उत्पत्ति 46 - नेपाली नयाँ संशोधित संस्करणआफ्नो परिवारसित याकूब मिश्रमा गएका 1 तब इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँड़े, र बेर्शेबामा आएर आफ्ना बुबा इसहाकका परमेश्वरको निम्ति बलिदान चढ़ाए। 2 अनि राती दर्शनमा परमेश्वरले इस्राएलसँग बोल्नुभयो, र “याकूब, याकूब” भनी तिनलाई बोलाउनुभयो। अनि तिनले भने, “म यहीँ छु।” 3 उहाँले भन्नुभयो, “म परमेश्वर, तेरा बुबाका परमेश्वर हुँ। मिश्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठूलो जाति बनाउनेछु। 4 म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्चय नै फेरि फर्काइल्याउनेछु, अनि तेरो मृत्यु हुँदा योसेफकै हातले तेरा आँखा छोपिदिनेछ।” आफ्नो हात तेरो आँखामाथि राख्नेछ। 5 त्यसपछि याकूब बेर्शेबाबाट हिँड़े। इस्राएलका छोराहरूले आफ्ना बुबा याकूब, आफ्ना बालबच्चा र आफ्ना परिवारहरूलाई फारोले तिनलाई ल्याउन पठाएका गाड़ाहरूमा चढ़ाएर लगे। 6 आफ्ना गाईबस्तु र कनान देशमा जम्मा गरेका मालसामानहरू लिएर याकूब र तिनका जम्मै परिवार मिश्रमा गए। 7 याकूबले आफ्नो साथमा आफ्ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्तानलाई मिश्रमा लगे। 8 मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात् याकूब र तिनका सन्तानहरूका नाउँ यी नै हुन्: याकूबका जेठा छोरा रूबेन। 9 रूबेनका छोराहरू: हानोक, पल्लु, हेस्रोन र कर्मी। 10 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्नीतर्फका छोरा शौल। 11 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी। 12 यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह। तर एर् र ओनानचाहिँ कनान देशमै मरे। फारेसका छोराहरू हेस्रोन र हामूल थिए। 13 इस्साखारका छोराहरू: तोला, पुवा, याशूब र शिम्रोन। 14 जबूलूनका छोराहरू: सेरेद, एलोन र यहलेल। 15 यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्। लेआबाट याकूबका छोराछोरी जम्मा तेत्तीस जना थिए। 16 गादका छोराहरू: सेफोन, हाग्यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली। 17 आशेरका छोराहरू: यिम्ना, यिश्वा, यिश्वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू हेबेर र मल्कीएल थिए। 18 लाबानले आफ्नी छोरी लेआलाई दिएकी कमारी जिल्पापट्टिका याकूबका छोराछोरी यी नै हुन्। यिनीहरू जम्मा सोह्र जना थिए। 19 याकूबकी पत्नी राहेलका छोराहरू: योसेफ र बेन्यामीन। 20 ओनका पूजाहारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए। 21 बेन्यामीनका छोराहरू: बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द। 22 राहेलबाट जन्मेका याकूबका छोराहरू यी नै हुन्। यिनीहरू जम्मा चौध जना थिए। 23 दानका छोरा: हुशीम। 24 नप्तालीका छोराहरू: यहसेल, गुनी, येसेर, र शिल्लेम। 25 लाबानले आफ्नी छोरी राहेललाई दिएको कमारी बिल्हाले याकूबबाट जन्माएका छोराहरू यी नै हुन्। यिनीहरू जम्मा सात जना थिए। 26 याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्ना निज सन्तान जम्मा छयसट्ठी जना थिए। 27 मिश्रमा जन्मेका योसेफका छोराहरूचाहिँ दुई जना थिए। मिश्रमा आउने याकूबका घरका सबै जम्मा सत्तरी जना थिए। 28 गोशेनमा तिनलाई भेट्न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्नो अगि पठाए। 29 योसेफले आफ्नो रथ तयार गर्न लगाए र गोशेनसम्म आफ्ना बुबा इस्राएललाई भेट गर्न आए। तिनको अगि योसेफ देखा पर्ने बित्तिकै तिनले आफ्ना बुबालाई अँगालो हालेर धेरै बेरसम्म रोए। 30 इस्राएलले योसेफलाई भने, “मैले तेरो मुख देखेर तँ जीवितै रहेको जान्न पाएकोले अब म सन्तोषसित मर्छु।” 31 योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई खबर दिन्छु र उनलाई भन्नेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्। 32 उनीहरू सबै गाईबस्तु पाल्ने भएकाले गोठाला हुन्। उनीहरूले आफ्ना सबै बगाल र बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्।’ 33 जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्दा के हो?’ भनी सोध्छन्, 34 तब तपाईंहरूले भन्नुहोस्, ‘हजूरका दासहरू हामी बाबु-छोराहरू हाम्रा बाल्यावस्थादेखि अहिलेसम्म गाईबस्तु पाल्ने हौं।’ अनि तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने मिश्रीहरू सबै गोठालाहरूलाई घृणा गर्छन्।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society