Online Bible

- Reklamy -

होशेको पुस्तक 14 - नेपाली नयाँ संशोधित संस्करण


आशिष्‌ ल्याउनलाई पश्‍चात्ताप

1 ए इस्राएल, परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्केर आओ। तिम्रा पापहरू नै तिम्रो पतनका कारण हुन्‌।

2 वचनहरू लिएर परमप्रभुतिर फर्क। उहाँलाई भन, “हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्, र अनुग्रहपूर्वक हामीलाई ग्रहण गर्नुहोस्, र हामी आफ्‍ना ओठको फल चढ़ाउन सकौं।

3 अश्‍शूरले हामीलाई बचाउन सक्‍दैन। हामी युद्धका घोड़ाहरूमाथि सवार हुनेछैनौं। हामी फेरि कहिल्‍यै आफ्‍नै हातले बनाएका थोकलाई ‘हाम्रा देवताहरू’ भनी भन्‍नेछैनौं, किनकि टुहुराहरूले तपाईंबाट कृपा पाउँदछन्‌।”

4 “तिनीहरू मबाट तर्किगएकामा म तिनीहरूलाई क्षमा गर्नेछु। म तिनीहरूलाई सित्तैँमा प्रेम देखाउनेछु, किनकि मेरो रीस तिनीहरूदेखि फर्केको छ।

5 म इस्राएलको निम्‍ति शीतझैँ हुनेछु। त्‍यो लिली फूलझैँ फुल्‍नेछ। लेबनानको देवदारुझैँ त्‍यसका जरा गड्‌नेछन्‌।

6 त्‍यसका भर्खरै पलाएका मुनाहरू बढ्‌नेछन्‌। त्‍यसको प्रताप जैतूनको रूखझैँ हुनेछ। त्‍यसको बास्‍ना लेबनानको देवदारुझैँ हुनेछ।

7 मानिसहरू फेरि त्‍यसको छहारीमा बस्‍नेछन्‌। मकैझैँ त्‍यो लहलह बढ्‌नेछ र दाखको बोटझैँ त्‍यो फुल्‍नेछ, र त्‍यसको ख्‍याति लेबनानको दाखमद्यजस्‍तै हुनेछ।

8 हे एफ्राइम, मूर्तिहरूसित मेरो के काम? म त्‍यसलाई जवाफ दिनेछु र त्‍यसको वास्‍ता गर्नेछु। म एउटा हरियो सल्‍लोको रूखझैँ छु। मबाटै तँ फलवन्‍त हुनेछस्‌।”

9 को बुद्धिमान्‌ छ? उसले यी कुराहरू याद गर्नेछ। को समझदार छ? त्‍यसले यी कुराहरू बुझ्‍नेछ। परमप्रभुका मार्ग ठीक छन्‌। धर्मी जन तिनैमा हिँड्‌छन्, तर बागीहरू तिनमा ठेस खान्‍छन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy