Online Bible

- Reklamy -

हिब्रू 12 - नेपाली नयाँ संशोधित संस्करण


परमेश्‍वरको ताडना

1 यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड धैर्यसाथ दौडौं।

2 हाम्रा विश्‍वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्‍ने राखिदिएका आनन्‍दको निम्‍ति अपमानलाई केहीजस्‍तो नठानी क्रूसको कष्‍ट भोग्‍नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ।

3 पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, र तिमीहरू शिथिल नहोओ, अनि हरेस नखाओ।

4 पापको विरुद्धमा तिमीहरूले गरेका सङ्घर्षमा रगत बगाउनुपर्ने अवस्‍थासम्‍म तिमीहरू पुगेका छैनौ।

5 के तिमीहरूले अर्तीका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्‍बोधन गरेको छ? “हे मेरो पुत्र, परमप्रभुको ताड़नालाई हलुका नसम्‍झ, उहाँबाटको दण्‍डमा हरेस नखाऊ,

6 किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ त्‍यसैलाई ताड़ना दिनुहुन्‍छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्‍ड दिनुहुन्‍छ।”

7 ताड़नाको निम्‍ति नै तिमीहरू कष्‍ट सहन्‍छौ। परमेश्‍वरले तिमीहरूसँग छोरालाई झैँ व्‍यवहार गर्नुहुन्‍छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्‍छ र?

8 तर यदि सबै जना सहभागी भएको त्‍यो ताड़ना तिमीहरूले पाएका छैनौ भनेता तिमीहरू आफ्‍ना बाबुका खास छोराहरू होइनौ, तर व्‍यभिचारमा जन्‍मेका छोराहरू हौ।

9 यसबाहेक हामीलाई ताड़ना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गर्‍यौं। के झन्‌ बढ़ी हाम्रा आत्‍माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्‍त गर्दैनौं र?

10 किनकि तिनीहरूले असल ठानेबमोजिम केही दिन हामीलाई ताड़ना दिए। तर हामी उहाँका पवित्रताको सहभागी हुन सकौं भनेर हाम्रो फाइदाको निम्‍ति उहाँले ताड़ना दिनुहुन्‍छ।

11 सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्‍छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्‍तिपूर्ण फल उत्‍पन्‍न गराउँछ।

12 यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ।

13 तिमीहरू हिँड्‌ने बाटो सोझो बनाओ, ताकि लङ्गड़ो गोडा नखुस्‍कोस्, तर निको होस्‌।


परमेश्‍वरलाई इन्‍कार नगर्न चेताउनी

14 सबै मानिसहरूसँग शान्‍तिमा बस्‍ने र पवित्र हुने प्रयत्‍न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्‍न सक्‍दैन।

15 ध्‍यान देओ, कि कुनै मानिस परमेश्‍वरको अनुग्रह प्राप्‍त गर्नदेखि वञ्‍चित नहोस्, ताकि तीतोपनको जरो उम्रेर आईकन त्‍यसले फूट नल्‍याओस्, र धेरै जनालाई अशुद्ध नपारोस्‌।

16 कोही पनि दुराचारी वा एसावजस्‍तै अधर्मी नहोस्, जसले एकछाक भोजनको लागि आफ्‍नो ज्‍येष्‍ठ पुत्रको जन्‍मसिद्ध अधिकार बेचिदियो।

17 तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्‍दा पनि ऊ अस्‍वीकृत भयो। किनकि उसले पश्‍चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्‍यो खोजेको थियो।

18 तिमीहरू एउटा छुन सकिने पर्वतमा आएका छैनौ, र तिमीहरू प्रचण्‍ड अग्‍नि, कालो बादल, घोर अन्‍धकार अथवा आँधीको नजिक पनि आएका छैनौ।

19 तुरहीको ठूलो आवाजको समीप, र एउटा सोरको छेउ पनि तिमीहरू आएका छैनौ, जसका शब्‍द सुन्‍नेहरूले “अब अरू बढ़ी एक वचन पनि नबोलिओस्‌” भनी बिन्‍ती गरे।

20 किनभने “यदि कुनै जनावरले त्‍यो पर्वत छोए, त्‍यसलाई ढुङ्गाले हानेर मार्नू” भन्‍ने आज्ञा तिनीहरूले सहन सकेनन्‌।

21 र त्‍यहाँको दृश्‍य यस्‍तो भयानक थियो, कि मोशाले पनि “म डरले काम्‍दछु” भनेका थिए।

22 तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्‍वरको सहर, स्‍वर्गीय यरूशलेममा, र असंख्‍य स्‍वर्गदूतहरूको आनन्‍द-उत्‍सवमा आएका छौ।

23 स्‍वर्गमा नाउँ दर्ता भएका पहिला जन्‍मेकाहरूका सभामा तिमीहरू आएका छौ। तिमीहरू सबका न्‍यायकर्ता परमेश्‍वरकहाँ, सिद्ध पारिएका धार्मिक मानिसहरूका आत्‍माका बीचमा,

24 र नयाँ करारका मध्‍यस्‍थ येशूको सम्‍मुख तथा छर्किएको त्‍यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्‍दा अझ उत्तम वचन बोल्‍दछ।

25 होशियार बस, जो बोल्‍दैहुनुहुन्‍छ, उहाँलाई तिमीहरू इन्‍कार नगर। किनकि यदि पृथ्‍वीमा चेताउनी दिनुहुनेलाई इन्‍कार गर्नेहरू उम्‍केनन्‌ भने स्‍वर्गबाट चेताउनी दिनुहुनेलाई अस्‍वीकार गर्‍यौं भने हामी कसरी उम्‍कन सक्‍छौं?

26 उहाँको सोरले त्‍यस बेला पृथ्‍वी काम्‍यो, तर अब त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “अझ एक पल्‍ट, पृथ्‍वी मात्र होइन, तर स्‍वर्गलाई समेत म हल्‍लाउनेछु।”

27 “अझ एक पल्‍ट” भन्‍ने वचनले यो देखाउँछ, कि हल्‍लाउन सकिने कुराहरू, अर्थात्‌ सृष्‍टि भएका कुराहरू हटाइनेछन्, तर हल्‍लाउन नसकिने कुराहरू स्‍थिर रहनेछन्‌।

28 यसकारण हल्‍लाउन नसकिने राज्‍य पाएकोमा हामी कृतज्ञ होऔं। त्‍यसैले हामी भक्ति र भयसाथ परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने आराधना चढ़ाऔं।

29 किनभने हाम्रा परमेश्‍वर भस्‍म पार्ने आगो हुनुहुन्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy