Online Bible

- Reklamy -

उत्पत्ति 17 - नेपाली नयाँ संशोधित संस्करण


खतनाको करार

1 जब अब्राम उनान्‍सय वर्षका भए तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। मेरो सामु हिँड्‌, र निर्दोष भएर बस्‌।

2 मेरो र तेरो बीचमा म आफ्‍नो करार पक्‍का गर्नेछु, र म तेरो अत्‍यन्‍तै वृद्धि गराउनेछु।”

3 तब अब्राम घोप्‍टो परे, र परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो,

4 “हेर्, यो मेरो करार तँसँगै छ। तँ असंख्‍य जाति-समूहको पिता हुनेछस्‌।

5 अब उप्रान्‍त तेरो नाउँ अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ, किनकि मैले तँलाई असंख्‍य जाति-समूहको पिता तुल्‍याएको छु।

6 म तँलाई अत्‍यन्‍तै फल्‍दो-फुल्‍दो तुल्‍याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन्‌।

7 तँ र तँपछिका तेरा सन्‍तानका परमेश्‍वर हुनलाई मेरो करार मेरो र तेरो र तँपछिका तेरा सन्‍तानहरूका बीचमा युग-युगसम्‍म स्‍थापित गर्नेछु।

8 तैंले प्रवास गरेको यो देश, अर्थात्‌ सारा कनान देश तँ र तेरा भावी सन्‍तानलाई अनन्‍त अधिकारको निम्‍ति दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु।”

9 अनि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैंले चाहिँ मेरो करार पालन गर्नुपर्छ— तँ र तँपछिका तेरा सन्‍तानहरूले तिनका पुस्‍तौँसम्‍म।

10 मेरो र तेरो, र तँपछिका तेरा सन्‍तानहरूका बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो: तिमीहरूमध्‍येको हरेक पुरुषको खतना हुनुपर्छ।

11 तिमीहरूको आफ्‍नो खलड़ीको खतना हुनुपर्छ। मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्‍ह यही हुनेछ।

12 तिमीहरूका पुस्‍तौँसम्‍म तिमीहरूमा हरेक पुरुष आठ दिनको हुने बित्तिकै त्‍यसको खतना गरिओस्, र साथै तिनीहरूको पनि, जो तिमीहरूका सन्‍तान होइनन्, चाहे घरमा जन्‍मेको होस्‌ अथवा कुनै विदेशीबाट दाम हालेर किनेको होस्‌।

13 चाहे तेरो घरमा जन्‍मेको होस्‌ वा दाम हालेर किनेको होस्‌ जसको खलड़ीको खतना भएको छैन, त्‍यसको खतना हुनैपर्छ। यसरी मेरो करार तिमीहरूको शरीरमा पछि परन्‍तुसम्‍म हुनेछ।

14 खतना नगरिएको जुनसुकै पुरुष जसको खलड़ीको खतना भएको छैन, त्‍यो मानिस आफ्‍नो जातिबाट बहिष्‍कार गरिनेछ। त्‍यसले मेरो करार भङ्ग गर्छ।”

15 फेरि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्‍यसको नाउँ सारा हुनेछ।

16 म त्‍यसलाई आशिष्‌ दिनेछु, र निश्‍चय नै त्‍यसबाट म तँलाई एक जना छोरो दिनेछु। म त्‍यसलाई आशिष्‌ दिनेछु, र त्‍यो धेरै जातिहरूकी आमा हुनेछे। जाति-जातिहरूका राजाहरू त्‍यसबाट उत्‍पन्‍न हुनेछन्‌।”

17 तब अब्राहाम घोप्‍टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्‍तान होला? नब्‍बे वर्ष पुगेकी साराले बालक जन्‍माउलिन्‌ र?”

18 अनि अब्राहामले परमेश्‍वरलाई भने, “इश्‍माएल नै तपाईंको आशिष्‌मा बाँचिरहे त हुन्‍छ।”

19 तब परमेश्‍वरले भन्‍नुभयो, “हो, तर तेरी पत्‍नी साराले नै तेरो लागि एक जना छोरा जन्‍माउनेछे, र तैंले त्‍यसको नाउँ इसहाक राख्‍नेछस्‌। म त्‍यससित र त्‍यसपछि हुने त्‍यसका सन्‍तानसित आफ्‍नो करार स्‍थापित गर्नेछु।

20 अनि इश्‍माएलको विषयमा चाहिँ मैले तेरो बिन्‍ती सुनें। हेर्, म त्‍यसलाई आशिष्‌ दिनेछु, र म त्‍यसलाई फल्‍दो-फुल्‍दो तुल्‍याएर प्रशस्‍त गरी त्‍यसको वृद्धि गर्नेछु। बाह्र शासकको त्‍यो पिता हुनेछ, र म त्‍यसबाट एउटा ठूलो जाति उत्‍पन्‍न गराउनेछु।

21 तर मेरो करार त म इसहाकसँगै स्‍थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्‍माउनेछे।”

22 तिनीसित कुरा गरिसक्‍नुभएपछि परमेश्‍वर अब्राहामकहाँबाट जानुभयो।

23 अब्राहामले आफ्‍नो छोरो इश्‍माएल र आफ्‍नो घरमा जन्‍मेका र दाम हालेर किनेका आफ्‍ना सबै कमारा, आफ्‍नो घरका पुरुष सबैलाई लिएर तिनलाई परमेश्‍वरले भन्‍नुभएबमोजिम त्‍यसै दिन तिनीहरूका खलड़ीको खतना गरे।

24 आफ्‍नो खलड़ीको खतना गर्दा अब्राहाम उनान्‍सय वर्ष पुगेका थिए,

25 र तिनको छोरो इश्‍माएलचाहिँ आफ्‍नो खलड़ीको खतना गर्दा तेह्र वर्षका थिए।

26 अब्राहाम र तिनको छोरो इश्‍माएलको खतना एकै दिनमा भएको थियो।

27 तिनको घरमा जन्‍मेका र विदेशीहरूबाट दाम हालेर किनेका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy