उत्पत्ति 40 - नेपाली नयाँ संशोधित संस्करणफारोका नोकरहरूका सपना 1 केही समयपछि मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउनेले आफ्ना मालिक मिश्रका राजाको विरुद्धमा अपराध गरे। 2 फारो आफ्ना यी दुई अधिकृतहरू, अर्थात् मुख्य पियाउने र मुख्य पकाउनेसँग क्रोधित भए। 3 उनले उनीहरूलाई अङ्गरक्षकका कप्तानको घर, अर्थात् झ्यालखानको पहरामा हालिदिए। योसेफ पनि त्यहीँ नै थुनामा थिए। 4 अङ्गरक्षकका कप्तानले उनीहरूलाई योसेफको जिम्मामा राखिदिए, र तिनले उनीहरूको रेखदेख गर्थे। केही समयसम्म उनीहरू पहरामा नै बसे। 5 एक पल्ट एकै रात झ्यालखानमा परेका मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउने दुवैले आ-आफ्नो अर्थ भएका सपना देखे। 6 बिहान आउँदा योसेफले उनीहरूलाई अफसोस गरिरहेका देखे। 7 यसकारण तिनले आफ्ना मालिकको कैदमा रहेका फारोका ती दुई अधिकृतहरूलाई सोधे, “आज किन तपाईंहरूको मुख दु:खी छ?” 8 उनीहरूले तिनलाई भने, “हामीले सपना देख्यौं, तर तिनको अर्थ खोलिदिने कोही पनि छैन।” योसेफले उनीहरूलाई भने, “सपनाको अर्थ त परमेश्वरकै हातमा हुँदैन र? मलाई तपाईंहरूका सपना बताउनुहोस्।” 9 तब मुख्य पियाउनेले चाहिँ आफ्नो सपना योसेफलाई यसरी बताए। “मेरो सपनामा मेरो सामुन्ने एउटा दाखको बोट थियो। 10 दाखको बोटमा तीन वटा हाँगाहरू थिए। त्यसमा टुसा पलाएपछि फूलहरू पनि ढकमक्क लागे, र दाखका झुप्पाहरू लटरम्म भएर पाके। 11 फारोको कचौरा मेरो हातमा थियो, र मैले दाख लिई निचोरेर फारोको कचौरामा हालेँ, र त्यो कचौरा फारोको बाहुलीमा टक्र्याएँ।” 12 योसेफले उनलाई भने, “यसको अर्थ यही हो; तीन हाँगाहरू भनेको तीन दिन हो। 13 तीन दिनभित्रै फारोले तपाईंको शिर ठाड़ो पारिदिनुहुनेछ, र फेरि तपाईंको आफ्नो काम दिनुहुनेछ, र तपाईं अघि उहाँका मुख्य पियाउने हुनुहुँदाजस्तै फेरि फारोको कचौरा उहाँको बाहुलीमा टक्र्याउनुहुनेछ। 14 तर जब तपाईंको भलो हुनेछ तब मलाई पनि सम्झनुहोला। कृपा गरी फारोसँग मेरो विषयमा कुरा उठाएर मलाई यस झ्यालखानबाट निकालिदिनुहोला, 15 किनकि मलाई वास्तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्याएको हो, र यहाँ पनि झ्यालखानमा पर्ने काम मैले केही गरेको थिइनँ।” 16 सपनाको अर्थ असल भएको देखेर मुख्य पकाउनेले पनि योसेफलाई भने, “मैले पनि यस्तो एउटा सपना देखें। मेरो टाउकोमा रोटीका तीन वटा टोकरी थिए। 17 माथिल्लो टोकरीमा फारोको निम्ति पकाएका अनेक किसिमका खानेकुरा थिए। तर मेरो टाउकोमा भएको टोकरीबाट चराहरूले ठुँगी-ठुँगी खाइरहेका थिए।” 18 योसेफले भने, “यसको अर्थ यही हो: तीन वटा टोकरीहरूचाहिँ तीन दिन हो। 19 तीन दिनभित्रै फारोले तपाईंको शिर उड़ाइदिनुहुनेछ, र तपाईंलाई रूखमा झुण्ड्याइदिनुहुनेछ। र चराहरूले तपाईंको मासु ठुँगी-ठुँगी खानेछन्।” 20 तेस्रो दिन फारोको जन्मदिन थियो। त्यस दिन उनले आफ्ना सबै अधिकृतहरूलाई भोज दिए, र यी अधिकृतहरूका अगि ल्याएर उनले मुख्य पियाउने र मुख्य पकाउनेलाई खड़ा गरे। 21 उनले मुख्य पियाउनेलाई चाहिँ आफ्नै काममा फेरि नियुक्त गरे, र यिनले फारोलाई कचौरा टक्र्याउने गरे। 22 तर योसेफले उनीहरूका सपनाको अर्थ खोलिदिएझैँ मुख्य पकाउनेलाई चाहिँ फारोले झुण्ड्याइदिए। 23 तापनि मुख्य पियाउनेले योसेफलाई सम्झेनन्, तर तिनलाई बिर्सिहाले। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society