Online Bible

- Reklamy -

प्रस्थान 9 - नेपाली नयाँ संशोधित संस्करण


गाईबस्तुमा विपत्ति

1 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्‍यसलाई भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरा प्रजालाई मेरो आराधना गर्नलाई जान दे।

2 तैंले तिनीहरूलाई जान दिन अस्‍वीकार गरिस्‌ र अझै रोकेर राखिस्‌ भने,

3 खेत-मैदानमा भएका तेरा पशुहरू, अर्थात्‌ घोड़ा, गधा, ऊँट, गाईबस्‍तुहरू र भेड़ाबाख्राहरूमाथि परमप्रभुको हात पर्नेछ, र त्‍यहाँ भयानक रूढ़ी आउनेछ।

4 तर परमप्रभुले इस्राएलका गाईबस्‍तु र मिश्रका गाईबस्‍तुमा भेद राख्‍नुहुनेछ, र इस्राएलीहरूको एउटै पनि पशु मर्नेछैन’।”

5 परमप्रभुले यसो भनेर एक निश्‍चित समय ठहराउनुभयो, “भोलि नै यस देशमा परमप्रभुले यो काम गर्नुहुन्‍छ।”

6 अनि भोलिपल्‍ट परमप्रभुले त्‍यो काम गर्नुभयो, र मिश्रका सबै गाईबस्‍तु मरे, तर इस्राएलीहरूको एउटै पनि गाईबस्‍तु मरेन।

7 फारोले सो हेर्नलाई मानिसहरू पठाए, तर इस्राएलीहरूका गाईबस्‍तुहरूमध्‍येको एउटै पनि मरेको उनीहरूले देखेनन्‌। तापनि फारोको हृदय कठोर भई नै रह्यो, र उनले मानिसहरूलाई जान दिएनन्‌।


खटिराको विपत्ति

8 फेरि परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “भट्टीबाट आ-आफ्‍ना मुट्ठीभरि खरानी लेओ, र मोशाले फारोका आँखाकै सामु यो आकाशतिर छरिदेओस्‌।

9 त्‍यो सारा मिश्रमा मसिनो धूलो भएर मिश्रका सबै मानिस र पशुका शरीरमा खटिरा बन्‍नेछन्‌।”

10 तब तिनीहरू भट्टीको खरानी लिएर फारोको सामुन्‍ने खड़ा भए, र मोशाले हावामा त्‍यो छरिदिए। अनि मानिस र पशुका शरीरमा खटिरा निस्‍किआए।

11 जादूगरहरू खटिराको कारणले गर्दा मोशाको सामुन्‍ने टिक्‍नै सकेनन्, किनकि जादूगरहरूका शरीरमा र सारा मिश्रीहरूका शरीरमा खटिरा निस्‍केका थिए।

12 तर परमप्रभुले फारोको हृदय कठोर गराउनुभयो, र परमप्रभुले मोशालाई भन्‍नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्‌।


असिनाको विपत्ति

13 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्‍ने हाजिर हो, र त्‍यसलाई भन्, परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरो आराधना गर्नलाई मेरा प्रजालाई जान दे।

14 नत्रभने यस पल्‍ट तँमाथि र तेरा अधिकारीहरू र प्रजामाथि पूरा शक्तिमा मेरा सबै विपत्तिहरू म पठाउनेछु, ताकि सारा पृथ्‍वीमा मजस्‍तो कोही रहेनछ भनी तँलाई थाहा होस्‌।

15 किनकि यदि मैले आफ्‍नो हात पसारेर तँलाई र तेरा प्रजालाई रूढ़ीले प्रहार गरेको भएदेखि तँ पृथ्‍वीबाट मेटिनेथिइस्‌।

16 तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई जीवित राखेको छु, कि सारा संसारमा मेरो नाउँको घोषणा होस्‌।

17 अझै पनि मेरो प्रजालाई जान नदिएर तँ आफै खूब ठूलो बन्‍छस्‌।

18 यसकारण भोलि यसै बेला म यस्‍तो घोर असिना बर्साउनेछु जो मिश्र स्‍थापित भएको दिनदेखि अहिलेसम्‍म बर्सिएको छैन।

19 अब मानिसहरू पठाएर मैदानमा भएका गाईबस्‍तुहरू र जे-जे छन्, सबै चाँड़ै भित्र्या, किनकि मैदानमा छोड़िएका र घरमा नहुलेको हरेक मानिस र पशुमाथि असिना बर्सिनेछ, र ती मर्नेछन्‌।”

20 फारोका अधिकारीहरूमध्‍ये जस-जसले परमप्रभुका वचनको डर माने, उनीहरूले आ-आफ्‍ना नोकरहरू र गाईबस्‍तुहरूलाई घरभित्र हुले।

21 तर परमप्रभुका वचनको वास्‍ता नगर्नेचाहिँले आ-आफ्‍ना नोकरहरू र गाईबस्‍तुहरू मैदानमा नै रहन दिए।

22 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्, र सारा मिश्रभरि असिना परोस्‌— मिश्रभरिका मानिस, पशु, बारीमा उम्रने सबैमा असिना बर्सोस्‌।”

23 तब मोशाले आफ्‍नो लहुरो आकाशतिर पसारे, र परमप्रभुले गर्जन र असिना पठाउनुभयो, र पृथ्‍वीसम्‍म बिजुली चम्‍क्‍यो। अनि परमप्रभुले मिश्रमा असिना बर्साउनुभयो।

24 असिना पर्‍यो र बिजुली चम्‍क्‍यो। यस्‍तो त मिश्र राष्‍ट्रको प्रारम्‍भदेखि भएको थिएन।

25 असिनाले सारा मिश्रभरिका मैदानका मानिस र पशु दुवैलाई चुट्यो। असिनाले बारीमा उम्रेका सबैलाई चुट्यो र सबै रूखहरू नाङ्गा पार्‍यो।

26 केवल इस्राएलीहरू भएको गोशेन प्रदेशमा असिना परेन।

27 तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “यस पल्‍ट मैले पाप गरें। परमप्रभु धर्मी हुनुहुन्‍छ, म र मेरा प्रजा गलत रहेछौं।

28 परमप्रभुलाई बिन्‍ती गरिदेऊ, किनकि यो गर्जन र असिना अति भयो। म तिमीहरूलाई जान दिनेछु। तिमीहरू अब कति पनि बस्‍नुपर्दैन।”

29 मोशाले उनलाई जवाफ दिए, “सहरबाट निस्‍कने बित्तिकै म परमप्रभुतिर आफ्‍नो हात पसार्नेछु, र गर्जन थामिनेछ, र असिना बर्सिनेछैन। अनि तपाईं जान्‍नुहोला कि पृथ्‍वी परमप्रभुकै हो।

30 तर मलाई थाहा छ, तपाईं र तपाईंका अधिकारीहरूले भने परमप्रभु परमेश्‍वरको डर अझसम्‍म मान्‍नुभएको छैन।”

31 (सनपाट र जौमा असिनाको प्रहार परेको थियो, किनकि जौमा बाला लागिसकेको थियो, र सनपाटचाहिँ फुलिसकेका थिए।

32 तर गहूँ र कठियागहूँमा चाहिँ प्रहार परेन, किनकि तीचाहिँ पछि पाक्‍छन्‌।)

33 अनि मोशा फारोबाट सहरदेखि निस्‍केर गए, र परमप्रभुतिर आफ्‍ना हात पसारे। तब गर्जन र असिना थामियो, र जमिनमा पानी ओइरिएन।

34 तर जब फारोले पानी, असिना र गर्जन थामिएका देखे, तब उनले अझ बढ्‌ता पाप गरे, र उनले र उनका अधिकारीहरूले आफ्‍ना हृदय कठोर गरे।

35 यसरी फारोको हृदय कठोर भयो, र परमप्रभुले मोशालाई भन्‍नुभएबमोजिम उनले इस्राएलीहरूलाई जान दिएनन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy