उत्पत्ति 32 - नेपाली नयाँ संशोधित संस्करणएसावसँग भेट गर्ने याकूबले तयारी गरेका 1 याकूब पनि आफ्नो बाटो लागे, र परमेश्वरका दूतहरूले तिनीसँग भेट गरे। 2 याकूबले उनीहरूलाई देखेर भने, “यो त परमेश्वरको छाउनी हो।” यसकारण तिनले त्यस ठाउँको नाउँ महनोम राखे। 3 याकूबले एदोमका देशको सेइरमा आफ्ना दाजु एसावकहाँ आफ्नो अगि दूतहरू पठाए। 4 याकूबले तिनीहरूलाई यसो भन्ने आज्ञा दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्नू, ‘तपाईंको दास याकूब यसो भन्छ, म लाबानसँग बसोबास गरी अहिलेसम्म त्यहीँ रहें। 5 मसँग गाई-गोरु, गधा, भेड़ाबाख्रा र नोकर-चाकरहरू छन्, र तपाईंबाट निगाह पाइएला भन्ने हेतुले अहिले तपाईंकहाँ मैले बिन्ती गर्न पठाएको हुँ’।” 6 ती दूतहरू याकूबकहाँ फर्केर आई यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौं, र उहाँ तपाईंसँग भेट गर्न चार सय मानिसहरूका साथमा आउँदैहुनुहुन्छ।” 7 तब याकूब साह्रै डराएर आकुल भए। तिनले आफूसँग भएका मानिसहरू, भेड़ाबाख्राका बगालहरू, गाई-गोरुका बथानहरू र ऊँटहरूलाई दुई दलमा विभक्त गरे। 8 “यदि एसाव आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्कन सक्ला” भनी तिनले सोचे। 9 तब याकूबले प्रार्थना गरे, “हे मेरो पिता अब्राहामका परमेश्वर, र मेरो बुबा इसहाकका परमेश्वर, हे परमप्रभु, जसले मलाई ‘तँ तेरै देशमा तेरा कुटुम्बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु’ भन्नुभएको थियो। 10 तपाईंले आफ्नो दासलाई जत्ति करुणा र विश्वासयोग्यता देखाउनुभएको छ त्यसको म कत्ति पनि योग्य छैनँ। किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। तर अहिले मेरा दुई वटा दल भएका छन्। 11 म बिन्ती गर्दछु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्छ, कि उनले आमा, छोराछोरीहरूसमेत हामी जम्मैलाई आक्रमण गर्लान्। 12 तर तपाईंले भन्नुभएको छ, ‘साँच्ची नै म तेरो भलाइ गर्नेछु, र तेरा सन्तानहरू समुद्रका बालुवासरह तुल्याउनेछु, जो गन्न सकिने छैन’।” 13 तिनी त्यस रात त्यहीँ वास बसे, र आफूसँग भएको सम्पत्तिबाट तिनले दाजु एसावको निम्ति सौगात छुट्ट्याए: 14 अर्थात्, दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेड़ी, बीस वटा भेड़ा, 15 तीस दुहुना ऊँट र तिनका बच्चा, चालीस गाई र दश साँढ़े, बीस गधैनी र दश गधा। 16 यी सबैका लागि तिनले बथान गरी आफ्ना कमारीहरूलाई जिम्मा लगाए, र तिनीहरूलाई भने, “मभन्दा अगिअगि जाओ, र बथान-बथानका बीचमा केही खाली ठाउँ राख।” 17 तिनले सबैभन्दा अगिल्लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अगिअगि गएका यी बथानहरू कसका हुन्?’ भनेर सोध्नुभयो भने, 18 तैंले यसो भन्नू: ‘ती त तपाईंका दास याकूबका हुन्। यी जम्मै मेरा प्रभु एसावको निम्ति सौगातको रूपमा पठाएका हुन्। हेर्नुहोस्, तिनीचाहिँ हाम्रा पछिपछि आउँदैछन्’।” 19 तिनले दोस्रो, तेस्रो र बथानका पछिपछि लाग्ने जम्मैलाई आज्ञा दिए: “एसावलाई भेट्दा तिमीहरूले उही किसिमले भन्नू। विशेष गरी तिमीहरूले यसो भन्नू, 20 ‘हेर्नुहोस्, तपाईंका दास याकूब हाम्रा पछिपछि आउँदैछन्’।” किनभने तिनले यस्तो विचार गरे, “मेरो अगिअगि गएको सौगातले म उनको रीस साम्य गर्न सक्छु होला। त्यसपछि म उनको सामु पर्दा शायद उनले मलाई ग्रहण गर्नेछन्।” 21 यसैकारण ती सौगात तिनीभन्दा अगाड़ि गए, र तिनी आफैचाहिँ त्यस रात आफ्नै पालमा बसी बिताए। याकूब र स्वर्गदूतको कुश्ती 22 त्यस रात याकूब उठे, र तिनका दुई पत्नी, दुई कमारी, र एघारै छोराहरूलाई लिएर यब्बोक नदी तरे। 23 तिनले तिनीहरूलाई खोलाको पारि पठाएपछि, त्यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि पठाए। 24 यसरी याकूबचाहिँ एकलै छोड़िए। अनि एक जना व्यक्ति उज्यालो नहोउञ्जेल तिनीसित कुश्ती लड़े। 25 यी व्यक्तिले याकूबलाई जित्न नसकेका देखेर याकूबका कम्मरको खोक्रो भाग छोए, र उनीसित कुश्ती लड्दालड्दै याकूबको कम्मरको गेड़ी फुस्क्यो। 26 तब ती व्यक्तिले भने, “उज्यालो हुन लाग्यो। मलाई जान देऊ।” तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्जेल म तपाईंलाई जान दिन्नँ।” 27 उनले तिनलाई भने, “तिम्रो नाउँ के हो?” तिनले भने, “याकूब।” 28 त्यस व्यक्तिले भने, “अब उप्रान्त तिम्रो नाउँ याकूब होइन तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्वर र मानिसहरूसँग लड़न्त गर्यौ, अनि विजयी भयौ।” 29 तब याकूबले उनलाई सोधे, “बिन्ती छ, मलाई भन्नुहोस्, तपाईंको नाउँ के हो?” तर उनले उत्तर दिए, “मेरो नाउँ तिमी किन सोध्छौ?” अनि उनले तिनलाई आशीर्वाद दिए। 30 यसकारण याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे, किनकि “परमेश्वरको सम्मुखै परे तापनि मेरो ज्यान बाँच्यो” भनी तिनले भने। 31 तिनको कम्मरले गर्दा तिनी खोच्याई-खोच्याई हिँड़ेर पनीएल नाघिसक्दा सूर्योदय भयो। 32 तिनका कम्मरको नसो छोइएको हुनाले आजसम्म इस्राएलीहरू कम्मरको नसो खाँदैनन्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society