमा नष्‍ट हुनेछन्‌।

26 सियोनका मूल ढोकाहरूले विलाप गर्नेछन्‌ र रुनेछन्‌। भूइँमा नाङ्गै बसेकी स्‍त्रीजस्‍तै त्‍यो सहर उजाड़ हुनेछ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy