गलाती 2 - नेपाली नयाँ संशोधित संस्करणप्रेरितहरूद्वारा पावलको स्वागत 1 चौध वर्षपछि बारनाबाससँग तीतसलाई साथमा लिई म फेरि यरूशलेम गएँ। 2 ईश्वरीय प्रकाश पाएअनुसार म गएँ, र तिनीहरूका सामुन्ने त्यही सुसमाचार राखेँ, जो म अन्यजातिहरूलाई प्रचार गर्दछु। तर अगुवाझैँ देखा पर्नेहरूका सामुन्ने मैले यो एकान्तमा प्रस्तुत गरें, ताकि मैले जो दौड दौडें वा दौडिरहेको छु, त्यो व्यर्थ नहोस्। 3 तर मेरो साथमा हुने तीतसलाई ग्रीक भए तापनि खतना हुनुपर्छ भनेर कसैले कर लाएन। 4 खतनाको यो कुरा उठ्यो, किनकि कति झूटा भाइहरू हाम्रो दलभित्र गुप्त रूपले पसिकन ख्रीष्टमा भएको हाम्रो स्वतन्त्रताको चेवा गरी हामीलाई बन्धनमा ल्याउन चाहन्थे। 5 सुसमाचारको सत्यता तिमीहरूका लागि सुरक्षित रहोस् भनेर तिनीहरूका सामुन्ने हामी एकै पलका निम्ति पनि झुकेनौं। 6 प्रतिष्ठित देखा पर्ने व्यक्तिहरू जो थिए— र तिनीहरू जस्ता भए तापनि मलाई त केही फरक पर्दैन, परमेश्वरले मानिसको पनपक्ष गर्नुहुन्न— यिनीहरूले मेरो सन्देशमा केही थपिदिएनन्। 7 तर झन् उल्टो, तिनीहरूले देखे, कि बेखतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा मलाई दिइएको थियो, जसरी खतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा पत्रुसलाई दिइएको थियो। 8 परमेश्वर, जसले पत्रुसको प्रेरितपनद्वारा खतनाकाहरूका बीचमा काम गर्नुभयो, मद्वारा पनि अन्यजातिहरूका बीचमा काम गर्नुभयो। 9 याकूब, केफास र यूहन्ना, जो मण्डलीका खम्बाहरू थिए, तिनीहरूले ममाथि भएको अनुग्रह थाहा पाएपछि मलाई र बारनाबासलाई सङ्गतिको दाहिने हात दिए। हामी अन्यजातिहरूकहाँ जाने र उनीहरूचाहिँ खतनाकाहरूकहाँ जाने भन्ने निश्चय गरे। 10 केवल उनीहरूको यही इच्छा थियो, कि गरीबमाथि हाम्रो सम्झना रहोस्। त्यसो गर्न म पनि उत्सुक थिएँ। पावल र पत्रुसको मतभेद 11 तर जब केफास एन्टिओखियामा आए, तब मैले उनलाई खुल्लमखुल्ला विरोध गरें। किनकि उनी दोषी थिए। 12 याकूबले पठाएका मानिसहरू आउनभन्दा अघि उनले अन्यजातिहरूका साथमा खाने गर्दथे। तर जब तिनीहरू आइपुगे तब उनी अन्यजातिहरूबाट पछि हटेर अलग भए, किनकि उनी खतनाका दलदेखि डराएका थिए। 13 अरू बाँकी यहूदीहरूले पनि त्यस्तै कपटपूर्ण काम गरे। यहाँसम्म, कि तिनीहरूको कपटपूर्ण व्यवहारले गर्दा बारनाबास पनि भड्केर गए। 14 तर जब सुसमाचारको सत्यताबमोजिम तिनीहरू नचलेका मैले देखें, तब तिनीहरू सबैका सामुन्ने मैले केफासलाई भनें, “तपाईं यहूदी भईकन यहूदीजस्तो नभई अन्यजातिहरूजस्तै चल्नुहुन्छ भने, अन्यजातिहरूलाई यहूदीजस्तै जिउन कसरी कर लाउनुहुन्छ?” 15 हामी जन्मैका यहूदी हौं, र अन्यजाति जस्तै पापी होइनौं, 16 र पनि हामी जान्दछौं, व्यवस्थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर येशू ख्रीष्टमाथिको विश्वासद्वारा धर्मी ठहरिन्छ। यसकारण हामीले पनि हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्यौं, ताकि हामी व्यवस्थाका कामद्वारा होइन तर ख्रीष्टमा राखिएको विश्वासद्वारा धर्मी ठहरिन सकौं, किनकि व्यवस्थाका कामद्वारा कोही पनि धर्मी ठहरिँदैन। 17 तर यदि ख्रीष्टमा धर्मी ठहरिने प्रयत्न गर्दा हामी पापी भेट्टाइन्छौं भने, ख्रीष्टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? कदापि होइन। 18 किनकि आफैले भत्काएको कुरा मैले फेरि बनाएँ भने, आफैले आफैलाई म अपराधी हुँ भन्ने साबित गर्छु। 19 किनकि परमेश्वरको निम्ति म जिउन सकूँ भनेर व्यवस्थाद्वारा व्यवस्थाको लेखि म मरेको छु। 20 म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। 21 परमेश्वरको अनुग्रह म पन्साउँदिनँ, किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भनेता ख्रीष्ट व्यर्थैमा मर्नुभयो। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society