Online Bible

- Reklamy -

हिब्रू 8 - नेपाली नयाँ संशोधित संस्करण


नयाँ करारका प्रधान पूजाहारी

1 अब हामीले भन्‍न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्‍ता प्रधान पूजाहारी हुनुहुन्‍छ, जो स्‍वर्गमा महान्‌ परमेश्‍वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ।

2 मानिसले होइन, तर परमप्रभुले खड़ा गर्नुभएको पवित्रस्‍थान, साँचो पवित्र वासस्‍थानमा उहाँ सेवक हुनुहुन्‍छ।

3 किनकि हरेक प्रधान पूजाहारी भेटी र बलिदान चढ़ाउन नियुक्त भएका हुन्‍छन्‌। यसकारण यी प्रधान पूजाहारीसँग पनि अर्पण गर्ने केही सामग्री हुनु आवश्‍यक छ।

4 उहाँ यस पृथ्‍वीमै हुनुहुँदो हो त उहाँ पूजाहारी हुनुहुने नै थिएन, किनभने व्‍यवस्‍थाबमोजिम भेटी चढ़ाउने पूजाहारीहरू त छँदैछन्‌।

5 तिनीहरूले स्‍वर्गीय पवित्रस्‍थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्‍थान बनाउन लाग्‍दा परमेश्‍वरको यस्‍तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू।”

6 तर यसै पनि ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा त्‍यतिकै बढ़ी श्रेष्‍ठ छ, जत्तिको उहाँले मध्‍यस्‍थता गर्नुभएको करार पुरानोभन्‍दा उत्तम छ। किनभने यो करारको जग उत्तम प्रतिज्ञाहरूमा बसालिएको छ।

7 किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्‍यकता पर्नेथिएन।

8 किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्‍नुहुन्‍छ, “परमप्रभु भन्‍नुहुन्‍छ, ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु।

9 तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्‍तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्‍याएर ल्‍याएको थिएँ। परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरू मेरो करारमा स्‍थिर भई बसेनन्, यसैले मैले तिनीहरूको वास्‍ता गरिनँ।

10 परमप्रभु भन्‍नुहुन्‍छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु, तिनीहरूका मनमा मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्‍यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌।

11 ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्‍नो छिमेकीलाई वा आफ्‍ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्‍म तिनीहरू सबैले मलाई चिन्‍नेछन्‌।

12 किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र तिनीहरूका पाप फेरि कहिल्‍यै सम्‍झनेछैनँ।”

13 यस करारलाई “नयाँ” भन्‍नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्‍याउनुभयो। र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्‍छ, त्‍यो लोप भएर जानेछ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy