उत्पत्ति 47 - नेपाली नयाँ संशोधित संस्करणयोसेफका बुबा र दाजुभाइहरू फारोकहाँ हाजिर भएका 1 तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका भेड़ाबाख्रा, गाईबस्तु र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन् र अहिले उनीहरू गोशेन प्रदेशमा छन्।” 2 तिनले आफ्ना दाजुहरूमध्येबाट पाँच जनालाई लिएर फारोकहाँ हाजिर गराए। 3 फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजूरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौं।” 4 उनीहरूले फारोलाई अझै भने, “हामी यस देशमा बसोबास गर्न आएका छौं, किनकि कनान देशमा घोर अनिकाल परेको हुनाले हजूरका दासहरूलाई भेड़ाबाख्रा चराउने ठाउँ भएन। अब बिन्ती छ, कि हामी हजूरका दासहरूले गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति पाऔं।” 5 फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएछन्। 6 मिश्रदेश तिम्रै अगि छ। देशको सबैभन्दा असल ठाउँमा तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्न देऊ। उनीहरूलाई गोशेन प्रदेशमा नै बस्न देऊ। उनीहरूमध्ये कति लायकका मानिसहरू छन् भनी तिमीले थाहा पायौ भने मेरा गाईबस्तुहरू पनि उनीहरूकै जिम्मामा लगाइदेऊ।” 7 तब योसेफले आफ्ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए। याकूबले फारोलाई आशीर्वाद दिए। 8 फारोले याकूबलाई सोधे, “तपाईंको उमेर कति भयो?” 9 याकूबले भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तीस वर्ष भयो। मेरो यस जीवनका वर्षहरू त थोरै र दु:खमय भएका छन्, हजूर। मेरा पिता-पुर्खाहरूले यस प्रवासको जीवनमा जति दिन उमेर खाएका थिए त्यति त अहिले मेरो पुगेकै छैन।” 10 अनि याकूबले फेरि फारोलाई आशीर्वाद दिए, र फारोको उपस्थितिबाट निस्केर गए। 11 तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए, र फारोको हुकुमअनुसार तिनले मिश्रमा भएका सबैभन्दा असल ठाउँ, अर्थात् रामसेस भन्ने इलाकामा उनीहरूका अधिकारमा जग्गाजमिन दिए। 12 योसेफले आफ्ना बुबा, दाजुभाइहरू र आफ्ना बुबाका परिवारका सबैलाई उनीहरूका बालबच्चाको संख्याअनुसार खानेकुरा दिएर उनीहरूको पालनपोषण गरे। मिश्रदेशको निम्ति योसेफको योजना 13 घोर अनिकालले देश ग्रस्त भएकोले गर्दा देशमा खानेकुरा केही थिएन। अनिकालद्वारा मिश्र र कनान दुवै देश ग्रसित थिए। 14 मिश्र र कनान देशका मानिसहरूले अन्न किनेका सबै रुपियाँ योसेफले जम्मा गरेर फारोकै महलमा राखे। 15 जब मिश्र र कनानमा भएका मानिसहरूले आफ्ना रुपियाँपैसा खर्च गरिसके, तब सबै मिश्रीहरूले आएर योसेफलाई भने, “हामीलाई अन्न दिनुहोस्। तपाईंका आँखाको सामुन्ने हामी किन मरौं? हामीसित भएका रुपियाँपैसा सबै सिद्धिए।” 16 योसेफले तिनीहरूलाई भने, “तिमीहरूका रुपियाँपैसा सिद्धिए भने गाईबस्तु ल्याओ। तिमीहरूका गाईबस्तुका सट्टामा म तिमीहरूलाई अन्न दिउँला।” 17 यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफकहाँ ल्याए, र योसेफले तिनीहरूका घोड़ा, भेड़ा, गाई, गधा आदिका सट्टामा तिनीहरूलाई खानेकुरा दिएर तिनीहरूको हेरचाह गरे। त्यस साल गाईबस्तुका सट्टामा तिनीहरूलाई तिनले अन्न दिए। 18 त्यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हाम्रा रुपियाँपैसा सबै सकिएको कुरा त हजूरलाई थाहै छ। गाईबस्तुका बथान पनि सबै हजूरकै भइसकेका छन्। अब हजूरको लागि हामीसँग हाम्रै जीउ र जग्गाजमिनबाहेक अरू केही छैन। 19 हामी हजूरका आँखाको सामुन्ने किन नष्ट हुने— हामी र हाम्रा जमिन पनि? हामीलाई अन्न दिएर हाम्रा जमिनसमेत हामीलाई किन्नुहोस्, र हामी आफ्ना जग्गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौं। हामीलाई बीउ दिनुहोस्, र हामी जीवित रहनेछौं र हाम्रा जग्गाजमिन पनि उजाड़ हुनेछैन।” 20 यसरी योसेफले मिश्रका सबै जग्गाजमिन फारोको निम्ति किने। त्यहाँ घोर अनिकाल परेको हुनाले सबै मिश्रीहरूले आफ्ना जग्गाजमिन बेचे। यसरी जग्गाजमिन फारोको भयो। 21 मिश्रको एक छेउदेखि अर्को छेउसम्मका सबै मानिसहरूलाई तिनले कमारा बनाए। 22 तर पूजाहारीहरूका जग्गाजमिन तिनले किनेनन्, किनभने पूजाहारीहरूलाई फारोबाट अन्नको हिस्सा तोकिएको थियो, र फारोले दिएकै हिस्साबाट तिनीहरूले खान्थे। त्यसकारण तिनीहरूले चाहिँ आफ्ना जग्गाजमिन बेच्नुपरेन। 23 योसेफले प्रजाहरूलाई भने, “हेर, आज मैले फारोको निम्ति तिमीहरूका जग्गाजमिन र तिमीहरूलाई पनि किनेको छु। अब तिमीहरूका निम्ति बीउ यहाँ छ, र तिमीहरूले जमिनमा बीउ छर। 24 तर फसलको बेलामा उब्जनीको पाँचौँ हिस्सा तिमीहरूले फारोलाई टक्र्याउनुपर्छ। चार हिस्साचाहिँ खेतीलाई बीउको निम्ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्चाले खानका निम्ति तिमीहरूका आफ्नै हुनेछ।” 25 तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ। हजूरको निगाह हामीमाथि रहोस्। हामी फारोका कमारा हुनेछौं।” 26 यसैले मिश्र देशमा जग्गाजमिनको विषयमा योसेफले एउटा ऐन बनाए, जो आजसम्म प्रचलित छ, कि उब्जनीको पाँचौँ हिस्सा फारोको हुन्छ। पूजाहारीहरूका जग्गाजमिन मात्र फारोको भएन। 27 अब मिश्रको गोशेनमा इस्राएलीहरूले बसोबास गरे, र तिनीहरूले त्यहाँका जग्गाजमिन आफ्नो अधिकारमा लिए। अनि त्यहाँ तिनको फलिफाप भएर संख्यामा ज्यादै वृद्धि हुँदैगयो। 28 याकूब मिश्रमा सत्र वर्ष बाँचे। याकूबको जम्मा उमेर एक सय सतचालीस वर्ष भयो। 29 इस्राएलको मर्ने बेला आइपुग्दा तिनले आफ्ना छोरा योसेफलाई बोलाएर भने, “यदि तैंले मलाई श्रद्धा गर्छस् भने दया गरी तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति भक्ति देखाउँछु भनी मसँग प्रतिज्ञा गर्। तैंले मलाई मिश्रदेशमा नगाड्, 30 तर जब म मेरा पिता-पुर्खाहरूसँग सुतिजाउँला तब मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाड़िदे।” तिनले भने, “तपाईंले भन्नुभएबमोजिम म गर्नेछु।” 31 फेरि याकूबले भने, “मसँग शपथ खा।” अनि योसेफले शपथ खाए। तब इस्राएल आफ्नो पलङ्गको सिरानमा घोप्टो परे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society