Online Bible

- Reklamy -

गलाती 3 - नेपाली नयाँ संशोधित संस्करण


विश्‍वास वा व्‍यवस्था पालन

1 हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर वशमा पार्‍यो? तिमीहरूका आँखाकै सामुन्‍ने येशू ख्रीष्‍ट क्रूसमा टाँगिनुभएको कुरा स्‍पष्‍ट रूपले वर्णन गरिएको थियो।

2 यति मात्र म तिमीहरूलाई सोध्‍न चाहन्‍छु, तिमीहरूले पवित्र आत्‍मालाई व्‍यवस्‍थाका कामहरूद्वारा पायौ, कि सुनेका वचनमा विश्‍वास गरेर?

3 के तिमीहरू यति मूर्ख छौ, कि आत्‍मामा सुरु गरेर शरीरमा शेष गर्दैछौ?

4 के यतिका दुःख तिमीहरूले व्‍यर्थमा भोग्‍यौ त?— यदि यो साँच्‍चै व्‍यर्थमा भयो भनेता।

5 जसले तिमीहरूलाई पवित्र आत्‍मा दिनुहुन्‍छ, र तिमीहरूका माझ आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ, के यो सबै उहाँले व्‍यवस्‍थाका तिमीहरूका कामको कारणले गर्नुभएको हो, कि सुनेका वचनमा तिमीहरूले विश्‍वास गरेको कारणले हो?

6 अब्राहामलाई नै हेर, “उनले परमेश्‍वरमा विश्‍वास गरेथे, र यो उनको निम्‍ति धार्मिकता गनिएको थियो।”

7 यसकारण तिमीहरूले यो जान, कि जस-जसले विश्‍वास गर्छन्, तिनीहरू नै अब्राहामका सन्‍तान हुन्‌।

8 परमेश्‍वरले अन्‍यजातिहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्‍छ भन्‍ने धर्मशास्‍त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई “तँमा नै सबै जातिले आशिष्‌ पाउनेछन्‌” भन्‍ने सुसमाचार अघिबाटै सुनायो।

9 यसकारण विश्‍वास गर्ने मानिसहरूले विश्‍वासी अब्राहामसँगै आशिष्‌ पाएका छन्‌।

10 व्‍यवस्‍थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छन्, किनकि धर्मशास्‍त्रमा यसो लेखिएको छ, “व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्‍छ।”

11 परमेश्‍वरको दृष्‍टिमा व्‍यवस्‍थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्‍ने कुरा प्रत्‍यक्ष छ। किनभने “धर्मीचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”

12 व्‍यवस्‍थाचाहिँ विश्‍वासमाथि आधारित छैन, बरु “जुन मानिसले यी काम गर्छ, त्‍यो तिनैद्वारा जिउनेछ।”

13 हाम्रा निम्‍ति सराप बनेर ख्रीष्‍टले हामीलाई व्‍यवस्‍थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्‍डिने हरेक श्रापित हुन्‍छ” भन्‍ने लेखिएको छ।

14 उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष्‌ ख्रीष्‍ट येशूद्वारा अन्‍यजातिहरूमा आओस्, र हामी विश्‍वासद्वारा प्रतिज्ञाका पवित्र आत्‍मा प्राप्‍त गर्न सकौं।


व्‍यवस्‍था र प्रतिज्ञा

15 भाइ हो, प्रतिदिनको जीवनबाट एउटा उदाहरण लिऔं, एक चोटि पक्‍का भइसकेपछि मानिसले बनाएको इच्‍छापत्र कसैले रद्द गर्न सक्‍दैन, न त त्‍यसमा केही थप्‍न सक्‍छ।

16 प्रतिज्ञाहरू अब्राहाम र उनको सन्‍तानलाई दिइएका थिए। धर्मशास्‍त्रले “सन्‍तानहरूलाई” भन्‍दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्‍छ। तर धर्मशास्‍त्रले “तिम्रो सन्‍तानलाई” भन्‍छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्‍छ, जो ख्रीष्‍ट हुनुहुन्‍छ।

17 मेरो भनाइको अर्थ यो हो, कि चार सय तीस वर्षपछि आएको व्‍यवस्‍थाले त्‍यसभन्‍दा अघि परमेश्‍वरले पक्‍का गर्नुभएको करारलाई काट्‌दैन, नत्रता प्रतिज्ञा रद्द भइजानेथियो।

18 किनकि उत्तराधिकार व्‍यवस्‍थाद्वारा पाइने हो भने प्रतिज्ञाद्वारा पाइने कुरै आउँदैन। तर परमेश्‍वरले प्रतिज्ञाद्वारा नै अब्राहामलाई यो दिनुभयो।

19 तब व्‍यवस्‍थाको आवश्‍यकता किन पर्‍यो त? जुन सन्‍तानलाई प्रतिज्ञा भएको थियो, ऊ नआउञ्‍जेल अपराधको कारणले व्‍यवस्‍था थपियो। अनि एक जना मध्‍यस्‍थले स्‍वर्गदूतहरूद्वारा व्‍यवस्‍थाको स्‍थापना गर्‍यो।

20 एउटैको मात्र मध्‍यस्‍थ हुँदैन, तर परमेश्‍वर एउटै हुनुहुन्‍छ।

21 तब के व्‍यवस्‍था परमेश्‍वरका प्रतिज्ञाहरूका विरुद्ध छ र? कदापि छैन। यदि जीवित पार्न सक्‍ने व्‍यवस्‍था दिइएको भए, धार्मिकता साँच्‍चै व्‍यवस्‍थाबाट हुनेथियो।

22 तर धर्मशास्‍त्रले बताउँछ, कि सबै कुरा पापको कैदमा छ, ताकि जुन प्रतिज्ञा येशू ख्रीष्‍टमाथि विश्‍वासद्वारा दिइएको थियो, त्‍यो विश्‍वास गर्नेहरूलाई दिइओस्‌।

23 तर विश्‍वास आउन अघि हामी व्‍यवस्‍थाको वशमा थियौं, र विश्‍वास प्रकट नभएसम्‍म हामी थुनिएका थियौं।

24 विश्‍वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्‍यवस्‍थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्‍टसम्‍म डोर्‍याउने जिम्‍मा दिइयो।

25 तर अब विश्‍वास आएको हुनाले अब उप्रान्‍त हामी संरक्षकको अधीनमा छैनौं।


परमेश्‍वरका सन्‍तान

26 किनकि विश्‍वासद्वारा तिमीहरू सबै ख्रीष्‍ट येशूमा परमेश्‍वरका सन्‍तान हौ।

27 किनकि तिमीहरूमध्‍ये जतिको ख्रीष्‍टमा बप्‍तिस्‍मा भयो, तिमीहरू सबैले ख्रीष्‍टलाई धारण गरेका छौ।

28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

29 यदि तिमीहरू ख्रीष्‍टका हौ भनेता तिमीहरू अब्राहामका सन्‍तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy