उत्पत्ति 22 - नेपाली नयाँ संशोधित संस्करणअब्राहामको विश्वासको जाँच 1 केही समयपछि परमेश्वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्नुभयो, “ए अब्राहाम।” तिनले भने, “म यहीँ छु।” 2 उहाँले भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्।” 3 अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्ना कमाराहरूमध्येका दुई जना र छोरो इसहाकलाई साथमा लिए, र होमबलिको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँड़े। 4 तेस्रो दिन अब्राहामले हेर्दा टाढ़ामा त्यो ठाउँ देखे। 5 तब अब्राहामले आफ्ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।” 6 अब्राहामले होमबलिको दाउरा उठाएर आफ्नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए। 7 इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा।” तिनले भने, “के हो, छोरा?” त्यसले भन्यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?” 8 अब्राहामले भने, “छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए। 9 परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। 10 तब अब्राहामले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए। 11 तर परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु।” 12 उनले भने, “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही नगर्। अब मैले थाहा पाएँ तैले परमेश्वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्।” 13 अब्राहामले माथितिर हेरे र एउटा भेड़ा झाड़ीमा सीङ अल्झेर फसेको देखे। अब्राहामले गएर त्यस भेड़ालाई ल्याए, र तिनका छोराको सट्टामा त्यसैलाई होमबलि गरे। 14 यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ। 15 परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई कराएर भने, 16 परमप्रभु भन्नुहुन्छ, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तँलाई आशिष् दिनेछु। 17 तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह म तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका सहरहरू कब्जा गर्नेछन्। 18 तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्।” 19 त्यसपछि अब्राहाम आफ्ना कमाराहरूकहाँ फर्केर आए, र तिनीहरू उठे र बेर्शेबासम्म सँगसँगै गए। र अब्राहाम बेर्शेबामा बसोबास गरे। 20 केही समयपछि “मिल्काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्माइन्” भन्ने कुरा अब्राहामले सुने: 21 जेठो ऊज, त्यसको भाइ बूज, र आरामका पिता कमूएल, 22 र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल। 23 बतूएल रिबेकाका पिता भए। यी आठै छोरालाई अब्राहामका भाइ नाहोरबाट मिल्काले जन्माइन्। 24 यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्माई। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society