हिब्रू 2 - नेपाली नयाँ संशोधित संस्करणचेताउनी 1 यसकारण जे सुनेका छौं त्यसमाथि हामीले अझ बढ़ी ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट बहकिएर जानेछौं। 2 यदि स्वर्गदूतहरूले घोषणा गरेको सन्देश अटल रह्यो भने, र हरेक अपराध र अनाज्ञाकारिताको निम्ति उचित दण्ड दिइयो भने, 3 तब हामीले यति महान् मुक्तिको वास्ता राखेनौं भने हामी कसरी उम्कौंला? यो मुक्ति सर्वप्रथम प्रभुबाटै घोषणा गरिएको थियो, र उहाँको वचन सुन्नेहरूद्वारा हाम्रा निम्ति पक्का साबित गरियो। 4 परमेश्वरले पनि चिन्हहरू, अचम्मका कामहरू, विभिन्न आश्चर्यकर्महरू र उहाँको आफ्नो इच्छाबमोजिम बाँड़िएका पवित्र आत्माका वरदानहरूद्वारा यस कुराको गवाही दिनुभयो। ख्रीष्ट मुक्तिदाता 5 हामीले कुरा गर्दैआएको त्यो आउँदो संसारलाई परमेश्वरले स्वर्गदूतहरूका अधीनमा राख्नुभएन। 6 धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भनेर गवाही दिइएको छ, “मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? अथवा मानिसको छोरो को हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ? 7 तपाईंले तिनलाई अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याउनुभयो। तपाईंले तिनलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ। 8 तपाईंले सब थोक तिनका चरणमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सब थोक राख्नुहुँदा तिनको अधीनबाहिर केही रहन दिनुभएन। तर यस वर्तमान समयमा सब थोक मानिसको अधीनमा भएको हामी देख्दैनौं। 9 तर हामी येशूलाई देख्तछौं। उहाँ अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याइनुभयो, मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखून्। 10 यो उचित थियो, कि परमेश्वर, जसको निम्ति र जसद्वारा सबै थोकको अस्तित्व छ, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्टहरूद्वारा सिद्ध तुल्याउनुभयो। 11 किनकि पवित्र तुल्याउनुहुने र पवित्र तुल्याइएकाहरू पनि सबै एउटै परिवारका हुन्। त्यसैकारण तिनीहरूलाई भाइ भन्नमा येशू शर्माउनुहुन्न। 12 उहाँ भन्नुहुन्छ, “मेरा भाइहरूका सामुन्ने तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।” 13 र फेरि, “म उहाँमाथि मेरो भरोसा राख्नेछु।” र फेरि उहाँ भन्नुहुन्छ, “हेर, म र परमेश्वरले मलाई दिनुभएका यी छोरा-छोरीहरू।” 14 किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई, अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्, 15 र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्। 16 किनकि साँच्चै नै उहाँले स्वर्गदूतहरूको होइन, तर अब्राहामका सन्तानको वास्ता गर्नुहुन्छ। 17 यसैकारण हरेक कुरामा उहाँ आफ्नै भाइहरूजस्तै बनाइनुपर्यो, र मानिसहरूका पापको प्रायश्चित गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पूजाहारी बन्नुभयो। 18 किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society