Online Bible

- Reklamy -

यशैयाको पुस्तक 23 - नेपाली नयाँ संशोधित संस्करण


टुरोसको विषयमा अगमवाणी

1 टुरोसको विषयमा ईश्‍वरवाणी: हे तर्शीशका जहाज हो, विलाप गर, किनकि टुरोस ध्‍वस्‍त पारिएको छ, र त्‍यहाँ कुनै घर अथवा कुनै बन्‍दरगाह छोड़िएको छैन। साइप्रसबाट एउटा कुरा तिनीहरूकहाँ आएको छ।

2 हे टापूका मानिस हो, र हे सीदोनका व्‍यापारी हो! जसलाई सामुद्रिक व्‍यापारीहरूले धनी बनाएका छन्, तिमीहरू चूप लाग।

3 ठूलो पानीमा शिहोरको अन्‍न आयो, नील नदीको कटनी टुरोसको कर थियो। र त्‍यो देश जाति-जातिहरूको बजार भयो।

4 हे सीदोन र समुद्रनेरको किल्‍ला, लज्‍जित होओ, किनकि समुद्रले यसो भनेको छ, “म न त सुत्‍केरी वेदनामा परेकी छु, न मैले बालक जन्‍माएकी छु। मैले न त छोराहरू हुर्काएकी छु, न छोरीहरूलाई बढ़ाएकी छु।”

5 जब समाचार मिश्रदेशमा पुग्‍छ, तब टुरोस सहरको समाचार सुनेर तिनीहरू साह्रै वेदनामा पर्नेछन्‌।

6 तर्शीशमा तरेर जाओ, हे समुद्र किनारका मानिस हो, विलाप गर।

7 के यो तिमीहरूको आमोदप्रमोदको सहर हो, त्‍यो अत्‍यन्‍तै पुरानो सहर, जसका खुट्टाले त्‍यसलाई प्रवास गर्न टाढ़ाका देशहरूमा पुर्‍याए?

8 मुकुटहरू प्रदान गर्ने टुरोस सहर, जसका व्‍यापारीहरू राजकुमारहरू हुन्, जसका पैकारीहरू पृथ्‍वीमा प्रख्‍यात छन्‌। त्‍यसको विरुद्धमा कसले यस्‍तो युक्ति रच्‍यो?

9 घमण्‍ड गर्ने त्‍यस सहरको सबै गौरवलाई तुच्‍छ पार्न, पृथ्‍वीका सारा प्रख्‍यातहरूलाई विनम्र तुल्‍याउन सर्वशक्तिमान्‌ परमप्रभुले यो युक्ति रच्‍नुभएको हो।

10 हे तर्शीशकी छोरी, नील नदीको किनारमा जस्‍तै जमिन जोत्‌ किनकि अब तेरो कुनै बन्‍दरगाह रहेन।

11 परमप्रभुले आफ्‍नो हात समुद्रमाथि फैलाउनुभएको छ र त्‍यसका राज्‍यहरूलाई काम्‍न लाउनुभएको छ। उहाँले फोनिकेका किल्‍लाहरू नष्‍ट पार्नलाई आज्ञा दिनुभएको छ।

12 उहाँले भन्‍नुभयो, “हे चूर्ण पारिएका सीदोनकी कन्‍येछोरी, तेरो आमोदप्रमोद अब हुँदैन। उठ्, साइप्रस टापूतिर जा। तैंले त्‍यहाँ पनि केही विश्राम पाउनेछैनस्‌।”

13 बेबिलोनीहरूको देशलाई हेर्‌। त्‍यस जातिको अब कुनै महत्त्व छैन। अश्‍शूरीहरूले त्‍यसलाई मरुभूमिका पशुहरूका निम्‍ति बनाएका छन्‌। तिनीहरूले आफ्‍ना घेरा-मचान खड़ा गरे, तिनीहरूले त्‍यसका किल्‍लाहरू उजाड़ पारी त्‍यसलाई भत्‍काइदिए र भग्‍नावशेष तुल्‍याइदिए।

14 हे तर्शीशका जहाज हो, विलाप गर, तिमीहरूको किल्‍ला नष्‍ट पारिएको छ।

15 त्‍यस समय टुरोस सत्तरी वर्षसम्‍म, अर्थात्‌ एउटा राजाको जीवन अवधिसम्‍म बिर्सिनेछ। तर सत्तरी वर्ष बितेपछि टुरोसको दशा एउटी वेश्‍याको गीतजस्‍तै हुनेछ।

16 “हे बिर्सिएकी वेश्‍या, वीणा लिएर सहरको बीचबाट जा। वीणाको सङ्गीत बजा, धेरै गीत गा, र फेरि तेरो सम्‍झना गरिनेछ।”

17 सत्तरी वर्षको अन्‍तमा परमप्रभुले सोरमाथि निगाह गर्नुहुनेछ, र त्‍यो फेरि आफ्‍नो वेश्‍यावृत्तिको पेशातिर फर्कनेछ, र पृथ्‍वीभरिका सारा राज्‍यहरूसित त्‍यसले व्‍यापार गर्नेछ।

18 तापनि त्‍यसको नाफा र त्‍यसको कमाइ परमप्रभुको निम्‍ति अलग्‍गै छुट्ट्याइनेछ। भण्‍डारमा ती सञ्‍चय गरिनेछैन। त्‍यसका व्‍यापारका नाफाहरू परमप्रभुका मानिसहरूका निम्‍ति प्रशस्‍त खानेकुरा र सुन्‍दर लुगाका निमित्त हुनेछन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy