Online Bible

- Reklamy -

उत्पत्ति 16 - नेपाली नयाँ संशोधित संस्करण


इश्माएलको जन्म

1 आफ्‍नी पत्‍नी साराईबाट अब्रामको कोही सन्‍तान भएको थिएन। तर हागार नाउँ भएकी तिनकी एउटी मिश्री कमारी थिई।

2 साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्‍द गरिदिनुभएको छ। यसकारण मेरी कमारीकहाँ जानुहोस्‌। शायद त्‍यसबाट मेरो निम्‍ति सन्‍तान हुन सक्‍छ।” अब्रामले साराईको कुरा माने।

3 अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्‍नी साराईले आफ्‍नी कमारी मिश्री हागारलाई आफ्‍ना पति अब्रामलाई तिनकी पत्‍नी हुनलाई दिइन्‌।

4 अनि तिनी हागारकहाँ गए, र त्‍यो गर्भवती भई। जब त्‍यसले “म गर्भवती भएछु” भनी थाहा पाई, तब त्‍यसले आफ्‍नी मालिक्‍नीलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी।

5 साराईले अब्रामलाई भनिन्, “ममाथिको अन्‍याय तपाईंकै शिरमाथि परोस्‌। मैले आफ्‍नी कमारी तपाईंकै काखमा दिएँ, र त्‍यो गर्भवती हुने बित्तिकै मलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी। परमप्रभुले तपाईं र मेरो बीचमा इन्‍साफ गरिदेऊन्।”

6 तर अब्रामले साराईलाई भने, “हेर, तिम्री कमारी तिम्रै हातमा छे। त्‍यसलाई जे गर्न मन लाग्‍छ त्‍यही गर।” तब साराईले त्‍यससित कठोर व्‍यवहार गर्न लागिन्, र त्‍यो तिनको सामुन्‍नेबाट भागेर गई।

7 परमप्रभुका दूतले त्‍यसलाई उजाड़-स्‍थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए।

8 र तिनले सोधे, “ए साराईकी दासी हागार, कहाँबाट आइस्‌ र कता जाँदैछेस्‌?” त्‍यसले भनी, “मेरी मालिक्‍नी साराईको सामुन्‍नेबाट भाग्‍दैछु।”

9 परमप्रभुका दूतले त्‍यसलाई भने, “तेरी मालिक्‍नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्‌।”

10 परमप्रभुका दूतले फेरि त्‍यसलाई भने, “म तेरो वंशलाई यति औधी बढ़ाउनेछु कि त्‍यो धेरै भएकोले गन्‍न सकिनेछैन।”

11 परमप्रभुका दूतले त्‍यसलाई भने, “तँ गर्भवती छेस्, र तैंले एउटा छोरो जन्‍माउनेछेस्‌। तैंले त्‍यसको नाउँ इश्‍माएल राख्‍नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ।

12 मानिसहरूमा त्‍यो जङ्गली गधाजस्‍तै हुनेछ। त्‍यसको हात सबैका विरुद्धमा उठ्‌नेछ, र सबैका हात त्‍यसको विरुद्धमा उठ्‌नेछन्‌। आफ्‍ना सबै नातेदारहरूकै शत्रुतामा त्‍यो बसोबास गर्नेछ।”

13 हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्‍तो नाउँ दिई, “मलाई देख्‍नुहुने परमेश्‍वर तपाईं हुनुहुन्‍छ।” किनभने त्‍यसले भनी, “मैले साँच्‍ची नै परमेश्‍वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।”

14 यसकारण त्‍यस पँधेरोको नाउँ बेअर-लहै-रोइ राखियो। कादेश र बेरेदको बीचमा त्‍यो पर्छ।

15 अनि हागारले अब्रामको एक जना छोरो जन्‍माई। हागारले जन्‍माएको आफ्‍नो छोराको नाउँ अब्रामले इश्‍माएल राखे।

16 हागारले अब्रामको निम्‍ति इश्‍माएल जन्‍माउँदा अब्राम छयासी वर्ष पुगेका थिए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy