Online Bible

- Reklamy -

यशैयाको पुस्तक 17 - नेपाली नयाँ संशोधित संस्करण


दमस्‍कसको विरुद्धमा ईश्‍वरवाणी

1 दमस्‍कसको विषयमा ईश्‍वरवाणी: “हेर, दमस्‍कस अब सहरजस्‍तो रहनेछैन। त्‍यो भग्‍नावशेषको थुप्रो हुनेछ।

2 अरोएरका सहरहरू त्‍यागिनेछन्, र ती भेड़ाका बगालका निम्‍ति हुनेछन्, जुनहरू लेट्‌नेछन्, र तिनीहरूलाई कसैले तर्साउनेछैन।

3 एफ्राइमको किल्‍लाले घेरिएको सहर र दमस्‍कसको राजसी शक्ति लोप हुनेछ। अरामको बाँचेको भागचाहिँ इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

4 “त्‍यो दिन याकूबको गौरव लोप हुनेछ, र त्‍यसको शरीरको बोसो घटेर जानेछ।

5 यो कटनी गर्नेले पाकेको अन्‍न बटुलेझैँ, र आफ्‍नो पाखुराले फसलको अन्‍न काटेझैँ, रपाईहरूको बेँसीमा एउटा मानिसले शिला-बाला टिपेझैँ हुनेछ।

6 तापनि जैतून झारेपछि अलि-अलि फलहरू रहेझैँ, त्‍यसमा केही शिला रहनेछ— माथिल्‍लो हाँगाको टुप्‍पामा दुई-तीन वटा फलहरू र फलदायक हाँगाहरूमा चार-पाँच वटा जैतूनका फल रहेझैँ,” परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ।

7 त्‍यस दिन मानिसहरूले आफ्‍ना सृष्‍टिकर्तातिर हेर्नेछन्, र तिनीहरूका आँखा इस्राएलका परमपवित्रतिर लागिरहनेछन्‌।

8 तिनीहरूले आफ्‍ना हातले बनाएका वेदीतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्‍ना औँलाले बनाएका वेदीहरू र अशेरा देवीका खम्‍बाहरूलाई आदर गर्नेछन्‌।

9 त्‍यस दिन इस्राएलीहरूको कारणले तिनीहरूले त्‍यागेका शक्तिशाली सहरहरू झाड़ीहरू र बूटाबूटीझैँ हुनेछन्‌। सबै उजाड़ हुनेछन्‌।

10 तैंले तेरो उद्धार गर्ने परमेश्‍वरलाई बिर्सेको छस्, र चट्टान, अर्थात्‌ तेरो किल्‍लालाई तैंले सम्‍झिनस्‌। यसैकारण, यद्यपि तैंले अति सुन्‍दर बोटहरू रोपिस्‌ र विदेशबाट ल्‍याएका दाखका बोटहरू लगाइस्,

11 र ती रोपेको दिन तैंले ती बढ्‌न पनि लगाउँछस्, र बिहानसम्‍म तेरा बिरुवालाई कोपिला लाग्‍ने बनाउँछस्, तापनि रोगको दिन र निको नहुने पीडाको दिनमा फसल शून्‍य हुनेछ।

12 अहो! धेरै जाति-जातिका खैलाबैला— तिनीहरू समुद्रको गर्जनझैँ गर्जन्‍छन्‌। अहो! जाति-जातिहरूको हल्‍ला— ठूला-ठूला पानीहरू गर्जेझैँ तिनीहरू गर्जन्‍छन्‌।

13 यद्यपि हुर्रिएर आएको पानीको गर्जनझैँ जाति-जातिहरू गर्जन्‍छन्, जब उहाँले तिनीहरूलाई हप्‍काउनुहुन्‍छ, तिनीहरू टाढ़ा भागेर जान्‍छन्, र बतासले उड़ाएको डाँड़ाको भुस र आँधीबेहरीले उड़ाउने झारझैँ खेदिनेछन्‌।

14 साँझमा, एक्‍कासि त्रास! बिहान हुनुभन्‍दा अघि ती रहँदैनन्‌। हामीहरूलाई लुट्‌नेहरूको भाग यस्‍तै हुनेछ, र हामीलाई लूटपीट गर्नेहरूको गति यही हुनेछ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy