यशैयाको पुस्तक 15 - नेपाली नयाँ संशोधित संस्करणमोआबको विरुद्धमा अगमवाणी 1 मोआबको विषयमा ईश्वरवाणी: एकै रातमा मोआबको आर सहर उजाड़ र नष्ट पारियो! एक रातमा मोआबको कीर सहर उजाड़ र नष्ट भयो। 2 दीबोन रुनलाई अल्गा ठाउँहरूमा त्यसको मन्दिरमा उक्लियो। नेबो र मेदबाका निम्ति मोआब डाँको छोड़ी-छोड़ी रुन्छ। हरेक कपाल मुड़ाएको छ, र हरेक दाह्री खौरिएको छ। 3 तिनीहरू सड़कमा भाङ्ग्रा लाएर बस्छन्। उनीहरू सबै घरका कौसीहरू र चोकमा बेसरी विलाप गर्दै रुँदै लम्पसार पर्छन्। 4 हेश्बोन र एला चिच्च्याएर रुन्छन्। उनीहरूको सोर यहसासम्मै सुनिन्छ। यसैकारण मोआबका हतियार भिरेका मानिसहरू चर्को सोरले रुन्छन् र उनीहरूका हृदय व्याकुल भएका छन्। 5 मेरो मन मोआबको निम्ति रुन्छ। त्यसका शरणार्थीहरू सोअरसम्म र एग्लत-शलीशियाहसम्मै भागेर जान्छन्। लूहीतको उकालो बाटोमा उनीहरू रुँदै-रुँदै उक्लन्छन्। होरोनैमको बाटोमा उनीहरू आफ्नो विनाशको विलाप गर्छन्। 6 निम्रीमको पानी सुक्यो, र घाँस ओइलायो। वनस्पति स्वाहा भयो। हरियो भन्ने केही छैन। 7 यसैकारण उनीहरूले प्राप्त गरेका धन-सम्पत्ति र तिनीहरूले थुपारेका धन लहरे-पीपलका घारीको खोला पारि उनीहरूले लान्छन्। 8 उनीहरूका रुवाइको प्रतिध्वनि मोआबको सिमानातिर पुगेको छ, उनीहरूका विलापको सोर एग्लैमसम्म र उनीहरूको शोक बेअर-एलीमसम्मै पुगेको छ। 9 दीबोनको पानी रगतले भरिएको छ, तर म दीबोनमाथि अझ बढ़ी ल्याउनेछु। मोआबका शरणार्थीहरू र देशका बचेकाहरूमाथि म एउटा सिंह ल्याउनेछु। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society