यशैयाको पुस्तक 11 - नेपाली नयाँ संशोधित संस्करणयिशैबाट निस्केको हाँगा 1 यिशैको ठुटाबाट एउटा टुसा निस्कनेछ, त्यसका जराहरूबाट निस्केको हाँगाले फल फलाउनेछ। 2 परमप्रभुका आत्मा उहाँमा रहनुहुनेछ— बुद्धि र समझका आत्मा, सल्लाह र शक्तिका आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा 3 अनि परमप्रभुको भयमा नै उहाँ प्रसन्न हुनुहुनेछ। आँखाले देखेर उहाँले इन्साफ गर्नुहुनेछैन, र कानले सुनेर मात्र निर्णय गर्नुहुनेछैन। 4 तर खाँचोमा परेकाहरूको न्याय उहाँले धार्मिकतासित गर्नुहुनेछ, र पृथ्वीका गरीबहरूका लागि उहाँले न्यायसित फैसला गरिदिनुहुनेछ। आफ्नो मुखको लाठोले उहाँले पृथ्वीलाई हिर्काउनुहुनेछ, र आफ्नो ओठको सासले दुष्टलाई नाश गर्नुहुनेछ। 5 उहाँको पेटी धार्मिकता हुनेछ, र उहाँको कम्मरको पटुका सत्यता हुनेछ। 6 ब्वाँसोचाहिँ थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, सिंह र एक वर्षे पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ। 7 गाई र भालू एकैसाथ चर्नेछन्, र तिनीहरूका बच्चाहरू एकैसाथ ढल्केर बस्नेछन्। र सिंहले गोरुले झैँ पराल खानेछ। 8 दूधे-बालकले गोमन सर्पको कुरको नजिक खेल्नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ। 9 तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैँ पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ। इस्राएल र यहूदाको विजयसाथ आगमन 10 त्यस दिन मानिसहरूका निम्ति यिशैको वंशबाट एउटा झन्डाजस्तै खड़ा हुनेछ। जाति-जातिहरू उहाँकहाँ भेला हुनेछन्, र उहाँको विश्रामको स्थान महिमामय हुनेछ। 11 त्यस दिन परमप्रभुले अश्शूर, तल्लो र माथिल्लो मिश्र, कूश, एलाम, बेबिलोनिया, हमात र समुद्रका टापूहरूबाट आफ्ना प्रजाको बाँकी रहेको भागलाई छुटाउनलाई आफ्नो हात फेरि दोस्रो पल्ट पसार्नुहुनेछ। 12 उहाँले जाति-जातिहरूका निम्ति एउटा झन्डा खड़ा गर्नुहुनेछ, र इस्राएलका निकालिएकाहरूलाई र यहूदाका छरपष्ट भएकाहरूलाई पृथ्वीको चारै दिशाबाट भेला गराउनुहुनेछ। 13 एफ्राइमको शेखी झर्नेछ, र यहूदाका शत्रुहरू नष्ट हुनेछन्। एफ्राइमले यहूदासँग डाह गर्नेछैन, न त यहूदा एफ्राइमको शत्रु हुनेछ। 14 तिनीहरू पश्चिमतिर पलिश्त देशको भिरालोमा वेग हानेर जानेछन्। तिनीहरूले मिलेर पूर्वका मानिसहरूलाई लुट्नेछन्। तिनीहरूले एदोम र मोआबमाथि हात हाल्नेछन्, र अम्मोनीहरू तिनीहरूका अधीनमा हुनेछन्। 15 परमप्रभुले मिश्रदेशको समुद्रको खाड़ीलाई बिलकुलै सुकाउनुहुनेछ। उहाँले यूफ्रेटिस नदीमाथि लूहसित आफ्नो हात चलाउनुहुनेछ, र त्यसलाई सातवटा खोलाहरूमा विभाजन गर्नुहुनेछ र त्यसमा मानिसहरू जुत्ता लाएर सुक्खै तरेर जानेछन्। 16 आफ्ना प्रजाका बाँचेको भागको निम्ति अश्शूरबाट आउनलाई एउटा यस्तो मूलबाटो हुनेछ, जस्तो मिश्रदेशबाट आउँदा इस्राएलको निम्ति भएको थियो। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society