Online Bible

- Reklamy -

यशैयाको पुस्तक 25 - नेपाली नयाँ संशोधित संस्करण


परमप्रभुको प्रशंसा

1 हे परमप्रभु, तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, म तपाईंको नाउँलाई उच्‍च पार्दछु र तपाईंका नाउँको प्रशंसा गर्दछु, किनकि सम्‍पूर्ण विश्‍वासमा तपाईंले आश्‍चर्यका कामहरू गर्नुभयो, ती कामहरू जो धेरै अघि तादिमा योजना गरिएका थिए।

2 तपाईंले सहरलाई ढुङ्गाको थुप्रो बनाइदिनुभएको छ। सुरक्षित नगरलाई ध्‍वंस गर्नुभयो। विदेशीहरूको किल्‍लाहरूले भरिएको सहर अब सहर रहेन। त्‍यो फेरि कहिल्‍यै निर्माण गरिनेछैन।

3 यसैकारण बलिया जातिहरूले तपाईंलाई मान दिनेछन्, र क्रूर जातिहरूका सहरहरूले तपाईंलाई सम्‍मान दिनेछन्‌।

4 तपाईं गरीबहरूका निम्‍ति र दु:खमा परेका दरिद्रहरूका निम्‍ति एउटा शरण हुनुभएको छ, आँधीबेहरीमा शरण र घाममा छाया हुनुभएको छ। किनकि निष्‍ठुरहरूको झोँक पर्खालमा ठोकिएको आँधीझैँ हो,

5 र मरुभूमिमा ताप परेझैँ हो। तपाईंले विदेशीहरूको हल्‍लालाई साम्‍य पार्नुहुन्‍छ। बादलले घामलाई छाया पारेझैँ निष्‍ठुरहरूको गीत तपाईंले बन्‍द गरिदिनुहुन्‍छ।

6 सर्वशक्तिमान्‌ परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्‍ति मीठा-मीठा थोकहरू— छिप्‍पिएको मद्य, असल-असल स्‍वादिष्‍ट थोकहरू, सबैभन्‍दा असल मद्यको भोज लाउनुहुनेछ।

7 उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्‍ने वस्‍त्र र सारा जातिलाई छोप्‍ने तन्‍ना हटाइदिनुहुनेछ।

8 उहाँले मृत्‍युलाई सदाको निम्‍ति निल्‍नुहुनेछ। परमप्रभु परमेश्‍वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्‍वीबाट आफ्‍नो प्रजाको निन्‍दा हटाइदिनुहुनेछ। परमप्रभुले भन्‍नुभएको छ।

9 त्‍यस दिन तिनीहरूले यसो भन्‍नेछन्, “निश्‍चय उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, हामीले उहाँमाथि भरोसा गर्‍यौं र उहाँले नै हामीलाई बचाउनुभयो। उहाँ नै परमप्रभु हुनुहुन्‍छ, उहाँमाथि हामीले भरोसा गर्‍यौं। उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं।”

10 यस पर्वतमा परमप्रभुको हात रहनेछ, तर मोआब उहाँमुनि कुल्‍चीमिल्‍ची हुनेछ, जस्‍तो पराल मलमा कुल्‍चीमिल्‍ची हुन्‍छ।

11 जसरी पौडनेले पौडँदा आफ्‍ना हात फैलाउँछ, त्‍यसरी नै तिनीहरूले त्‍यसमा आफ्‍ना हात फैलाउँछन्‌। तिनीहरूले आफ्‍ना हातको चलाकी देखाए तापनि परमेश्‍वरले तिनीहरूको घमण्‍ड तल झार्नुहुनेछ।

12 तेरा अल्‍गा-अल्‍गा किल्‍ला भएका पर्खालहरू उहाँले भत्‍काइदिनुहुनेछ, र तिनीहरूलाई जमिनमा सोतर पारिदिनुहुनेछ, अर्थात्‌ धूलोमा मिलाइदिनुहुनेछ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy