Online Bible

- Reklamy -

उत्पत्ति 18 - नेपाली नयाँ संशोधित संस्करण


तीन जना स्वर्गदूतलाई अब्राहामको सत्कार

1 दिउँसोको गर्मीमा मम्रेका फलाँटका रूखहरूनेरको आफ्‍नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो।

2 तिनले आफ्‍ना आँखा उठाएर हेरे, र आफ्‍नो सामु तीन जना मानिसहरू उभिरहेका देखे। उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए, र भूइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे।

3 तिनले भने, “हे मेरा प्रभु, ममाथि तपाईंको निगाह हुन्‍छ भने कृपा गरी आफ्‍नो दासकहाँबाट त्‍यसै नजानुहोस्‌।

4 म केही पानी ल्‍याउनेछु, र तपाईंहरू आफ्‍ना पाउ धुनुहोस्, र यही रूखमुनि आराम गर्नुहोस्‌।

5 म गएर केही रोटी ल्‍याउनेछु, र खाएर तपाईंहरू थकाइ मार्नुहोस्, त्‍यसपछि मात्र जानुहोस्, किनभने यसैको निम्‍ति तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको होला।” उनीहरूले भने, “जाऊ, तिमीले भनेअनुसार गर।”

6 तब अब्राहाम झट्टै पालमा साराकहाँ गएर भने, “तुरुन्‍तै पाँच पाथी मसिनो पीठो तयार गरी मुछेर रोटी बनाऊ।”

7 अब्राहाम आफैचाहिँ बथानतिर कुदेर गए, र एउटा कलिलो र असल बाछो छानेर आफ्‍नो नोकरलाई दिए, र त्‍यसले तुरुन्‍तै त्‍यो पकायो।

8 तब तिनले दही, दूध र त्‍यो पकाएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले नखाउञ्‍जेल तिनी उनीहरूकै नजिक उभिरहे।

9 अनि उनीहरूले तिनलाई सोधे, “तिम्री पत्‍नी सारा कहाँ छिन्‌?” तिनले भने, “तिनी त पालमा छिन्‌।”

10 तब परमप्रभुले भन्‍नुभयो, “आउँदो साल यही समयमा म निश्‍चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्‍नी साराले एक जना छोरो जन्‍माएकी हुन्‍छे।” साराले चाहिँ यो कुरो पालको ढोकाबाट उहाँको पछिल्‍तिर सुनिरहेकी थिइन्‌।

11 अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर धेरै ढल्‍किसकेको थियो। साराको रजस्‍वला पनि बन्‍द भइसकेको थियो।

12 यसकारण सारा मनमनै यसो भन्‍दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्‍नुभएको छ, र के मलाई यो सुख हुन्‍छ र?”

13 तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “‘बूढ़ी भएर पनि मैले छोराछोरी पाउने’ भनेर सारा किन हाँसी?

14 परमप्रभुको निम्‍ति कुनै कुरो कठिन छ र? आउँदो साल तोकिएकै समयमा म तँकहाँ फर्किआउनेछु, र साराको एक जना छोरा हुनेछ।”

15 तर साराले यसो भन्‍दै इन्‍कार गरिन्, “म हाँस्‍दै हाँसिनँ।” किनभने तिनी डराइन्‌। तर उहाँले भन्‍नुभयो, “तँ हाँसेकै होस्‌।”


सदोमको निम्‍ति अब्राहामको अन्‍तर्बिन्‍ती

16 तब ती पुरुषहरू त्‍यहाँबाट सदोमतिर हेर्न लागे। अब्राहाम उनीहरूसित अलि परसम्‍म बाटो देखाउन गए।

17 परमप्रभुले भन्‍नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?

18 अब्राहामबाट एउटा ठूलो र शक्तिशाली जाति बन्‍नेछ, र त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌

19 किनभने त्‍यसले आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर मैले त्‍यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।”

20 तब परमप्रभुले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, र तिनीहरूका पाप साह्रै ज्‍यादा भएका छन्‌।

21 अब त्‍यही आवाजअनुसार तिनीहरूबाट यो काम भएको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु। होइन रहेछ भने मलाई थाहा हुनेछ।”

22 यसकारण ती पुरुषहरू त्‍यहाँबाट झरेर सदोमतिर गए। तर अब्राहामचाहिँ अझै परमप्रभुकै सामु उभिरहे।

23 तब अब्राहामले नजिक गएर उहाँलाई भने, ‘के दुष्‍टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ?

24 त्‍यस सहरमा पचास धर्मी जन रहेछन्‌ भने, के त्‍यसमा भएका पचास धर्मी जनका निम्‍ति त्‍यस सहरलाई नजोगाएर नष्‍ट पार्नुहुनेछ र?

25 दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्‍यै नहोस्‌। धर्मीको दशा पनि दुष्‍टको जस्‍तै हुनु त तपाईंबाट पर रहोस्‌। सारा पृथ्‍वीका न्‍यायकर्ताले उचित न्‍याय गर्नुहुन्‍न र?

26 परमप्रभुले भन्‍नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर जम्‍मैलाई छोड़िदिनेछु।”

27 अब्राहामले भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु।

28 पाँच कम पचास जना धर्मी जन त्‍यहाँ रहेछन्‌ भने, केवल पाँच मात्र घटी भएकामा सारा सहरै तपाईं नाश गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ पैँतालीस पाएँ भने म त्‍यो नाश गर्नेछैनँ।” फेरि तिनले भने, “त्‍यहाँ चालीस रहेछन्‌ भने?”

29 उहाँले भन्‍नुभयो, “चालीस जनाका खातिर पनि म त्‍यसो गर्नेछैनँ।”

30 तब तिनले भने, “परमप्रभुलाई रिसानी नभए म अझै बोल्‍नेछु। यदि त्‍यहाँ तीस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ तीसै पाएँ भने पनि म त्‍यसो गर्नेछैनँ।”

31 तिनले भने, “हेर्नुहोस्, परमप्रभुसँग मैले कुरा गर्ने आँट गरिरहेछु। बीस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “बीस जनाका खातिर पनि म नाश गर्नेछैनँ।”

32 अनि तिनले भने, “परमप्रभु रिसानी नहोस्‌। अब एक पल्‍ट मात्र बोल्‍नेछु। यदि त्‍यहाँ दश जना पाइए भने?” उहाँले भन्‍नुभयो, “दश जनाका खातिरमा पनि म त्‍यो नाश गर्नेछैनँ।”

33 अब्राहामसित कुरा गरिसक्‍नुभएपछि परमप्रभु गइहाल्‍नुभयो, र अब्राहामचाहिँ आफ्‍नो ठाउँमा फर्के।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy