उत्पत्ति 15 - नेपाली नयाँ संशोधित संस्करणअब्रामसँग परमेश्वरले करार बाँध्नुभएको 1 त्यसपछि दर्शनमा अब्रामकहाँ परमप्रभुको यो वचन आयो, “अब्राम, तँ नडरा। तेरो ढाल म नै हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।” 2 तर अब्रामले भने, “हे परमप्रभु परमेश्वर, तपाईंले मलाई के दिनुहुन्छ र? किनभने म सन्तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्कसको एलीएजर हुनेछ।” 3 फेरि अब्रामले भने, “हेर्नुहोस्, तपाईंले मलाई सन्तान दिनुभएन, र मेरो घरमा जन्मेको दास नै मेरो उत्तराधिकारी हुनेछ।” 4 तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो, “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ।” 5 अनि उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो, “आकाशतिर हेरेर तारा गन्न सक्छस् कि सक्दैनस्, गनिहेर।” उहाँले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।” 6 अनि तिनले परमप्रभुमाथि विश्वास गरे, र यो तिनको निम्ति धार्मिकता गनियो। 7 फेरि उहाँले तिनलाई भन्नुभयो, “यो देश तेरो अधिकारमा दिनलाई कल्दीहरूको ऊरबाट तँलाई ल्याउने परमप्रभु म नै हुँ।” 8 तर अब्रामले भने, “हे परमप्रभु परमेश्वर, मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊँ?” 9 उहाँले तिनलाई भन्नुभयो, “मेरो निम्ति तीन वर्षको एउटा कोरली, तीन वर्षको एउटा बाख्रा, तीन वर्षको एउटा भेड़ा, एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।” 10 तिनले ती सबै उहाँकहाँ ल्याए, र माझमा दुई-दुई फ्याक पारेर हरेक फ्याक आमनेसामने राखिदिए। तर पक्षीहरूचाहिँ तिनले दुई-दुई फ्याक पारेनन्। 11 अनि चील र गिद्धहरू ती मरेका पशुपक्षीहरूमाथि झम्टँदा अब्रामले तिनीहरूलाई धपाए। 12 सूर्य अस्ताउँदा अब्राम मस्त निद्रामा परे, अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो। 13 तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “यो निश्चय जानिराख्, कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, र चार सय वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्। 14 तर तिनीहरू जुन जातिका दास बन्नेछन्, उनीहरूको पनि म इन्साफ गर्नेछु, र पछिबाट तिनीहरू धेरै धन-सम्पत्ति लिएर निस्किआउनेछन्। 15 तँचाहिँ आफ्ना पितृहरूकहाँ शान्तिसित जानेछस्। तेरो पूरो बुढ़ेसकालमा तँ गाड़िनेछस्। 16 चौथो पुस्तामा तेरा सन्तानहरू फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन।” 17 सूर्य अस्ताएपछि जब अँध्यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धूवाँ आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राँको छिरिगयो। 18 त्यसै दिन परमप्रभुले अब्रामसित यसो भनेर करार बाँध्नुभयो, “तेरा सन्तानहरूलाई मिश्रदेशको नदीदेखि महानदी यूफ्रेटिससम्मको यो देश मैले दिएको छु— 19 केनी, कनज्जी, कदमोनी, 20 हित्ती, परिज्जी, रपाई, 21 एमोरी, कनानी, गिर्गाशी र यबूसीहरूका देशहरू दिएको छु।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society