Online Bible

- Reklamy -

यशैयाको पुस्तक 2 - नेपाली नयाँ संशोधित संस्करण


परमप्रभुको पर्वत

1 आमोजका छोरा यशैयाले यहूदा र यरूशलेमको विषयमा देखेका कुरा यही हो:

2 पछिल्‍ला दिनमा परमप्रभुको मन्‍दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्‍दा मुख्‍य रूपमा स्‍थापना हुनेछ। डाँड़ाहरूभन्‍दा माथि त्‍यो उच्‍च उठाइनेछ, र सबै जातिहरू त्‍यहीँ ओइरिएर आउनेछन्‌।

3 धेरै मानिसहरूले आएर भन्‍नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्‍नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्‌न सकौं।” व्‍यवस्‍था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्‍कनेछन्‌।

4 उहाँले जातिहरूका बीचमा इन्‍साफ गर्नुहुनेछ, र उहाँले धेरै मानिसहरूका झगड़ा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्‍ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्‍ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले लड़ाइँ गर्न तालीम लिनेछन्‌।

5 हे याकूबका घराना, आओ, हामी परमप्रभुको ज्‍योतिमा हिँड़ौं।


परमप्रभुको दिन

6 तपाईंले आफ्‍नो प्रजा, अर्थात्‌ याकूबको घरानालाई त्‍याग्‍नुभएको छ। तिनीहरू पूर्वदेखि आएका अन्‍धविश्‍वासले भरिएका छन्‌। तिनीहरू पलिश्‍तीहरूझैँ जोखना हेराउँछन्‌। तिनीहरू विधर्मीहरूसित हात मिलाउँछन्‌।

7 तिनीहरूको देश सुन र चाँदीले भरिएको छ, तिनीहरूका धनको अन्‍तै छैन। तिनीहरूको देश घोड़ाहरूले भरिएको छ। तिनीहरूका रथहरूको केही गन्‍ती नै छैन।

8 तिनीहरूको देश मूर्तिले भरिएको छ। आफ्‍नै हातका कामलाई तिनीहरू पुज्‍दछन्, तिनीहरूका आफ्‍नै औँलाले बनाएका कुरालाई।

9 यसैले मानिस निहुराइनेछ र मानिस-जातिलाई विनम्र तुल्‍याइनेछ— तिनीहरूलाई क्षमा नगर्नुहोस्‌।

10 परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट पहराभित्र पस, माटोभित्र लुक!

11 मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको शेखी झारिनेछ, त्‍यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ।

12 सबै अहङ्कारीहरू र शेखी गर्नेहरू, र सबै “मै हुँ” भन्‍नेहरूमाथि सर्वशक्तिमान्‌ परमप्रभुको यस्‍तो एक दिन आइपर्नेछ (र तिनीहरू विनम्र तुल्‍याइनेछन्‌),

13 लेबनानका सारा अग्‍ला र उच्‍च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि,

14 सबै पर्वतहरू, र अग्‍ला डाँड़ाहरूमाथि,

15 हरेक उच्‍च धरहरामाथि, र हरेक सुरक्षित पर्खालमाथि,

16 तर्शीशका सबै व्‍यापारी जहाजहरूमाथि, र सबै राजकीय जहाजमाथि।

17 मानिसको घमण्‍ड खसालिनेछ, र मानिसहरूको शेखी झारिनेछ। त्‍यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ,

18 र मूर्तिहरू बिलकुलै लोप हुनेछन्‌।

19 जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, तब परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट मानिसहरू चट्टानका गुफा र पृथ्‍वीका प्‍वालहरूभित्र पस्‍नेछन्‌।

20 त्‍यस दिन मानिसहरूले आफ्‍ना निम्‍ति पुज्‍नलाई बनाएका सुन र चाँदीका मूर्तिहरू छुचुन्‍द्रा र चमेराका अगि फालिदिनेछन्‌।

21 जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, उहाँको भय र उहाँको महामहिम प्रतापबाट तिनीहरू भागेर चट्टानका कन्‍दराहरू र चट्टानका चिराहरूभित्र जानेछन्‌।

22 नाकका प्‍वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्‍यसको मोल नै के छ र?

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy