Online Bible

- Reklamy -

यशैयाको पुस्तक 16 - नेपाली नयाँ संशोधित संस्करण

1 सेलाबाट मरुभूमिको पारि सियोनकी छोरीको पर्वतमा देशका शासकको निम्‍ति सौगातको रूपमा थुमाहरू पठाओ।

2 गुँड़बाट धकेलिएर यताउता उड़िरहेका चराहरूझैँ अर्नोनका जँघारहरू हुँदो मोआबका स्‍त्रीहरू भएका छन्‌।

3 “हामीलाई सल्‍लाह दिनुहोस्, केही निर्णय दिनुहोस्‌। मध्‍यदिनमा तपाईंको छायालाई रातजस्‍तै बनाउनुहोस्‌। शरणार्थीहरूलाई लुकाउनुहोस्, शरणार्थीहरूलाई धोका नदिनुहोस्‌।

4 मोआबबाट निकालिएकाहरू तपाईंसँग बसून्‌। ध्‍वंसकारीहरूबाट तिनीहरूका निम्‍ति एउटा शरणस्‍थान बन्‍नुहोस्‌।” अत्‍याचारीहरूको अब अन्‍त हुनेछ, र विनाश रोकिनेछ। अत्‍याचारीहरू देशबाट हराउनेछन्‌।

5 प्रेममा एउटा सिंहासन स्‍थापित गरिनेछ, त्‍यसमा दाऊदको घरानाबाट विश्‍वासयोग्‍यसाथ एक मानिस विराजमान हुनुहुनेछ, र उहाँले इन्‍साफ गर्दा न्‍यायको खोजी गर्नुहुनेछ, र धार्मिकताका पक्षको गति तीव्र पार्नुहुनेछ।

6 मोआबका घमण्‍डको कुरा हामीले सुनेका छौं, त्‍यसको अति घमण्‍ड र अहङ्कार, त्‍यसको घमण्‍ड र तुजुक, तर त्‍यसका गर्व व्‍यर्थ छन्‌।

7 यसकारण मोआबीहरू विलाप गर्छन्‌। उनीहरू मोआबकै लागि एकसाथ विलाप गर्छन्‌। कीर-हरेशेतका मानिसहरूका निम्‍ति तिमीहरू रोओ र विलाप गर।

8 हेश्‍बोनका खेतहरू र सिब्‍माका दाखका बोटहरू पनि ओइलाउँछन्‌। जाति-जातिका शासकहरूले त्‍यसका असल-असल बोटहरू खुट्टाले कुल्‍चीमिल्‍ची गरे, जुनहरू पहिले याजेरसम्‍मै पुगेका थिए र मरुभूमिसम्‍मै फैलिएका थिए। त्‍यसका मुना चारैतिर फैलिएर समुद्र पारिसम्‍मै पुगे।

9 यसैकारण म सिब्‍माको दाखका बोटहरूका निम्‍ति याजेर रोएझैँ रुन्‍छु। ए हेश्‍बोन, ए एलाले, मेरो आँसुले म तँलाई भिजाउँछु! तेरा पाकेका फलहरू र फसलका आनन्‍दको होहल्‍ला चकमन्‍न भएको छ।

10 फलका बगैँचाका आनन्‍द र रमाहट लगिन्‍छन्, र दाखको बारीमा कसैले पनि गाउँदैन न त कराउँछ, न दाख-कुण्‍डमा कसैले दाख पेल्‍ने नै छ। किनकि मैले उनीहरूका हर्षको आवाज बन्‍द गरिदिएको छु।

11 मेरो हृदय मोआबको निम्‍ति र मेरो अन्‍तस्‍करण कीर-हरेशेतको निम्‍ति वीणाले झैँ रोई-रोईकन विलाप गर्दछ।

12 जब मोआब आफ्‍नो अल्‍गो स्‍थानमा भक्ति गर्न आउँछ, त्‍यो थाकेर हैरान मात्र हुन्‍छ। प्रार्थना गर्न पूजा-स्‍थानमा आउँदा त्‍यसलाई केही लाभ हुँदैन।

13 मोआबको विषयमा परमप्रभुले पहिले नै भन्‍नुभएको वचन यही हो।

14 तर अब परमप्रभु यसो भन्‍नुहुन्‍छ, “ठेक्‍कामा लिएको नोकरले गनेझैँ, तीन वर्ष भित्रमा मोआबको गौरव र त्‍यसका सबै मानिसहरू तुच्‍छ ठहराइनेछन्‌। त्‍यसका बाँचेकाहरूचाहिँ साह्रै थोरै र कमजोर हुनेछन्‌।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy