Online Bible

- Reklamy -

उत्पत्ति 37 - नेपाली नयाँ संशोधित संस्करण


योसेफका सपनाहरू

1 याकूब आफ्‍ना बाबुले बसोबास गरेको कनान देशमा बस्‍थे।

2 याकूबको वृत्तान्‍त यही हो। योसेफ सत्र वर्षका हुँदा तिनका दाजुहरूसँग भेड़ाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्‍ना पिताका पत्‍नीहरू बिल्‍हा र जिल्‍पाका छोराहरूको खराब व्‍यवहारको कुरा आफ्‍ना बुबाकहाँ ल्‍याए।

3 आफ्‍नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्‍दा योसेफलाई बढ़ी माया गर्थे, र तिनले योसेफको निम्‍ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए।

4 तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्‍दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्‍मनी राखे र तिनीसँग राम्ररी बोल्‍दैनथे।

5 एक पल्‍ट योसेफले एउटा सपना देखे। तिनले त्‍यो सपना आफ्‍ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन्‌ बढ़ी दुश्‍मनी राख्‍न लागे।

6 तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्‍नुहोस्‌। हामीहरू खेतमा अन्‍नका बिटा बाँधिरहेका थियौं।

7 मेरो बिटाचाहिँ ठाड़ो भयो, र तपाईंहरूका बिटाहरू त्‍यसका चारैतिर जम्‍मा भएर मेरो बिटालाई दण्‍डवत्‌ गरे।”

8 तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि राज्‍य गर्ने भइस्‌? के तेरो प्रभुत्‍व हामीमाथि हुने भयो?” अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीसँग झन्‌ दुश्‍मनी राखे।

9 तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, “सुन्‍नुहोस्, मैले अर्को सपना देखें। सूर्य, चन्‍द्र र एघार वटा ताराले मलाई दण्‍डवत्‌ गरिरहेका थिए।”

10 जब तिनले आफ्‍ना बुबा र दाजुहरूलाई यो सपना बताए, तब तिनका बुबाले तिनलाई हप्‍काएर भने, “तैंले देखेको यो सपना के हो? के साँच्‍ची नै म र तेरी आमा र तेरा दाजुहरू आएर भूइँसम्‍मै झुकेर तँलाई ढोग्नुपर्ने?”

11 तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे।


योसेफलाई तिनका दाजुहरूले बेचेर मिश्रमा पठाएका

12 एक पल्‍ट तिनका दाजुहरू आफ्‍ना बुबाका बगालहरू शकेममा चराउन गएका थिए।

13 र इस्राएलले योसेफलाई भने, “तेरा दाजुहरू शकेममा भेड़ाहरू चराइरहेका छन्‌। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” योसेफले भने, “म तयार छु।”

14 इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र भेड़ाबाख्राहरू राम्रै छन्‌ कि छैनन्‌। अनि मकहाँ समाचार ले।” तब इस्राएलले तिनलाई हेब्रोनको बेँसीबाट शकेममा पठाए। योसेफ त्‍यहाँ आइपुगेपछि

15 एक जना मानिसले तिनलाई खेतमा डुलिरहेका भेट्टायो। त्‍यस मानिसले तिनलाई सोध्‍यो, “तिमी कसलाई खोज्‍दैछौ?”

16 तिनले भने, “म मेरा दाजुहरूलाई खोज्‍दैछु। दया गरी मलाई भन्‍नुहोस्, उनीहरू बगाल कहाँ चराउँदैछन्‌?”

17 त्‍यस मानिसले भन्‍यो, “उनीहरू त यहाँबाट गए, किनभने उनीहरूले ‘हामी दोतानतिर जाऔं’ भनिरहेका मैले सुनेको थिएँ।” यसैले आफ्‍ना दाजुहरूलाई खोज्‍दैगएर योसेफले उनीहरूलाई दोतानमा भेट्टाए।

18 उनीहरूले तिनलाई टाढ़ैबाट आइरहेका देखे, र तिनी उनीहरूका नजिक आइपुग्‍नुभन्‍दा अघि नै तिनलाई मार्ने उनीहरूले मतो गरे। उनीहरूले आपसमा भने, “त्‍यो स्‍वप्‍न-दर्शी आउँदैछ।

19 लौ, अब हामी त्‍यसलाई मारेर एउटा खाड़लमा फालिदिऔं।

20 ‘जङ्गली पशुले त्‍यसलाई खाएछ क्‍यारे’ भनी हामी भनौं, र त्‍यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।”

21 यो सुनेर रूबेनले यसो भनेर उनीहरूका हातबाट तिनलाई बचाउन खोजे, “हामीले त्‍यसको ज्‍यानै त लिनुहुँदैन।”

22 रूबेनले उनीहरूलाई भने, “रक्तपातचाहिँ नगरौं। यहाँ मरुभूमिको यस खाल्‍डोमा त्‍यसलाई फालिदिऔं। तर त्‍यसमाथि हातचाहिँ नउठाऔं।” उनीहरूका हातबाट बचाएर योसेफलाई आफ्‍ना बुबाकहाँ पुर्‍याइदिने हेतुले रूबेनले यसो भनेका थिए।

23 यसैले जब योसेफ आफ्‍ना दाजुहरूकहाँ आइपुगे तब तिनले लाएका राम्रा बुट्टाहरू भएको त्‍यो लामो लबेदा उनीहरूले फुकालेर खोसे।

24 अनि उनीहरूले तिनलाई समातेर एउटा गहिरो खाल्‍डोमा फालिदिए। त्‍यो पानी नभएको सुक्‍खा खाल्‍डो थियो।

25 जसै उनीहरू खान बसे, उनीहरूले यसो मास्‍तिर हेरे र मिश्रतिर सुगन्‍धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक इश्‍माएली यात्री दललाई देखे।

26 तब यहूदाले आफ्‍ना दाजुभाइहरूलाई भने, “हामीले आफ्‍नो भाइलाई मारेर त्‍यसको रगत लुकाएर हामीलाई के फाइदा हुन्‍छ र?

27 आओ, अब त्‍यसलाई इश्‍माएलीहरूका हातमा बेचिदिऔं। हामी त्‍यसमाथि हातचाहिँ नउठाऔं। किनकि त्‍यो हाम्रै भाइ, हाम्रै जीउजस्‍तै हो।” उनका दाजुभाइहरूले उनको कुरा माने।

28 यसकारण जब मिद्यानी व्‍यापारीहरू त्‍यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्‍डोबाट तानी निकालेर ती इश्‍माएलीहरूका हातमा चाँदीका बीस सिक्‍कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे।

29 जब रूबेन खाल्‍डोमा फर्के तब योसेफलाई त्‍यस खाल्‍डोमा नदेख्‍दा उनले आफ्‍ना लुगा च्‍याते,

30 र भाइहरूकहाँ गएर भने, “केटो त छैन त? अब म कहाँ जाऊँ?”

31 तब उनीहरूले एउटा बोका मारेर योसेफको लबेदा त्‍यस रगतमा चोपे।

32 अनि त्‍यो राम्रा बुट्टाहरू भएको लबेदा उनीहरूले आफ्‍ना बुबाकहाँ ल्‍याएर भने, “यो हामीले भेट्टायौं। हेर्नुहोस्‌ त, यो तपाईंको छोराको हो कि होइन?”

33 इस्राएलले त्‍यो लुगा चिनेर भने, “यो त मेरो छोराकै लबेदा हो। जङ्गली पशुले त्‍यसलाई खाएछ क्‍यारे! नि‍स्सन्‍देह योसेफलाई धुजाधुजा पार्‍यो होला।”

34 तब याकूबले आफ्‍ना लुगा च्‍याते, र तिनले आफ्‍नो कम्‍मरमा भाङ्‌ग्रा लाएर आफ्‍ना छोराको निम्‍ति धेरै दिनसम्‍म शोक गरे।

35 तिनका सबै छोराछोरीहरूले तिनलाई सान्‍त्‍वना दिने प्रयत्‍न गरे, तर तिनलाई शान्‍ति भएन। तिनले भने, “अँहँ, यो मेरो शोकमा नै म मेरो छोराकहाँ चिहानमा जानेछु।” यसरी योसेफका बुबाले तिनको निम्‍ति बिलौना गरे।

36 यसै बीचमा मिद्यानीहरूले योसेफलाई मिश्रमा फारोका एक जना अधिकृत पोतीफरको हातमा बेचिदिए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy