यशैयाको पुस्तक 26 - नेपाली नयाँ संशोधित संस्करणप्रशंसाको गीत 1 त्यस दिन यहूदाको देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ। परमेश्वरले त्यसका भित्ता र पर्खाललाई उद्धार बनाउनुहुन्छ। 2 मूल ढोकाहरू खोल र धार्मिक जाति, अर्थात् विश्वास कायम राख्ने जाति पस्न सकून्। 3 जसको मन तपाईंमा अड़िएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ। 4 सदासर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु, परमप्रभु नै सनातनका चट्टान हुनुहुन्छ। 5 उच्चमा बस्नेहरूलाई उहाँले विनम्र तुल्याउनुहुन्छ। उच्च सहरलाई उहाँले होच्याउनुहुन्छ। उहाँले त्यसलाई जमिनको सतहसम्म झारिदिनुहुन्छ। उहाँले त्यसलाई धूलोमा फालिदिनुहुन्छ। 6 खुट्टाले त्यसलाई कुल्चिन्छ, थिचोमिचोमा परेकाहरूका खुट्टा र दरिद्रका पाइलाले कुल्चिनेछ। 7 धर्मीको बाटो सोझो हुन्छ। हे धर्मी जन हो, तपाईंले नै धर्मीको बाटो सोझ्याउनुहुन्छ। 8 हे परमप्रभु, तपाईंका इन्साफको मार्गमा, हामी तपाईंलाई पर्खन्छौं। हाम्रा हृदयको इच्छा तपाईंकै नाउँ र तपाईंकै सम्झनामा छ। 9 राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्माले तपाईंको चाहना गर्दछ। जब तपाईंको न्याय पृथ्वीमा प्रकट हुन्छ, तब संसारका मानिसहरूले धार्मिकता सिक्छन्। 10 दुष्टमाथि अनुग्रह देखाइए तापनि तिनीहरूले धार्मिकता सिक्नेछैनन्। सोझाहरूको देशमा पनि तिनीहरू दुष्ट्याइँ गरी नै रहन्छन्, र परमप्रभुको महिमालाई ख्याल गर्दैनन्। 11 हे परमप्रभु, तपाईंले आफ्नो हात माथि उठाउनुभएको छ, तर तिनीहरूले त्यो देख्दैनन्। आफ्नो प्रजाको निम्ति तपाईंको जोश तिनीहरूले देखून् र लज्जित होऊन्। तपाईंका विरोधीहरूका लागि अलग्गै राखेको आगोले तिनीहरूलाई भस्म पारोस्। 12 हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ। जो हामीले सफलतापूर्वक प्राप्त गर्यौं, ती सबै तपाईंले नै हाम्रा निम्ति गर्नुभएको हो। 13 हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंबाहेक अरू मालिकहरूले हामीमाथि शासन गरे, तर तपाईंका नाउँको मात्र हामी सम्मान गर्छौं। 14 तिनीहरू मरे, अब उप्रान्त तिनीहरू जिउनेछैनन्। बिदा भइसकेका ती आत्माहरू बिउँतनेछैनन्। तपाईंले तिनीहरूलाई सजाय दिनुभयो र नाश गर्नुभयो, र तिनीहरूका सबै सम्झना मेटिदिनुभयो। 15 तपाईंले जातिको वृद्धि गर्नुभएको छ, हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ। तपाईंले स्वयम् महिमा प्राप्त गर्नुभएको छ। तपाईंले देशका सारा सिमाना बढ़ाउनुभएको छ। 16 हे परमप्रभु, दु:खमा तिनीहरू तपाईंकहाँ आए। जब तपाईंले तिनीहरूलाई ताड़ना दिनुभयो, तिनीहरूले मुश्किलले प्रार्थना गुनगुनाउन सके। 17 जन्म दिने बेला नजिक आउँदा जसरी एउटी गर्भवती स्त्री पीडामा पर्दछे, र आफ्नो वेदनामा कराइउठ्छे, त्यसरी नै, हे परमप्रभु, हामी पनि तपाईंको सामुन्ने भएका थियौं। 18 हामीले पनि गर्भधारण गर्यौं, हामी पनि पीडामा पर्यौं, तर हामीले त वायु मात्र जन्मायौं। हामीले पृथ्वीमा उद्धार ल्याउन सकेनौं। संसारका मानिसहरूलाई हामीले जन्म दिएका होइनौं। 19 तर तपाईंका मरिगएका जनहरू जिउनेछन्। तिनीहरूका शरीरको पुनरुत्थान हुनेछ। हे माटोमा बस्ने हो, उठ र आनन्दले कराओ। तपाईंको शीत बिहानको शीतजस्तै छ, पृथ्वीले आफ्ना मरेकाहरूलाई जन्माउनेछ। 20 हे मेरा मानिस हो, जाओ, तिमीहरू आफ्ना कोठाहरूमा पसेर ढोकाहरू थुन। उहाँको क्रोध शान्त नहोउञ्जेल, केही क्षणको निम्ति लुकिबस। 21 हेर, पृथ्वीका मानिसहरूलाई तिनीहरूका पापका निम्ति सजाय दिन परमप्रभु आफ्नो वासस्थानबाट निस्की आउँदैहुनुहुन्छ। पृथ्वीले आफूमाथि पोखाइएको रगत प्रकट गर्नेछ, र मारिएकाहरूलाई अब उप्रान्त पृथ्वीले छिपाउनेछैन। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society