Online Bible

- Reklamy -

उत्पत्ति 20 - नेपाली नयाँ संशोधित संस्करण


अब्राहाम र अबीमेलेक

1 त्‍यहाँबाट अब्राहाम नेगेवतिर गए, र कादेश र शूरको बीचमा बस्‍न लागे। तिनी गरार देशमा बसोबास गरे।

2 त्‍यहाँ अब्राहामले आफ्‍नी पत्‍नी साराको बारेमा भने, “तिनी त मेरी बहिनी हुन्‌।” तब गरारका राजा अबीमेलेकले सारालाई झिकाएर लगे।

3 तर राती सपनामा अबीमेलेककहाँ आएर परमेश्‍वरले भन्‍नुभयो, “हेर्, त्‍यस स्‍त्रीलाई झिकाएर ल्‍याएको हुनाले तँ मरेको जस्‍तै छस्, किनभने त्‍यो अर्काकी पत्‍नी हो।”

4 अबीमेलेक अहिलेसम्‍म साराको नजिक गएका थिएनन्‌। यसकारण उनले भने, “हे परमप्रभु, के तपाईं निर्दोष जातिलाई मार्नुहुन्‍छ?

5 ‘तिनी मेरी बहिनी हुन्‌’ भनी त्‍यस मानिस आफैले मलाई भनेको थिएन र? र त्‍यस स्‍त्रीले पनि ‘तिनी मेरा दाजु हुन्‌’ भनी भनेकी थिइन र? मैले त यो काम आफ्‍नो शुद्ध विवेक र निर्दोष हातले नै गरेको हुँ।”

6 तब परमेश्‍वरले उनलाई सपनामा भन्‍नुभयो, “हो, मलाई यो कुरो थाहा छ, कि तेरो शुद्ध विवेकले यो तैंले गरेको होस्‌। मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि म नै हुँ। यसैले त मैले तँलाई त्‍यसलाई छुन दिइनँ।

7 अब त्‍यस मानिसकी पत्‍नी फर्काइदे, किनभने त्‍यो एक अगमवक्ता हो। त्‍यसले तेरो निम्‍ति प्रार्थना गरिदिनेछ, र तँ बाँच्‍नेछस्‌। तर त्‍यसलाई फर्काइदिइनस्‌ भने यो कुरो याद राख्, कि तँ र तँसँग भएका सबै निश्‍चय नै मर्नेछन्‌।”

8 अबीमेलेक सबेरै उठेर आफ्‍ना सबै अधिकारीहरूलाई बोलाएर यी सबै कुरा बताइदिए। र ती मानिसहरू साह्रै डराए।

9 तब अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तपाईंले हामीलाई के गर्नुभयो? मैले तपाईंको के बिगार गरेको थिएँ, र तपाईंले म र मेरो राज्‍यमा यति ठूलो दोष ल्‍याउनुभयो? तपाईंले मसित गर्नु नहुने काम गर्नुभयो।”

10 अबीमेलेकले फेरि अब्राहामलाई भने, “के सम्‍झेर तपाईंले मसित यस्‍तो काम गर्नुभयो?”

11 अब्राहामले भने, “किनभने मैले त सोचेको थिएँ, यस ठाउँमा परमेश्‍वरको डर कसैलाई छैन, र मानिसहरूले मलाई मेरी पत्‍नीको कारण मार्नेछन्‌।

12 यो कुरो सत्‍य पनि हो कि तिनी मेरी बहिनी हुन्‌। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्‌। र तिनी मेरी पत्‍नी भइन्‌।

13 अनि जब परमेश्‍वरले मलाई आफ्‍ना पिताको घर छोड़ेर परदेशी भएर यताउता घुमिहिँड्‌ने तुल्‍याउनुभयो, तब मैले सारालाई भनेको थिएँ, ‘दया गरेर तिमीले मेरो विषयमा “यिनी मेरा दाजु हुन्‌” भन्‍नू है’।”

14 तब अबीमेलेकले भेड़ाबाख्रा, गाई-गोरु, कमारा-कमारीहरू ल्‍याएर अब्राहामलाई दिए, र तिनकी पत्‍नी सारालाई पनि फिर्ता गरिदिए।

15 अनि अबीमेलेकले भने, “हेर्नुहोस्, मेरो देश तपाईंकै सामुन्‍ने छ। तपाईंलाई जहाँ मन लाग्‍छ त्‍यहीँ बस्‍नुहोस्‌।”

16 उनले सारालाई भने, “हेर, तिम्रा दाजुलाई मैले चाँदीका एक हजार सिक्‍का दिएको छु। मैले त्‍यसद्वारा तिमीसित हुने सबैका नजरमा तिम्रो शिर उठाइदिएको हुँ। सबैका सामु तिमीसित न्‍यायसङ्गत व्‍यवहार गरिएको छ।”

17 तब अब्राहामले परमेश्‍वरसित प्रार्थना गरे, र परमेश्‍वरले अबीमेलेक र तिनकी पत्‍नी र तिनका कमारीहरूलाई निको पारिदिनुभयो, र तिनीहरूले फेरि जन्‍माउन सकून्‌।

18 किनभने अब्राहामकी पत्‍नी साराको कारणले गर्दा परमेश्‍वरले अबीमेलेकको घरका जम्‍मैको कोख बन्‍द गरिदिनुभएको थियो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy